काठमाडौं, पुस २०
अहिले बैंकका कर्मचारीहरु जागिर छोड्न थालेका छन् । नाम चलेकै बैंकमा कार्यरत रहेका कर्मचारीहरुले पनि धमाधम जागिर छोडिरहेका छन् । जसरी सहकारी डुबेपश्चात् त्यहाँका कर्मचारीहरुले जागिर छोडेका थिए । बैंकमा समस्या निम्तिसकेको प्रमाणित भइसकेको छ । बैंकले ऋणको साँवाब्याज उठाउन सकिरहेको छैन । ऋणीले कर्जा नतिरेपछि धितो लिलाम प्रक्रिया अघि बढाइएको छ । तर, धितो लिलाम गरेर मात्रै के गर्नु ? त्यो पनि त बिक्री हुनुपर्यो नि । परिवार, आफन्त, साथीभाइहरुले समेत बैंकको जागिर छोड्न सल्लाह, सुझाव दिइरहेका छन् । सहकारी डुब्दा, भाग्दा सञ्चालक, अध्यक्ष मात्र फसेनन्, कर्मचारीहरु पनि जेलमा जानुपरेको छ ।
हे, यसैबाट पाठ सिकेर अहिले बैंकमा खाइरहेको जागिर पनि छोडिरहेको छ । बैंकको आम्दानी दिनप्रति दिन खस्किँदै गएको छ । एकातिर कर्जा प्रवाह शून्य भएको छ, अर्कोतिर ऋण उठाउन सकिरहेको छैन । त्यसमाथि अहिले बचतकर्ताहरुले पनि आफ्नो निक्षेप भटाभट निकाल्न थालेका छन् । सहकारी होस् या बैंक, वित्तिय संस्था सबैको कर्जा लगानी तीन क्षेत्रमा छ भनेर थाहा भइसक्यो ।
त्यो हो, घरजग्गा, गाडी र सेयर । पाँच वर्षअघि करोडौं भनिने घरजग्गा अहिले लाखमा बिक्री नहुने अवस्था आएको छ । ३२ सयको सेयर एक सय रुपैयाँ र ३० लाखदेखि करोडौं हालेर किनेको सवारीसाधन अहिले त्यसको आधा मूल्यमा बिक्री नहुने भएको छ । घरजग्गा, गाडी र सेयरको मूल्य दिनानु दिन घट्दै गएको छ । यीनीहरुको मूल्य कबाडीको भाउमा झरेको छ । बैंकबाट एउटै व्यक्ति तथा व्यापारीले लाखदेखि अर्बौसम्म कर्जा लिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईले दश अर्ब र भाटभटेनी साहु मीनबहादुर गुरुङले बैंकबाट ५१ अर्ब ऋण लिएको बताइन्छ । यी त उदाहरण मात्रै हुन् । यस्ता सयौं व्यापारी, व्यवसायी छन्, जसले बैंकबाट अर्बौ ऋण लिएका छन् तर साँवाब्याज तिरेका छैनन् । बजारमा जो कोही घरजग्गा, गाडी र सेयर बेच्न चाहन्छन् । सार्वजनिक स्थलदेखि चिया पसल, भट्टी पसलसम्म यो किन्ने मान्छे खोजिरहेको भेटिन्छन् । तर, किन्ने कोही छैन । ऋणीहरुले हात उठाइसकेका छन् । उनीहरुले बैंकलाई नै धितो छोडिसकेका छन् । कर्जा तिर्न नसकेपछि झण्ड डेढ लाख सर्वसाधारण कालोसूचीमा परिसकेका छन् । अरु पनि पर्ने क्रम जारी छ ।
सहकारी डुब्ने हल्ला चल्नासाथ आफ्नो बचत निकाल्नेहरु जोगाए । अनि जसले सरकार र सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीको विश्वासमा परेर आफ्नो निक्षेप निकालेनन्, उनीहरु डुबे । अब बैंकमा पनि यस्तै हुने देखिन्छ । बजारमा बैंक डुब्ने चर्चा आगोझैं फैलिएको छ । कतिपयले यसमा विश्वास गरेका छन् भने कतिपय अन्यौलमा देखिन्छन् ।
त्यसैले, अब बचतकर्ताहरुले बेलैमा दिमाग नपुर्याए सहकारीका निक्षेपकर्ताजस्तै अवस्था हुन बेर छैन । राष्ट्र बैंक र अर्थ मन्त्रालय बैंक, वित्तिय संस्था ठिकठाक रहेको दाबी गर्छ । यद्यपि, यी संस्थाको लगानी कहाँ छ ? भन्दैन । बैंक, वित्तिय संस्थामा समस्या आइसकेको छ । सरकार अझै पनि सर्वसाधारणलाई भ्रममा राखिरहेको छ । हिजो सहकारीमा संकट आउँदा पनि सरकारले यस्तै गर्यो ।
