neapl investment mega bank
  • गृहपृष्ठ
  • आँखा चिम्लेर अग्लाअग्ला घरमा लगानी, भुइँचालो गयो भने हुनेछ ठूलो जनधनको क्षति !

आँखा चिम्लेर अग्लाअग्ला घरमा लगानी, भुइँचालो गयो भने हुनेछ ठूलो जनधनको क्षति !

Dec 9th, 2024

काठमाडौं, मंसिर २४

गएको असोज १० गतेदेखि १२ गतेसम्म परेको निरन्तर पानीले धेरै स्थानमा बाढीपहिरो गयो । काठमाडौं उपत्यकामै घर–घरमा बाढी पस्यो । नदीनाला वरपरको क्षेत्र पुरै डुबानमा पर्यो । बाढीले कु्रद्ध रुप लिँदा सरकारलाई नै उद्दारमा समस्यामा परेको थियो । ललितपुरको नख्खु खोला छेउमा टहरा बनाएर बसेकाहरु बाढी आएपछि टहरामाथि चढे ।
उनीहरुले घण्टौंसम्म गुहार मागे । तर, गृहमन्त्री रमेश लेखकले उद्दारको साटो हात उठाए । उद्दार गर्न नसकिएको भन्दै उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरे । अन्तिममा एक व्यक्तिले तीन जनताको उद्दार गरे । दुई जनाको मृत्यु भयो । राजधानीभित्र त यस्तो हालत छ भने दुर्गम जिल्लामा के हालत होला ? नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको कार्यालय यहीँ छ । तीनवटै सुरक्षा संयन्त्र भएको ठाउँमा समेत उद्दार गर्न नसकेपछि एउटा नागरिकले ज्यानको बाजी राखेर उद्दार गरे । काठमाडौं उपत्यकामा जम्मै स्रोतसाधन छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यालय यहीँ छ ।

विडम्बना, तीन घण्टासम्म पनि उद्दार हुन सकेन् । यहाँ त हेलिकप्टर पनि छ । तर, त्यसबाट पनि उद्दार भएन् । गुहार माग्दामाग्दै उनीहरु बाढीसँगै बगे । ती व्यक्तिले आँट नगरेको भए जम्मैको मृत्यु हुन्थ्यो । खोलाको छेउमा बसोबास गर्न दिने राज्य हो । यता, जनता बचाउन नसक्ने पनि राज्य नै हो ।
सरकारले नै जनतालाई मृत्युको मुखमा धकेलिरहेको छ । वर्षेनि बाढीपहिरो र प्राकृतिक विपद् आउँछ । बाहिरी जिल्लामा त यस्ता घटना धेरै हुन्छन् । यसवर्ष उपत्यकाले पनि त्यसको अनुभव गर्यो । अब त्यसबाट पाठ सिक्ने कि यत्तिकै छोडिदिने राज्यको हातमा छ । पानी पर्नेबित्तिकै सिँधै भल आउँदैन् । वर्षा भएपछि राज्यसँगै सर्वसाधारण पनि चनाखो हुनुपर्छ । यसले धनको त क्षति होला तर ज्यान बच्छ । पानीको हकमा अनुमान लगाउन सकिन्छ । पानी कत्रो परेको छ ? भल आउने सम्भावना छ कि छैन् ? थाहा पाइन्छ । तर, भूकम्पको हकमा त्यसो हुँदैन् । भूकम्प कति बेला आउँछ भन्ने भूभर्गविद्हरुलाई त थाहा हुँदैन् । विचरा सर्वसाधारणले झन् के थाहा पाऊन् । भूकम्प आएपछि भाग्नसमेत भ्याइँदैन् । एक्कासी जमिन हल्लिन थाल्छ, घरहरु बल्ढ्याङ्गबुल्ढुङ्ग ढल्छन् । मान्छे त्यही च्यापिन्छन् । जमिन चिराचिरा पर्छ । विसं १९९० मा ठूलो भूकम्प गयो । त्यतिबेला घरहरु खर, पराल, छवाली, ढुंगामाटोको हुन्थ्यो । भुइँचालो आएपछि भत्किएको घरको ढुंगामाटो समेट्न मात्र वर्षौं दिन लाग्यो । पातलो घर भएपनि लाश निकाल्न र ढुंगामाटो पन्छाउन निकै गाह्रो भयो । २०४५ सालमा पनि भूकम्प आयो । त्यसरी नै घर भत्कियो । लाश निकाल्न धेरै समय लागेको थियो । २०६८ असोज १ गते पनि भूकम्प गयो ।

