काठमाडौं, चैत ५
गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन् । रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका छन् । कोहीको छोराछोरी विदेशमा छन् भने कसैको आमाबुवा । सन्तति विदेशमा भएपछि कतिपय गाउँ छोडेर सदरमुकाम त सुदरमुकाम छोडेर शहर पनि पसेका छन् । आमाबुवा विदेशमा भए छोराछोरी शहरमा बसेर पढ्छन् । तर, अहिले जग्गा दलालीहरुले विदेशमा रहेका मानिसको आफन्तको खोजी थालेका छन् । कहाँबाट कति मानिस विदेश गएका छन् ? र, तिनका नेपालमा रहेका आफन्त कहाँ बस्छन् ? उनीहरुले खोजतलास शुरु गरेका छन् । यसो गर्नुको पछाडि एउटा कारण छ । त्यो हो, जग्गा बेचबिखन गर्न । पछिल्लो समय घरजग्गा किनबेच ठप्पै भएको छ ।
जसका कारण यही कारोबार गरेर जीविकोपार्जन गर्दै आएका दलालहरु मारमा परेका छन् । त्यसैले, अहिले उनीहरुले सर्वसाधारण ठग्ने नयाँ आईडिया ल्याएका हुन् । विदेशमा रोजगारी गरिरहेकालाई महँगोमा जग्गा भिडाउने उनीहरुको योजना छ । यसको निम्ति दलालहरुले तिनका आफन्तको प्रयोग गर्न थालेका छन् । आफन्तलाई कमिशन खुवाएर डाँडा पाखो वा भीरको जग्गासमेत महँगोमा भिडाइरहेका छन् । उता, विदेशमा रहेको व्यक्तिले भने आफन्तको विश्वासमा परेर जग्गा खरिद गर्छ । तर, के थाहा कि आफन्त नै शत्रु हुन् । आफन्तले आफ्नो बारेमा मात्र सोच्छन् । हुन त यहाँ आफन्तबाटै मानिसहरु सबैभन्दा बढी ठगिएको पाइन्छ ।
विश्वासमा पर्दा उनीहरुले जीवनभर दुःख गरेर कमाएको पैसा आफन्तकै मिलेमतोमा लुटिने वा ठगिने गरेको छ । हिजो पनि आफन्तकै विश्वासमा परेर विदेशमा कमाएको रकम मानिसहरुले सहकारीमा जम्मा गरे । अहिले सहकारी भाग्दा उनीहरुको बिजोग भएको छ । अहिले न पैसा छ न फेरि कमाउन विदेश जान सकिन्छ ।
किनकि कतिपय रोगले थलिएका छन् भने कतिपयसँग विदेश जान पैसा छैन । मानिसहरुले विदेशमा पैसाको सुरक्षा हुँदैन भनेर त्यहाँ कमाएको रकम मासिक रुपमा नेपालमा भएका आफ्ना परिवार वा आफन्तको खातामा जम्मा गरिदिए । आफन्तले त्यो रकम मीटरब्याजमा लगानी गरे । घरजग्गा, गाडी र सेयर किने । अन्य क्षेत्रमा पनि लगानी गरे । अहिले सबैभन्दा बढी घरजग्गा, गाडी सेयरमा लगानी गरेकाहरु डुबेका छन् । यसको मूल्य ह्वात्तै घट्दा र किनबेचमा मन्दी आउँदा मानिसहरुको लगानी बालुवामा पानी बराबर भएको छ । पाँच वर्षअघि करोडौंमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यसमेत आउँदैन । जबकी यसको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्ने आशामा लगानी गरिएको थियो । आफन्तहरुले सोचविचार नगरी जथाभावी लगानी गरिदिँदा मानिसहरुले विदेशमा रगतपसिना बगाएर कमाएको रकम स्वाह भएको छ ।
सरकारले प्रत्येक दश–दश वर्षमा देशको जनसंख्या गणना गर्छ । हरेक पाँच–पाँच वर्षमा चुनाव गरिन्छ । जनगणना गर्ने क्रममा सरकारबाट खटाइएका कर्मचारीहरु घरघरमा तथ्याङ्क संकलन गर्न आउँछन् । एउटा घरमा कति मान्छे बस्छन् ? कसको कति परिवार छ ? सबै विवरण संकलन गरिन्छ । यस्तै, चुनाव हुँदा राजनीतिक दलका नेता तथा उम्मेदवारहरु घरघरमा भोट माग्दै आइपुग्छन् । त्यसक्रममा उनीहरुले मतदाता नामावली हेर्छन् । आफ्ना कति समर्थक घटे अर्थात् मृत्यु भयो ? र, अहिले कति मतदाता बढे ? त्यो हेरिन्छ । अहिले न जनगणना हुन लागेको छ न चुनाव । तर, जग्गा दलालीहरु भने घरघरमा गएर विदेशमा रहेकाहरुको तथ्याङ्क संकलन गरिरहेका छन् ।