सहकारीमा केही पनि समस्या छैन भनेर ढाँट्यो । पछि सहकारी सञ्चालक, अध्यक्षहरु बचतकर्ताको करोडौं रकम लिएर भागे । अहिले बचतकर्ताहरुको रुवाबासी चलेको छ । पैसा डुबेकै कारण कतिपय बचतकर्ताले सहन नसकेर आत्महत्या गरेका छन् भने कतिपय अस्पतालको बेडमा छन् । उनीहरुसँग उपचार गर्न समेत पैसा छैन । अनि हिजो सहकारी ठिकठाक छ भन्ने सरकार अहिले चाँहि कहाँ छ ? यसपटक भने जनता भ्रममा पर्नुहुन्न । न सरकारको न बैंक, वित्तिय संस्थाको । आफ्नो रकम भएको बैंक, वित्तिय संस्थाको अवस्थाबारे बुझौं । कहाँ लगानी गरिएको छ ? भनी खोजतलास गरौं । आफुसँगै अरुलाई पनि डुब्नबाट जोगौं । किनकि डुबेपछि सरकारले केही पनि गर्दैन भन्ने थाहा भइसक्यो । त्यसकारण अब जनता आफैं सचेत हुनुपर्छ । अहिले बैंकका कर्मचारीहरु धितो किन्ने ग्राहक खोज्दै हिँडिरहेको भेटिन्छन् । सस्तोमा धितो बेच्न खोज्दा समेत बैंकले ग्राहक पाइरहेको छैन । धितोको मूल्य दिनानु दिन घट्दै गएको छ भने बैंकको आम्दानी खस्किएको छ । कर्मचारीलाई तलब दिनदेखि निक्षेपको ब्याज अनि घरभाडा, दैनिक खर्च धान्न बैंकलाई धौधौं पर्न थालिसकेको छ । यस्तै अवस्था रहिरहे बैंक सहकारीको अवस्थामा पुग्न धेरै समय लाग्ने छैन । अब सञ्चारमाध्यमहरुले पनि जनतालाई सतर्क गराउनुपर्छ ।
बैंक, वित्तिय संस्थाहरुको यथार्थ बाहिर ल्याउनुपर्छ, कुनै पनि प्रलोभन, लोभमा नपरी । किनकि जनताभन्दा अरु कोही ठूलो होइन । जनता पनि अब ब्याजको प्रलोभनमा फस्नुहुन्न । चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी भनेझैं ब्याजको लोभमा पस्दा साँबा नै गुम्न सक्छ । त्यसैले, होसियार हौं । साथै, बैंकमा अब रकम सुरक्षित छ भनेर ढुक्क भएर घरमा नबसौं ।
अहिले घरजग्गा, गाडी र सेयरमा मन्दी छ । यो केही दशकसम्म रहने जानकारहरु बताउँछन् । काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् । बसिरहेकाले पनि आधा भाडा घटाउन घरधनीहरुसँग माग गरिरहेका छन् । उनीहरु भन्छन्, ‘कि आधा भाडा घटाउनुस् । नभए हामी बस्दैनौं ।’ बजार झन झन मन्दीतर्फ मोडिएको छ । मुलुकमा बेरोजगारी, महँगी अनि गरिबी बढ्दै गएको छ । बिहान–बेलुकाको छाक टार्न समेत आम नागरिकलाई धौंधौं परिरहेको छ । अनि यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? सरकारले बेलैमा उचित कदम नचालेमा मुलुकमा जनआन्दोलन समेत हुन सक्नेछ । अहिले सरकारले बैंकमा जनताले जम्मा गरेको रकम ऋणस्वरुप चलाइरहेको छ । निर्माण व्यवसायीको ४० अर्ब भुम्तानी दिन बाँकी छैन । दुग्ध कृषकको सात अर्ब र कोरोना महामारीका बेला बीमा गराएका अस्पतालको पनि ११ अर्ब भुक्तानी बाँकी नै छ । सरकारले विदेशी ऋण २७ खर्ब लिइसक्यो । महालेखा परीक्षकको कार्यालयअनुसार सरकारी खर्च दिनप्रति दिन बढ्दो छ भने आम्दानी घट्दो क्रममा छ ।
सरकार बैंकको पैसाबाट खर्च धानिरहेको छ । त्यँही पैसाबाट जनप्रतिनिधि, कर्मचारीहरुलाई कामै नगरी महिनैपिच्छे खातामा खुरुखुरु तलब हालिन्छ । सरकार खर्च घटाउनेतिर छैन । उल्टै बैंकमा जनताले जम्मा गरेको रकमतिर सरकारको आँखा छ । अनि अहिले नै विदेशी ऋणको साँवाब्याज तिर्न नसकिरहेको अवस्थामा सरकारले बैंकबाट लिएको ऋण चाँहि कसरी तिर्छ ? अब सरकार आफैंले बैंक डुबाउने देखिएको छ ।
रुषा थापा
भक्तपुर