कतिपय घर चर्किए, कतिपय भत्किए । कतिले ज्यान पनि गुमाए । २०७२ वैशाख १२ गते महाभूकम्प गयो । पुनः जेठ २९ गते भूकम्प आयो । २०८० कात्तिक १७ गतेपनि भूकम्प गएको थियो । भुइँचालो कतिबेला आउँछ ? रातमा आउँछ कि दिनमा ? न विज्ञलाई थाहा छ, न सर्वसाधारणलाई थाहा छ,, न त राज्यलाई । सरकार कसरी पन्छिन्छ ? भन्ने त नख्खु घटनाबाट सर्वसाधारणले पाठ सिक्नुपर्छ । विपद् आएपछि सरकारले हात पनि उठाउन सक्छ भनेर जनताले बुझ्नुपर्छ । अप्ठेरो समय आएपछि सरकार पनि दायित्वबाट भाग्छ । पछिल्लो समय अग्लाअग्ला भवन ठड्याउने कार्यले प्राथमिकता पाएको छ । उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा अग्लाअग्ला घर निर्माण भएको छ । पाँचदेखि १९ तलासम्मको घर बनेका छन् । घरचाँहि अग्ला, जग्गाचाँहि एकदेखि चार आना । खाली ठाउँ त छोडिँदै छोडिदैन् । खाल्टोलाई माटोले पुरेर घर बनाइएको छ । कमशल माटोमा पनि भवनको निर्माण गरिएको छ । खोलाको दायाँ–बायाँ पनि घर । डाँडाकाँडामा डोजर चलाएर घर । सरकारी, सार्वजनिक र गुठीको जग्गामा पनि घर । खेतीयोग्य जमिन पनि टुक्राटुक्रा पारेर घर । जताततै घरैघर । एउटा घरमा २० जनादेखि सयौं जनासम्म बस्छन् । त्यसमा घरधनी पनि हुन्छन्, भाडावाल पनि ।

अहिले बनेका घरहरु हेर्दा त राम्रो देखिन्छ तर त्यो कतिको बलियो छ ? न सरकारलाई थाहा छ न भाडामा बस्नेलाई । भित्ताको साटो सिसैसिसा हालिएको हुन्छ । ढुंगा टाँसेका छन्, मार्बल हालेका छन् । त्यो घरको जग कहाँसम्म छ ? घर मापदण्डबमोजिम बनेको छ ? कसैलाई जानकारी नै हुँदैन् ।
व्यापारीहरुले आफ्नो फाइदाका कमशल घर बनाएर बेचिरहेका छन् । भूइँचालो गयो भने यहाँ धेरै क्षति हुन्छ । अधिकांश घर चुचुरोजस्तो अग्लो मात्र छ । गुणस्तरीय र बलियो बनेको छैन् । अबचाँहि भूइँचालो आयो भने यहाँ धेरै घर गल्र्यामगुलुम्र्म ढल्छन् । त्यहीँ घरले थिचिएर हजारौं मर्छन् । खाली ठाउँ नभएकाले भागेर जाने ठाउँ पनि हुँदैन् । वर्षौं दिन त सरकारलाई लाश निकाल्न मात्र लाग्छ । फेरि त्यो भत्किएको घरको सामान लगेर कहाँ फ्याँक्नु ? विगतमा थोरै जनसंख्या र स–साना घर हुँदा त सरकारलाई उद्दार गर्न निकै समय लाग्थ्यो भने अहिले त जताततै घरैघर छन् । अर्कोतिर घर भत्किनेबित्तिकै व्यक्तिको लगानी त डुब्छ नै । साथै, बैंकले त्यो घर धितो राखेर दिएको कर्जा पनि जोखिममा पर्छ । कति जोखिमपूर्ण स्थानमा लगानी गरिएको छ ? न बैंकले बुझ्यो न व्यक्तिले । धमाधम घर बनाउने काम मात्र भयो । भुइँचालो गएपनि जग्गाचाँहि जोगिन्छ ।

