neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

Mar 11th, 2025

काठमाडौं, फागुन २७

भिसा (NYSE: V), विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ ।

यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ । भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी QR व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे QR स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।” 

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यो साझेदारी फोनपेको QR  योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो, जसले विश्वभरका भिसा कार्डधारकहरूलाई QR  भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ । भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत QR पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ । यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ ।

नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक QR   कोडले नेपालका लाखौं व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ। साना व्यवसायहरूले POS मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो । यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ ।