neapl investment mega bank
  • गृहपृष्ठ
  • इट्टादेखि डण्डी, सिमेण्ट व्यापारमा मन्दी, सिजनमै पार्टी प्यालेन्स पनि रित्तो !

इट्टादेखि डण्डी, सिमेण्ट व्यापारमा मन्दी, सिजनमै पार्टी प्यालेन्स पनि रित्तो !

Dec 10th, 2024

काठमाडौं, मंसिर २६

बजारमा इट्टाभट्टा सञ्चालकहरु भन्छन्, ‘इट्टा बिक्री हुनै छोड्यो ।’ डण्डी तथा सिमेण्टी व्यापारी पनि डण्डी र सिमेण्ट बिक्री हुन छोडेको बताउँछन् । त्यस्तै, गिट्टी, बालुवा, रोडा व्यवसायीहरु पनि व्यापारमा मन्दी छाएको गुनासो गर्छन् । अहिले हार्डवेयर पसलहरु पनि सुनसान देखिन्छन् । व्यापार ठप्पै भएको छ । अहिले घर बनाउने मानिसहरुको संख्या निकै घटेको बताइन्छ । एकाधले जग्गा किनेर घर बनाएपनि अधिकांश भने त्यँही घर बेच्ने सुरसारमा छन् । त्यसो त विगतमा एउटै व्यक्तिले २५ वटासम्म घर बनाएर भाडामा लगाएको पाइन्थ्यो । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर घरका कोठा, सटर र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसंख्या तीन करोड समेत नपुग्दा देशभरका जमिनको कित्ताकाट ५० औं करोड भएको भूमि तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ । मुलुकको जनसंख्याको आधाभन्दा बढी नागरिक रोजगारी तथा अध्ययनका लागि भारतसहित विभिन्न देश पुगेका छन् । गाउँ रितिसक्यो । त्यहाँका अधिकांश घरमा ताल्चा झुण्डाइएको छ । खेतबारी बाँझो छ । भूमाफियाहरुले सदरमुकाम तथा शहरका जमिनमा कब्जा जमाए । निमुखा किसानसँग रोपनीको दुई हजारदेखि दश हजारमा किनी टुक्राटुक्रा बनाएर आनाकै लाखौंमा बेचबिखन गरे । आम सर्वसाधारणले त्यो जग्गा किने । अनि त्यँही जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखी ऋण लिएर घर ठडाए ।

उपत्यकामै ०५० सालमा मासिक दुई सय रुपैयाँ भाडामा पाइने कोठा अहिले घरधनीहरुले पाँच हजारदेखि २० हजारसम्म पुर्याएका छन् । त्यतिबेला पाँच हजारमा पाइने सटर अहिले १९ लाख र सात सयदेखि हजार रुपैयाँ भाडामा पाइने फ्ल्याट ३५ हजारदेखि तीन लाख रुपैयाँसम्म पुगेको छ । त्यसबेला सटर किनबेच हुदैँन्थ्यो । तर, अहिले खाली सटर २० लाखदेखि ६० लाख रुपैयाँसम्म खरिदबिक्री हुन्छ । हरेक क्षेत्रमा मन्दी छ । जसको असर पार्टी प्यालेन्स व्यवसायमा समेत देखिएको छ । नेपालमा मंसिरमा सबैभन्दा बढी विवाह हुने गर्छ । यद्यपि, यो वर्ष मंसिर सकिन लाग्दा समेत एउटा–दुईटा बाहेक बिहे पार्टी प्यालेन्समा भएको पाइदैँन । अधिकांशले कोट म्यारिज वा मन्दिरमा टिकाटालो गरेका छन् । होटल, रेस्टुरेन्टदेखि कपडा पसलसम्म मन्दी छाएको छ । व्यापारीहरु निराश छन् । दिनभर बहनी समेत नभएपछि उनीहरु चिन्तित छन् । अहिले कतिपय व्यापारीहरु त बाटोमा ग्राहक तानिरहेको भेटिन्छन् । सित्तैमा खाना वा सामान दिनेझैं उनीहरु बाटोमा हिँडिरहेका व्यक्तिलाई तान्छन् । काठमाडौंको अनामनगरमा रहेको भाटभेटनीमा पनि यस्तै गर्ने गरिएको छ ।
बाटो वा फुटपाथमा हिँडिरहेका मानिसहरु भाटभटेनी तल कपडा बेचिरहेका व्यापारीहरु तान्न आइपुग्छन् । यसो त भाटभटेनी, सुपरमार्केट, बिगमार्टहरु कुहिएका, बिग्रिएका वा म्याद गुज्रिएका सामान पनि फेला पर्न थालेका छन् । आकर्षक प्याकिङ्ग गरेर सर्वसाधारण ठग्दै आएका यीनीहरुको पोल खुलिसकेको छ । एउटा सामान सस्तोमा दिएर अर्कोमा लुट्ने यीनीहरुको पोलिसी हुन्छ ।

