ललितपुर, फागुन११
महालक्ष्मी नगरपालिका-७, सेरा टोलमा उपभोक्ता समितिमार्फत गरिएको सडक स्तरोन्नतीको काममा अनियमितता भएको स्थानीयबासिन्दाले गुनासो गरेका छन्। गत आर्थिक वर्षको बजेटबाट ब्लक शराने तथा ढुङ्गाको वाल निर्माणका लागि छुट्याइएको रु. १३ लाख बराबरको रकमबाट काम सम्पन्न गरिए पनि, हाल सडक जीर्ण बनेको छ।
स्थानीयहरूका अनुसार, यस आर्थिक वर्षमा हेभी गाडीहरू ओसारपसार गर्दा बाटो पूर्ण रूपमा भत्किएको छ। सडक निर्माणको एक वर्षमै यस्तो अवस्था आउनु उपभोक्ता समितिको लापरवाही र कमजोर निर्माण कार्यका कारण भएको स्थानीयको आरोप छ।
नेपोटिजम र स्थानीयलाई बेवास्ता गरिएको आरोप
स्थानीयले उपभोक्ता समिति गठन गर्दा पारदर्शिता अपनाइएको थिएन भन्ने गुनासो गर्दै आएका छन्। समितिमा आफ्नै नातागोता, जस्तै भाइ र बुहारी राखेर काम गराइएको तथा स्थानीय उपभोक्ताहरूलाई कुनै परामर्श नगरिकन निर्माण प्रक्रिया अघि बढाइएको उनीहरूको आरोप छ।
राजकुलो मासेर सडक विस्तार, बर्खायाममा असर पर्ने चिन्ता
परापूर्वकालदेखि चल्दै आएको राजकुलो मासेर सडक विस्तार गरिएकाले आगामी वर्षा याममा स्थानीय बासिन्दाले ठूलो क्षति बेहोर्नुपर्ने खतरा रहेको छ। ढल निर्माण गर्दा कुनै विस्तृत परियोजना प्रतिवेदन (DPR) नबनाई मनोमानी तरिकाले काम गरिएको स्थानीयको गुनासो छ।
स्थानीयले यस विषयमा सम्बन्धित निकायलाई तत्काल ध्यान दिन तथा अनियमिततामा संलग्न उपभोक्ता समितिलाई कारबाही गर्न माग गरेका छन्।