neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्व राष्ट्रपतिद्वारा जेनेस सलुशनका सीइओ फुयाँल सम्मानित

पूर्व राष्ट्रपतिद्वारा जेनेस सलुशनका सीइओ फुयाँल सम्मानित

Feb 11th, 2025

काठमाडौँ, माघ २९

पूर्व राष्ट्रपति विद्या भण्डारीले बेलायतमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुशनका सीइओ अञ्जनी फुयाँललाई  सम्मानित गरेकी छन् । अरुण गाउँपालिका-४ भोजपुरस्थित अरुणोदय माध्यमिक विद्यालयद्वारा आयोजित एक समारोहमा पूर्व राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रमा योगदान गर्नु हुने व्यक्तित्वहरुलाई   सम्मानित गरेकी हुन्  । विदेशमा बसेर पनि नेपालमा सूचना प्रविधिको विकास तथा भोजपुर जिल्लामा युवाहरुको सीप विकास गरी रोजगारमा लगाउन गरेको पहलको कदर गर्दै  फुयाँललाई ‘युवा उत्प्रेरक सम्मान’ बाट सम्मानित गरिएको सम्मान-पत्रमा उल्लेख छ।
हालै जेनेस सलुशनले भोजपुरमा युवाहरुलाई सूचनाप्रविधि सम्बन्धी सीप सिकाउने उद्देश्यले  ‘आइटी इनोभेशन सेन्टर’ शुरु गरेको छ।

कोशी प्रदेश अन्तर्गत  भोजपुर जिल्ला पौवादुङ्गमा गाउँपालिकाको च्यांग्रे  र अरुण गाउँपालिकाको प्याउलीमा सिताराम पदमकुमारी फाउन्डेशनसंगको सहकार्यमा ती केन्द्रहरु स्थापना गरिएका हुन् । सोही समारोहमा  पूर्व राष्ट्रपति भण्डारीले नेपाल प्रहरीका पूर्व एआइजी तथा सिताराम पदमकुमारी फाउन्डेशनका संस्थापक  भिम प्रसाद ढकाललाई पनि सम्मानित गरिन् ।

“हरेक दिन हजारौं युवाहरु रोजगारीको खोजीमा विदेश गइरहेका बेला हामीले युवाहरुलाई आइटी सम्बन्धी सीप प्रदान गरेर आफ्नै गाउँघरमा बसेर राम्रो आय आर्जन गर्न सक्ने बनाउने उद्देश्यले हामीले यो परियोजना शुरु गरेका हौँ।  यो सम्मानले  युवा सशक्तिकरण, नव परिवर्तन र समुदायको समृद्धिको लागि काम गर्ने मेरो प्रतिबद्धतालाई थप बलियो बनाएको छ,” जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने । उनले आफु लगायत श्री ढकाललाई सम्मानित गरेकोमा पूर्व राष्ट्रपति भण्डारी एवम् अरुणोदय माध्यमिक विद्यालय परिवारप्रति आभार पनि व्यक्त गरे ।

शुरुमा दुवै गाउँ पालिकाका २०, २० जना युवालाई आइटी सम्बन्धी तालिम दिने, प्रशिक्षणमा उत्कृष्ट हुने ५० प्रतिशतलाई इन्टर्नसिप गराइने र इन्टर्नसिप राम्रो गर्नेहरुलाई रोजगारी उपलब्ध गराइने जेनेस सलुशनले जनाएको  छ । आफ्नै गाउँ घरमा बसेर रोजगारी दिलाउने उद्देश्य ती केन्द्रहरुको रहेको छ।