neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘कोशी एक्सिलेन्स अवार्ड’ वरिष्ठ साहित्यकार झमक घिमिरेलाई

‘कोशी एक्सिलेन्स अवार्ड’ वरिष्ठ साहित्यकार झमक घिमिरेलाई

Feb 24th, 2025

काठमाडौं, फागुन ११

वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए ।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले  प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको र १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताए ।

मानसिक रूपमा सक्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार झमकको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मीएकी उनको बाल्यकाल कष्टकर बितेको थियो । उनलाई साहित्यले नै सफलताको बाटो कोर्‍यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘संकल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् ।

त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छेभित्रका योद्धा–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उनका एउटा क्वाँटी (विभिन्न विधा)संगह , (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटा–२०५७), एउटा कथा संगह (पर्दा, समय र मान्छे–२०६२),र एउटा निबन्ध संगह (बेमौसमका आस्था–२०६३) प्रकाशित छन् ।