काठमाडौं, पुस १०
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ वासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ ।
मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“नागरिकल महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।”
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।