neapl investment mega bank
  • गृहपृष्ठ
  • घरधनीको अत्याचारविरुद्ध एकजुट हुदैँ डेराबहाल, भाडा माग्दा भन्छन्, ‘बिल दिनुस् नभए वडा कार्यालय हिँड्नुस् ।’

घरधनीको अत्याचारविरुद्ध एकजुट हुदैँ डेराबहाल, भाडा माग्दा भन्छन्, ‘बिल दिनुस् नभए वडा कार्यालय हिँड्नुस् ।’

Nov 24th, 2024

काठमाडौं, मंसिर ९

अहिले भाडामा बस्नेहरुले घरधनीहरुलाई भन्न थालेका छन्, ‘हामीलाई बिल दिनुस् अनि मात्र भाडा तिछौं । नभए वडा कार्यालयमा हिँड्नुस् ।’ कोठा लिएर बस्दै आएकादेखि फ्ल्याट र सटर डेरामा लिई व्यापार व्यवसाय गर्दै आएकाहरुले घरधनीहरुलाई अहिले यस्तो भन्न शुरु गरेका छन् । सरकार भन्छ, ‘कुनै पनि वस्तु तथा सेवा खरिदपश्चात् अनिवार्य रुपमा बिल लिनु ।’ घरधनीहरुले एउटै सटरको ठाउँअनुसार २५ हजारदेखि १९ लाख रुपैयाँसम्म भाडा असुल्दै आएका छन् । खाली सटर २० लाखदेखि ६० लाखसम्म खरिदबिक्री गर्छन् । एउटा सानो अध्याँरो कोठाको ९ हजारदेखि २५ हजार र एक फ्ल्याटको ३० हजारदेखि तीन लाखसम्म असुल्छन् । बत्ती, पानी, फोहोर र इन्टरनेटको पैसा मनलाग्दी लिन्छन् । अनि सवारीसाधन राखेको पनि मासिक एक हजारदेखि पाँच हजारसम्म उठाउँछन् । यत्रो चर्को भाडा लिएपनि डेराबहाललाई कुनै पनि सेवासुविधा दिइदैँन । न कपडा सुकाउन छतमा जान दिइन्छ न पानी नै दिइन्छ । घरधनीहरुले एउटै घर भाडामा लगाएर महिनाको लाखदेखि करोडसम्म भाडा उठाउने गरेका छन् । तर, सरकारलाई घरबहाल कर तिर्दैनन् । कानूनअनुसार घरधनीहरुले मासिक रुपमा उठाउने भाडाको दश प्रतिशत कर राज्यलाई बुझाउनुपर्छ ।

तर, अहिले काठमाडौं उपत्यकासहित देशभरका घरधनीहरुले राज्यलाई राजस्व छलिरहेका छन् । उनीहरु राज्यलाई कर तिर्नुपर्छ भनेर आफ्नो घर महिनौंदेखि खाली रहेको, घरमा आफन्त सित्तैमा बसिरहेको दाबी गर्छन् । कतिपयले भने जनप्रतिनिधिलाई घुस दिएर पनि घरबहाल कर नतिरेको पाइन्छ । घरधनीहरुले डेराबहालसँग लिइरहेको भाडा सरकारले निर्धारण गरेको होइन । घरधनीहरुले आफुखुशी भाडा तोकिरहेका छन् वा असुलिरहेका छन् । घरधनीहरुको जिब्रोमा कोठा, सटर र फ्ल्याटको भाडा छ । अनि उनीहरुले मागेजति भाडा नतिर्नेबित्तिकै डेराबहाल निस्किनुपर्छ । घरधनीहरु महिनौंसम्म घर खाली राख्न तयार हुन्छन् तर सस्तोमा भाडा लगाउँदैनन् । घरधनीहरुको यो लुटधन्दा अहिले शुरु भएको होइन । उनीहरुले वर्षौदेखि डेराबहाललाई यसरी नै ठग्दै आएका छन् । घरधनीहरुको अत्याचार सहन नसकेपछि अहिले डेराबहालहरुले पनि बोल्न शुरु गरेका छन् । उनीहरु घरधनीहरुलाई कानूनको दायरामा ल्याउन एकजुट हुदैँ छन् । अहिले बाटोमा हिँड्दा अधिकांश घरधनी र डेराबहालबीच गाईगुई सुनिन्छ । घरधनीहरु भाडा मागिरहेका हुन्छन् भने डेराबहालहरु वडा कार्यालयमा जम भनिरहेका हुन्छन् । उनीहरु बिल नदिए वा वडा कार्यालय नगएसम्म भाडा तिर्दैनौं भनेर भन्छन् । अनि वडा कार्यालय जानेबित्तिकै आफुहरुले यत्रो वर्षदेखि छलिआएको राजस्व तिर्नुपर्ने डरले घरधनीहरु चुप बस्छन् ।