त्यसैले, यो कुरा थाहा पाएर अहिले आम नागरिक भाटभटेनी, सुपरमार्केट र बिग मार्ट जान छोडेका छन् । सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । सोमबार सुन प्रतितोला डेढ लाख रुपैयाँमा किनबेच भयो । जबकी गत कात्तिक १५ गते यँही सुन एक लाख ७१ ह्जार बढी पुगेको थियो । २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो । सेयर बैंक तथा वित्तिय संस्थाहरुले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको हो भनेर सरकार र जनता दुवैलाई थाहा छ । तर, यँही सेयर दलालीहरुले मूल्य बढाएर ३२ सय पुर्याए । अनि मूल्य बढेको देखेर आँखा चिम्लेर लगानी गर्दा आज मर्नु कि बाँच्नु अवस्था पुगेका छन्, जनता । बैंक समेत यस्तै क्षेत्रमा लगानी गरेकै कारण डुब्ने अवस्थामा पुगेको छ । हामी कहाँ सञ्चालनमा रहेका दुई तथा चार पाङ्ग्रे सम्पूर्ण सवारीसाधन छिमेकी मुलुक भारत र चीनबाट आयात गरिएको हो । यहाँका अटो शोरुम तथा गाडी बेच्ने कम्पनीहरुले एक लाखदेखि बढीमा दश लाख रुपैयाँ तिरेर गाडी ल्याउने गरेका छन् । तर, त्यँही गाडी यहाँ भने पाँच हजारदेखि करोडसम्म बेचिरहेका छन् ।
बजारमा जताततै मन्दी छायो मात्रै सुनिन्छ । घरजग्गा, गाडी, सेयरलगायत विभिन्न वस्तुको मूल्य स्वाट्टै घटेको छ । तर, खाद्यान्नको मूल्य तेब्बरले बढेको छ । दुई वर्षअघि एक बोरा जीरा मसिनो चामल १२ सय रुपैयाँदेखि १५ सयमा पाइन्थ्यो । अहिले बढेर २५ सयदेखि ३५ सय रुपैयाँसम्म पुगेको छ । त्यस्तै, तेल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य पनि ह्वात्तै बढेको छ ।

अनि अरुको मूल्य घट्दा किन खाद्यान्नको चाँहि बढ्यो ? अहिले हामीले जति पनि खाद्यान्न उपभोग गरिरहेका छौं, त्यो सबै विदेशीबाट आयात गरिएको हो । किनकि गाउँका जमिन बाँझो छ । शहरका जमिनमा घरैघर बनेको छ । हामी खाद्यान्नमा विदेशीमा परनिर्भर छौं । गुन्द्रक समेत विदेशबाट आयात गछौं । विदेशीले खाद्यान्न आयातमा रोक लगाइदिए हामी नेपाली नागरिक भोकभोकै मर्नुपर्ने अवस्था आउँछ ।
अहिले नै चर्को मूल्य तिरेर खाद्यान्न आयात गरिरहनु परेको छ । त्यसमा पनि विदेशीले आयातमा रोक लगाए हाम्रो हरिबिजोग हुने छ । अर्थमन्त्री विष्णु पौडेलले केही महिनाअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरे । देश संकटमा परिसक्यो । जनता डुबिसके । बैंकमा समस्या निम्तिसक्यो । अनि अब आयोग गठन गरेर के हुन्छ ? सरकारले सर्वसाधारणको आँखामा छारो हाल्नेबाहेक केही काम गरेको छैन । सर्वसाधारण डुब्नुदेखि बैंक र अर्थतन्त्रमा समेत संकट निम्तिनुको मुख्य कारण घरजग्गा, गाडी र सेयर हो । छिटो नाफा कमाउन व्यक्तिदेखि बैंक तथा वित्तिय संस्थाले यो क्षेत्रमा लगानी गरे । सरकारले पनि राजस्वको ओइरो लागेको देखेर जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न दियो । अहिले यँही क्षेत्रमा लगानी गरेकै कारण सहकारी भाग्नुपर्यो । सहकारीमा बचत गरेका करोडौं सर्वसाधारणको रुवाबासी भयो ।

अब बैंकमा समेत समस्या देखिसकेको छ । अनि सबै ध्वस्त भएपछि आयोग गठन गरेर सरकारले के गर्न खोजेको ? के आयोगले घरजग्गा, गाडी र सेयरको मूल्य बढाउन सक्छ ? के सहकारी समस्या हल गर्न सक्छ ? कि बैंकलाई टाट पल्टिनबाटै बचाउन सक्छ ? यसको जवाफ अब सरकारले दिनुपर्छ । अहिले जनता अर्थमन्त्री विष्णु पौडेल र गर्भनर महाप्रसाद अधिकारीलाई सोध्छन्, ‘कतिञ्जेल हाम्रो आँखामा छारो हाल्ने ? कहिलेसम्म भ्रममा पारिरहने ?’ सरकारकै कारण सहकारीमा बचत गरेका सर्वसाधारण डुबे । अब बैंकका निक्षेपकर्ता भने डुब्न नपरोस् । बचतकर्ता आफैं सचेत हौं ।
रुषा थापा
भक्तपुर