बुढापाकाले भन्थें,‘घर, गुड्ने र उड्नेमा लगानी गर्नुहुन्न ।’ जग्गा कसैले बोकेर लैजान सक्दैनन् । जग्गामा लगानी गर्दा उब्जनी गरेर खान पाइन्छ भन्ने उनीहरको धारणा थियो । नपढेका भएपनि उनीहरु सही–गलत छुट्याउने सामथ्र्य राख्थें । तर, अहिलेको पुस्ताको सोच बद्लिएको छ । उनीहरु बुढापाकाको अर्ती उपदेश मान्दै मान्दैनन् । विदेश बस्नेले पनि घरमै लगानी गर्ने, सरकारी जागिरेले पनि । व्यापार–व्यवसाय गर्नेको आँखा पनि घरमै छ । जो पनि जग्गा किन्ने, घर बनाउने अनि भाडामा लगाउने । उनीहरुले यसलाई नै आफ्नो पेशा बनाए । घर बनाउने, भाडामा लगाउने । सबैले सजिलो पेशा भन्दै यसमै लगानी गर्दा आज काठमाडौं उपत्यकासहित जिल्लाका सदरमुकाम घरले भरिए । तर, यसमा गरिएको लगानी कतिबेला डुब्ने हो ? भन्न सकिन्न् । भुइँचालो नआएपनि आर्थिक मन्दीले घरधनीलाई झट्का दिइसकेको छ । आर्थिक मन्दीका कारण कोठा, सटर र फ्ल्याट धमाधम खाली भइरहेका छन् । भाडामा लगाएर बसिबसि खानका लागि निर्माण गरिएको घर भाडामा नगएपछि घरधनीलाई नै समस्या भएको अवस्था छ । यता, घरजग्गाको कारोबारमा मन्दी आउँदा मूल्य पनि घटेको छ । त्यसैले लगानी गर्दा धेरै सोचविचार गर्नुपर्छ भनेको यही कारणले हो । घरमा लगानी जोखिमपूर्ण छ । फाइदाका लागि आँखा चिम्लिएर लगानी गर्नु मुर्खता हो ।

मेरो घर छ भनेर के गर्नु, त्यसले नै थिचिएर मर्ने हो कि पत्तो हुँदैन् । पहिला एक तल्लाको घर हुन्थ्यो, भुइँचालो आउनेबित्तिकै भाग्न सकिन्थ्यो । अहिले त माथिबाट तल आउन भ्याइँदैन् । बाहिर निस्किएपछि अर्काको घरले थिचिहाल्छ । हामी कति जोखिममा बसिरहेका छौं ? सर्वसाधारणले कहिले बुझ्ने ? पहिलेको मान्छे आफ्नो सुरक्षा आफैंले गर्नुपर्छ भन्ने ध्यान राख्थें । अहिलेकाले पढे तर बुझ्ेनन् । घर छ भन्ने शान देखाउने । तर, त्यही घरले कतिबेला आफ्नो जीवनभरको कमाइ सोत्तर बनाउने हो या आफ्नै ज्यान लिने हो ? कसैले सोचेका छैनन् । राज्यलाई कर भए पुग्छ । त्यसैले जनता आफैंले आफ्नो जनधनको सुरक्षा गरौं ।
अनुसा थापा
भक्तपुर