घरधनीहरुले घरलाई आफ्नो निजी सम्पत्ति बताउँदै आएका छन् । तर, त्यँही घर भाडामा लगाएर सोझासाझा जनतालाई ठग्छन्, राज्यलाई राजस्व छल्छन् । घर निजी सम्पत्ति तबसम्म रहन्छ, जबसम्म त्यहाँ घरधनी मात्र बस्छ । भाडामा लगाइँदैन । अनि भाडामा लगाएर असुल्नु असुल्ने अनि घर मेरो निजी सम्पत्ति हो भनेर भन्न पाइन्छ ? निजी सम्पत्ति भए किन भाडामा लगाइयो ? अब सरकारले पनि घरधनी बस्ने र भाडामा लगाउने घर छुट्याउनु पर्यो ? नभए यस्ता शोषक, सामान्तीहरुले निजी सम्पत्ति भन्दै जनता र राज्यलाई झनै ठग्ने छन् । त्यसो त अहिले डेराबहालमा बस्नेहरुको पनि आँखा खुल्न थालेको छ । भनिन्छ कि पाप धुरीबाट कराउँछ । भाडामा बस्नेहरुले खाईनखाई नभएर पनि घरधनीहरुलाई भाडा तिरे । आफ्ना बालबच्चाको इच्छा, चाहना, रहर मारेर घरधनीहरुले मागेजति भाडा खनखन्ती तिरे । घरधनीहरुले भनेजति भाडा महिनाअगावै तिरेपनि डेराबहालहरुले कहिल्यै सुख पाएनन् । कोठामा एक जना पाहुना आउनेबित्तिकै घरधनीहरु कराउन आइपुग्छन् । बत्ती, पानी केही नदिने अनि पैसा चाँहि नचलाए पनि दोब्बर–तेब्बर असुल्ने । घरधनीहरुले यो अन्याय डेराबहाल सहनु सहे । तर, अब उनीहरुले आवाज उठाउने थालेका छन्, घरधनीहरुको अत्याचारविरुद्ध ।
हाम्रो समाजमा भन्ने गरिन्छ कि अन्याय गर्नु तर अत्याचार नगर्नु । यस्तै भएको छ डेराबहालसँग पनि । उनीहरुले घरधनीहरुको अन्याय सहे तर अत्याचार सहने छैनन् । अहिले घरधनीहरु भाडा माग्न आइपुग्दा उनीहरु सिधैं भन्छन्, ‘हामी भाडा तिर्दैनौं । वडामा गए मात्रै तिछौं ।’ हिजो घरधनीबाट डेराबहाल डराएर बस्नुपर्ने अवस्था थियो तर अब डेराबहालबाट घरधनीहरु डराउन थालेका छन् ।

भाडामा बस्ने मानिसहरु पनि जनता नै हुन् । विडम्बना, सरकारले कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण गरेन । कुन घर भाडामा लगाउने ? कुन घर व्यापार व्यवसाय प्रयोजनका लागि दिने ? भनेर पनि घरको वर्गीकरण गरिएको छैन । घरधनीहरुले आफ्नो फाइदाका लागि जस्तोसुकै जोखिम घर भाडामा लगाएका छन् । भूकम्पले चर्किएका घर भाडामा लगाएका छन्, त्यो पनि चर्को भाडामा । यता, चिसो, अध्याँरो कोठा पनि महँगोमा भाडामा लगाइएको छ । यस्ता कोठामा बस्दा डेराबहालहरु विभिन्न दीर्घकालिन रोगको शिकार हुन पुगेका छन् । यहाँ तीन तहको सरकार छ । दुर्भाग्य तीनै तहको सरकार घरभाडा निर्धारण गर्दैन । कुन घर भाडामा लगाउने भनेर वर्गीकरण गर्दैनन् । यसले जनतालाई मात्र दुःख, कष्ट भइरहेको छैन, राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व समेत आएको छैन । सरकारले घरधनीहरुको हितका लागि मात्र काम गर्दै आएको छ । राज्यले डेरामा बस्ने मानिसलाई जनता नै सोचेन । त्यसैले, अब भाडामा बस्नेहरुले घरधनीहरुलाई भाडा तिर्नु हुदैँन । राज्यलाई पनि राजस्व तिर्नुहुन्न । यसो गरेपछि सरकार बाध्य हुने छ, घर भाडा निर्धारण गर्न । अब जनता आफैं आफ्नो हकअधिकारका लागि लड्नुपर्छ । किनकि यहाँ मागेर केही पाइदैँन, लड्नैपर्छ । जबसम्म हामी जनता लड्दैनौं, तबसम्म न घरधनीहरुको अत्याचारको अन्त्य हुन्छ न सरकारले नै डेराबहालको आवाज सुन्छ । त्यसकारण अब आम नागरिकले घरधनीहरुविरुद्ध आवाज उठाउनैपर्छ । यस्ता शोषक, सामान्तीहरुलाई कानूनको दायरामा ल्याउनुपर्छ । यीनीहरुले हामी डेराबहाललाई लुटेको पैसाबाट राज्यको ढुकुटी भर्नुपर्छ । राज्यले त केही गरेन, तर आफ्नो हकअधिकारका लागि आफैं लडौं ।

हामी भाडामा बस्ने नागरिक घरधनीहरुको दासी होइनौं । यसैले, अब घरधनीहरुको विरोधमा एकजुट हौं । राज्यलाई पनि कानून बनाउन बाध्य बनाऔं । अर्थमन्त्री विष्णु पौडेल भन्छन्, ‘राजस्व उठेन ।’ सरकारले घरभाडा निर्धारण गरिदिने मात्र हो भने राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्ने छ । अहिले घरधनी आफैंले आफ्नो घरमा सञ्चालित व्यापार व्यवसाय दर्ता हुन दिएका छैनन् । कर तिर्नुपर्छ भनेर ।
त्यसकारण सरकारले अब घर र व्यापार व्यवसाय दुवैलाई अनिवार्य रुपमा दर्ता हुनुपर्ने र नवीकरण तथा पञ्जीकरण गर्नुपर्ने कानून बनाई कडाईका साथ कार्यान्वयन गर्नुपर्छ । यति मात्र गरेमा राज्यको ढुकुटी राजस्वले भरिने छ । राज्य बनाउने भनेको पनि जनता नै हुन् । त्यसैले, अब जनताले आफ्नो हकअधिकारका लागि लडौं ।
रुषा थापा
भक्तपुर