neapl investment mega bank
  • गृहपृष्ठ
  • नेता विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस सम्पन्न

नेता विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस सम्पन्न

Mar 30th, 2025

काठमाडौँ, चैत १७

नेकपा (संयुक्त) का संस्थापक सम्मानित नेता स्वर्गीय विष्णु बहादुर मानन्धरको चौथो स्मृति दिवस आज नेकपा (संयुक्त) केन्द्रीय कार्यसमितिको आयोजनामा काठमाडौंको मैतीदेवीमा सम्पन्न भयो। उक्त कार्यक्रम पार्टी अध्यक्ष क. चन्द्रदेव जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कम्युनिस्ट नेता मधु वि.सी., NTUF का पूर्व अध्यक्ष महेन्द्र आनन्द साह, नेपाल जनता दलका अध्यक्ष हरिचन्द्र साह, रौतहटका वरिष्ठ पत्रकार प्रेमचन्द्र झा, लेखक पुरुषोत्तम पोखरेल लगायतले मन्तव्य राखे।

कार्यक्रमको स्वागत मन्तव्य क. आशा महर्जनले व्यक्त गरे भने सञ्चालन क. कृष्ण थापाले गर्नुभएको थियो।

नेता मानन्धरको योगदान

वि.सं. १९८९ मा जन्मिएका विष्णु बहादुर मानन्धरको निधन २०७७ सालमा भएको थियो। २००९ देखि २०११ सालसम्म चलेको गौर किसान आन्दोलनमा उहाँको नेतृत्व उल्लेखनीय थियो। सम्पन्न जमिनदार परिवारमा जन्मिएका भए पनि उहाँले समाजका शोषित, उत्पीडित किसानहरूका पक्षमा संघर्ष गर्नुभयो। रौतहट, बारा, पर्सा, सर्लाही लगायत पूर्वी जिल्लाहरूमा फैलिएको ‘तमसुख फट्टा आन्दोलन’ का मुख्य अगुवामध्ये उहाँ एक हुनुहुन्थ्यो। तुल्सीलाल अमात्य, विष्णु बहादुर मानन्धर, कृष्णप्रसाद भण्डारीको नेतृत्वमा भएको यस आन्दोलनमा किसानहरूको हकका लागि महत्वपूर्ण लडाइँ लडिएको थियो।

नेता मानन्धरले २००७ सालको क्रान्तिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै बन्दुक उठाउनुभएको थियो। मोहियानी हकको पक्षमा वकालत गर्दै किसानहरूको अधिकार स्थापित गर्न महत्वपूर्ण योगदान दिनुभएको थियो। सधैं गरिब-पीडित वर्गको पक्षमा उभिने उहाँ जस्ता निःस्वार्थ नेताहरू अहिलेको राजनीतिमा दुर्लभ पाइन्छन्।

नेता मानन्धरबाट सिक्नुपर्ने पाँच शिक्षा

  • जनताको संघर्षलाई टुंगोमा पुर्‌याउने, बिचमा सम्झौतावादी प्रवृत्तिबाट बच्नुपर्ने।
  • साझा सवालहरूमा कम्युनिस्ट र कांग्रेसको संयुक्त प्रयास आवश्यक ।
  • नेताहरूले विलासी जीवनशैली त्यागी सर्वसाधारणकै स्तरमा रहनुपर्ने।
  • व्यवस्था परिवर्तनका लागि निःस्वार्थ रूपमा संघर्ष गर्नुपर्ने।
  • जनताको अधिकारलाई सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहनुपर्ने।

नेता मानन्धरको योगदान र आदर्श पछ्याउनु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ।