काठमाडौं, पुस ८
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालन भइरहेको ३९औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षार्थी अधिकृतहरूले विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक तालिम प्राप्त गरेका छन्। नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूका लागि सुरु गरिएको यो तालिममा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा, र परराष्ट्र सेवाका प्रशिक्षार्थीहरूले सहभागिता जनाएका छन्।
६ महिनाको यो आधारभूत तालिम कार्यक्रममा प्रशिक्षार्थीहरूलाई सात समूहमा विभाजित गरिएको छ, जसमध्ये चार समूह आवासीय प्रशिक्षणमा सहभागी छन्। आवासीय प्रशिक्षण अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन गरिँदै आएको छ।
पुष ७ गते प्रशिक्षार्थीहरूलाई चितवनस्थित सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय (DMTS) कुरिन्टार लगिएको थियो। त्यहाँ प्रशिक्षार्थीहरूले सशस्त्र प्रहरी बलद्वारा प्रस्तुत विपद् व्यवस्थापनसम्बन्धी विविध क्रियाकलापको अवलोकन गरे। तालिमका क्रममा बाढी, भूकम्प, आगलागी लगायतका विपद्को अवस्थामा आवश्यक रणनीति, उद्धार प्रक्रिया, र तत्कालीन व्यवस्थापनबारे जानकारी दिइयो।
प्रशिक्षण कार्यक्रमले प्रशिक्षार्थीहरूको विपद् व्यवस्थापनसम्बन्धी ज्ञान र क्षमतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। विपद् अघि, विपद् अवस्था र विपद पछि गरिनुपर्ने सहकार्यमा यो अन्तर्क्रियात्मक तालिमले स्थानिय तह तथा DMTS अझ टेवा पुर्याउने विश्वास रहेको DSP जनक पुरीले बताउनु भयो।
उहाँले यो तालिमले आपत्कालीन परिस्थितिमा सरकारी सेवाका अधिकारीहरूको प्रभावकारी भूमिकालाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।