काठमाडौंमा, पुस २५
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप १५ लाख मात्रा आइपुगेको छ । आगामी माघ २२ गतेबाट देशब्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी छ । त्यसका लागि १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । थप २ लाख मात्रा खोप यही पुस २८ गते आइपुग्ने जनाइएको छ ।
नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ ।