काठमाडौं, मंसिर १२
गृहमन्त्री रमेश लेखकलाई सर्वसाधारण सोध्छन्,‘जिल्लाका सिडियो र प्रहरीहरु ऐनकानुन कार्यान्वयनका लागि बसेका हुन् कि दिन कटाउनलाई ?’ कामै नगर्ने भए सिडियो र प्रहरी किन चाहियो ? जिल्ला प्रशासन र प्रहरी ऐनकानुन कार्यान्वयन गर्ने सरकारको एउटा इकाई हो । तर, उनीहरुले आफ्नो दायित्व पूर्ण रुपमा पुरा गरेका छन् त ? पछिल्लो समय मादक पदार्थ सेवन गर्नेको संख्या ह्वात्तै बढेको छ । यो समस्या गाउँदेखि शहरसम्म छ । मादक पदार्थ सेवनकै कारण धेरैको घरपरिवार लथालिङ्ग बनेको छ । काम नगर्ने, बिहान उठेदेखि भट्टी छिर्ने ।
आम नागरिकको घरमा यत्रो समस्या भइसक्दा पनि सरकारले त्यस्ता व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन् । कानुन मान्ने हो भने घरेलु रक्सी बनाउन र बेच्न पाइँदैन् । प्रहरीले विगतमा कहिलेँकाही घरेलु रक्सी नष्ट गरेको समाचार आइरहेको हुन्थ्यो । पछिल्लो समय प्रहरी सेलाएको देखिन्छ । व्यापारीहरुले आफ्नो फाइदाको लागि रासायनिक मल हालेर रक्सी बनाउँछन् । होटलमा बचेको भातबाट पनि रक्सी बनाउने बताइन्छ । भैंसीको हड्डीबाट पनि व्यापारीले रक्सी बनाउँदै आएका छन् । घरेलु रक्सीमा एकदमै हानिकारक पदार्थहरु मिसाइएको हुन्छ ।
यस्तो रक्सी व्यापारीले मानाको एक सयदेखि तीन सय रुपैयाँ मानामा बेचिरहेको छ । रक्सीको सेवनबाट पैसा त सकिन्छ, सकिन्छ साथै कलेजो र फोक्सो पनि काम नलाग्ने हुन्छ । अर्कोतिर घरव्यवहार पनि बिग्रिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकले घरेलु रक्सी बनाउने र बेच्नेलाई कारबाही गर्न निर्देशन दिएका छैनन् । जनताको स्वास्थ्यमाथि खेलबाँड भइरहेको छ । तर, सरोकारवाला टुलुटुलु रमिता हेरेर बसेको छ । देशको ऊर्जाशील युवाशक्तिहरु घरेलु रक्सीको लतमा लागेका छन् । भर्खर २०–२१ वर्षका युवायुवतीहरु रक्सी खाएर सडकमै सुतिरहेको देखिन्छ । कतिपयको हातखुट्टा भाँच्चिएको हुन्छ, कतिपयको दाँत । झ्याप हुनेगरी रक्सी खायो अनि सडकमै सुत्यो । रक्सी खाने लत लागेकाहरुले पाकेट मार्छन्, उनीहरु अपराधमा जोडिन्छन् । ती नागरिकबाट न राज्यले केही पाउँछ न तिनका घरपरिवारले । कानुनले जुवातास र लंगुरगुज्जालाई निषेध गरेको छ । दशैंतिहार सकिसकेको छ ।
तैपनि जुवातास र लंगुरगुज्जा खेलाउने क्रम रोकिएको छैन् । सडक छेउछाउ लंगुरगुज्जा खेलाइरहेको देखिन्छ । जुवातास त छ्याप्छ्याप्ती खेलाएको होला । तर, कसको अनुगमन गर्ने ? पछिल्लो समय होटल–रेष्टुरेण्टले यौनधन्दा चलाइरहेको सुनिन्छ । बाहिर खाना, खाजा बेचेझैं गर्ने, भित्रचाँहि अर्कै धन्दा हुन्छ । कलिला केटीहरु पनि यस्तो धन्दामा संलग्न छन् । उनीहरु त भविष्य सकियो । सरकार अलिक कडा भएर समाजमा भएका यस्ता बेतिथि रोक्नतर्फ लाग्नुपर्यो । गृहमन्त्रीले जिल्लाका सिडियोहरुलाई अनुगमनका लागि निर्देश गर्नुपर्यो । किन कि यसले भविष्यमा मुलुकमा ठूलो संकट ल्याउने निश्चित छ । सरकारले न जनताको धनको सुरक्षा गर्न सक्यो न ज्यानको । यता, बालबालिकाको अधिकारको सुरक्षा गर्न पनि सरकार चुकेको छ । अभिभावक गलत बाटोमा जानेबित्तिकै त्यसको सीधा असर बालबालिकालाई पर्छ । उनीहरु कि बालश्रम गर्न पुग्छन् कि बेचिन्छन् । पछिल्लो समय धेरै बालबालिका हराइरहेको सुनिन्छ ।
यहाँ त अर्काको घरव्यवहार बिगारेर व्यापारीलाई कमाउनुपरेको छ । जिल्लाका सिडियो र प्रहरीहरुलाई त्यस्ता व्यापारीबाट हप्ता उठाउनुपरेको छ । अनि कसरी समाज सुधारको बाटोमा जान्छ ? सिडियो र प्रहरीहरु ऐनकानुनहरु दराजमा थन्काउँछन् र आफ्नो जिम्मेवारी पनि बिर्सिन्छन् ।
मेरो दायित्व के हो ? उनीहरु ख्याल गर्दैनन् । सरकारले के कानुन बनाएको छ ? कार्यान्वयनमा उनीहरुलाई चासो छैन् । उपत्यकाभित्रका होटल रेष्टुरेण्ट र भट्टी पसलमा छापा मार्ने हो भने घरेलु मदिरा छ्याप्छ्याप्ती भेटिन्छ । जुवातास कसले खेलाइरहेको छ ? यौन धन्दा कहाँकहाँ चलिरहेको छ ? खुल्छ । गलत काम गर्नेहरु कानुनको दायरामा आउँछन् । तर, कसले छापा हान्ने ? छापा हान्यो भने धेरैको कमाउने बाटो बन्द हुन्छ । सरकार भन्छ,‘सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थको बेचिबिखन र प्रयोग गर्न पाइँदैन् ।’ कसले टेर्ने ? कागजमा लेखेर मात्र भएन् कडा रुपमा कार्यान्वयन आवश्यक छ ।
सार्वजनिक स्थलमा चुरोटको धुँवा उडाइरहेको देखिन्छ । सार्वजनिक स्थलमा चुरोट, खैनी, गुट्खा बेचेको त यत्रतत्र देखिन्छ । तर, कारबाहीचाँहि गरिँदैन् । प्रहरीहरुले पैसाको लागि आफ्नो बर्दी बेच्छन् भन्ने त ललितपुरको घटनाले नै देखाइसकेको छ । ‘हनिट्रयाप’ जस्तो गम्भीर कसूरमा कमिशन खानेलाई कुन आधारमा प्रहरी भन्ने ? प्रहरी त नागरिकको धनजन, समाजमा शान्तिसुरक्षाका लागि राखिएको हो । तर, प्रायःजसो गलत ट्रयाकमा हिँडे । भट्टी पसल सञ्चालन गर्नेहरुले पनि राजनीतिक पार्टीको सदस्यता लिएका छन् । जुवातास खेलाउने पनि तिनकै कार्यकर्ता हुन् । केही समयअघि बहालवाला जनप्रतिनिधि नै जुवातास खेल्ने क्रममा समातिएका थिए ।
प्रहरीहरु नै जुवाखालबाट पक्राउ पर्छन् । आफ्नो पार्टीको भएपछि जनप्रतिनिधिहरु देखेर पनि अनदेखा गरिदिन्छन् । माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गरेपछि महिला, बालबच्चा पनि जोडिए । किन कि जुवातास खेल्नेलाई माओवादीले तासै खुवाउँथ्यो । रक्सी खानेलाई पनि कारबाही गर्थ्यो । त्यसैले महिला र बालबच्चाले माओवादीको अभियानलाई साथ दिएका हुन् । दैनिक घरमा झगडा कसले चाहन्छ ? बरु पानी खाएर पेट भरौला, आनन्द चाहियो । रक्सी खाने घरपरिवारमा कहिले खुशी आउँदैन् । तिनको सन्तान शिक्षाबाट समेत टाढिन्छन् । परिवार तहसनहस हुन्छ ।
माओवादीले सञ्चालन गरेको अभियानलाई सरकारले निरन्तरता दिन सकेन् । एउटा नागरिक गुम्दा राज्यलाई ठूलो नोक्सानी हुन्छ । तैपनि राज्यले लापरवाही देखाइरहेको छ । जनताले अकालमा ज्यान गुमाइरहेका छन्, सरकार आँखा चिम्लेर बसेको छ । यस्ता जनप्रतिनिधि पनि छन्, जो रक्सी खाएर नगरपालिका र वडा पुग्छन् । कर्मचारीहरु पनि ‘जडँयाहा’ छन् । राति खाएको रक्सीले बिहान कार्यालय खुल्दासम्म छोडेको हुँदैन् । यस्ता जनप्रतिनिधि र कर्मचारीबाट जनताले के आश राख्ने ? प्रधानमन्त्री जनताको अभिभावक हुन् । अभिभावकले सँधै आफ्नो सन्तानको भलो चाहन्छन् । तर, हाम्रो प्रधानमन्त्री किन जनताको भलो चिताइरहेका छैनन् ? भलो चिताएको भए समाजमा भएको यस्तो बेतिथिहरु रोक्न ‘एक्सन’ लिन्थें होला । राज्यले कर्मचारी, प्रहरी सबैलाई तलबभत्ता दिएको हुन्छ । चाडबाडमा पेश्की पनि दिएको हुन्छ । तैपनि व्यापारीबाट पैसा उठाउँछन् । हप्ता उठाउँछन् । चाडबाड आउनेबित्तिकै खर्च माग्न पुग्छन् । अनि कसरीचाँहि गलत गर्नेहरु कानुनको दायरामा आउँछन् ? कुनै देश र जनताको गीत गाएर लुट्छन् । कुनै हामी ‘राष्ट्रसेवक’ हो भनेर लुट्छन् । अनि त्यसको शिकार बन्छन्, सीधासाधी, अशिक्षित, गरिब जनता । देशमा बढ्दो बेरोजगारी, आर्थिक अवस्था कमजोर भएको कारणले जनताहरु गलत ट्रयाकमा गइरहेका छन् । तर, सरकारलाई मतलब छैन् । कसैले आफू कमाउनका लागि अरुलाई बर्बाद बनाइरहेका छन् ।
अनुसा थापा
भक्तपुर