काठमाडौं, पुस ११
आज राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था (NCC Alumni Association Nepal) को सातौँ वार्षिकोत्सव प्रधान सेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधान सेनापतिले NCC Alumni Association Nepal सँग आवद्ध सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले अनुशासित, नैतिकवान्, इमानदार, बफादार, कर्तव्यनिष्ठ तथा असल देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको कार्यक्रम सहयोगी सिद्ध रहेको बताउनु भयो । सो अवसरमा प्रधान सेनापतिले राष्ट्र सेवामा समर्पित अनुशासित र बफादार युवा जनशक्ति तयार गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्न राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउन नेपाली सेनाले पहल गरिरहेको उल्लेख गर्नु भयो । नेपाल सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल कार्यक्रमबाट दीक्षित क्याडेटहरुको सङ्गठन NCC Alumni Association, Nepal बाट राष्ट्र सेवामा भएका विभिन्न गतिविधिहरूबाट नेपाली जनताको आशा र भरोसा वृद्धि भएको उल्लेख गर्दै प्रधान सेनापतिले राष्ट्रप्रति समर्पित नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नु भयो ।
साे कार्यक्रममा Alumni Association का प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै नेपाली सेनाको छत्रछायामा सेनाकै विभिन्न युनिटहरूबाट राष्ट्र सेवाको पथमा प्रशिक्षित हुन पाउनु समस्त राष्ट्रिय सेवा दलका क्याडेटहरुलाई गौरवको विषय भएको बताउनु भयो । राष्ट्रिय सेवा दल, नेपालका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी महेश कुमार थापाले धन्यबाद मन्तव्य राख्नु हुँदै Alumni Association का सदस्यहरूलाई बधाई र शुभकामना दिनु भयो ।
यस्तै, बलाध्यक्ष रथी प्रदीप जङ्ग के.सी., रथीवृन्द, NCC Alumni Association Nepal का पदाधिकारीहरूका साथै तालिमरत छात्र/छात्रा एवं प्रशिक्षक सकलदर्जाको उपस्थिती रहेको कार्यक्रममा NCC Alumni Association Nepal का क्याडेट छात्र/छात्राहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । वि.सं.२०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो ।
हाल देशका विभिन्न ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । हालसम्म ७८ हजार भन्दा बढी छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् ।