विदेशमा रहेकाले दुःख, मेहेनत गरेर पैसा कमाउँछन् । आफ्नो कमाई यति रहेको उनीहरु घरपरिवार वा आफन्तलाई बताउँछन् । अधिकांशले त्यहाँ कमाएको रकम आफन्तकै खातामा मासिक रुपमा हालिदिन्छन् । यसैको फाइदा जग्गा दलालहरुले उठाइरहेका छन् । उदाहरणका निम्ति छोराछोरी विदेशमा रहे आमाबुबालाई दलालहरु फसाउँछन् ।
त्यसका निम्ति चिनजान नै नभएपनि नजिकिएर चिया, पानी खुवाउनेदेखि घुमफिर गराएर डाँडा पाखाको जग्गा महँगोमा भिडाउँछन् । कतिपयलाई भने कमिशन खुवाइन्छ । भान्जा विदेशमा रहे मामालाई दलालहरुले कमिशन दिन्छन् । अनि कमिशन पाएपछि मामाले आफ्नै भान्जा फसाउँछ । नराम्रो जग्गालाई पनि राम्रो भन्दै किनिदिन्छ । उता, विदेशमा भएको भान्जाले भने मामाको विश्वासमा परेर जग्गा किन्छ । उसलाई के थाहा आफूलाई फसाइयो भनेर । उसले तब थाहा पाउँछ, जब नेपाल आएर त्यो जग्गा हेर्छ । यद्यपि, तबसम्म धेरै ढिलो भइसक्छ । भनिन्छ, बाघ पनि खानाको लोभमा पर्छ । हामी त झन् मानिस हौं । लोभलालच पर्नु स्वभाविक हो । हो, दलालीहरुले यसैको फाइदा उठाइरहेका छन् । आफन्तलाई कमिशन खुवाएर आफन्तबाटै आफन्तलाई ठग्न लगाएका छन् । मानिसहरुले पनि आफ्नो धर्म बिर्सिएर वा मानवता नै बिर्सिएर आफ्नालाई आफैं फसाइरहेका छन् । हुन त यहाँ हरेक क्षेत्रमा कमिशनको चलखेल हुने गरेको छ । रोचक कुरा चाँहि, कमिशनको लोभमा आफ्नाले नै आफ्नालाई फसाइरहेका छन् । बुढापाकाले भन्थे, शत्रु खोज्न घरबाहिर जानु पर्दैन । अहिले यो भनाई ठ्याक्कै व्यवहारमा लागू भएको देखिन्छ । किनकि अहिले ठगिन, लुटिन घरबाहिर जानै पर्दैन । घरभित्रकै काफी छन् ।
आफन्तको विश्वासमा पर्दा मानिसहरु नराम्ररी ठगिँदै छन् । कमिशनको लोभमा आफ्नै दाजुले भाई र आफ्नै बाउले छोराछोरीलाई ठगेको पनि पाइन्छ । हुन त देशै कमिशनमा चलेको छ । सरकारी कार्यालयमा कमिशनबिना कुनै काम हुँदैन । नेताहरुले कमिशनकै निम्ति देश बेचिसकेका छन् । व्यापारीहरुले पनि आफ्नो स्वार्थका निम्ति सर्वसाधारणको ज्यानै खतरामा पारेर गुणस्तरहीन सामान बेचिरहेका छन् ।
कमिशनको लोभमा मानिसहरुले आफ्नालाई त छोडेनन् भने कर्मचारी, नेता र व्यापारीहरुले पनि सोही काम गर्नु कुनै नौलो भएन । भनिन्छ, लोभले लाप, लापले विलाप । यसरी नै अहिले कमिशनका निम्ति आफ्नालाई ठगेकाहरुले भविष्यमा यसको परिमाण भोग्नै पर्नेछ । किनकि आफन्त भनेको मर्दापर्दा काम लाग्छ । दलाली त सुखमा सँगै हुन्छ, दुखमा भाग्छ ।
त्यसैले, अब आफ्नालाई ठग्न बन्द गरौं । सँगै मानिसहरु पनि छिट्टै विश्वासमा पर्नुहुँदैन । विशेष गरी विदेशमा रहेका हाम्रा दाजुभाई, दिदीबहिनी, आमाबुबाहरु । विदेशमा रगतपसिना बगाएर कमाएको पैसा आफन्तको विश्वासमा परेर घरजग्गामा लगानी नगरौं । लगानी गर्नै परे आफैं स्वदेश आई राम्ररी हेरेर गरौं ।
रुषा थापा
भक्तपुर