ललितपुर, कार्तिक २१
तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने भएको छ ।
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको हो ।
यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।
मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।
कार्तिक नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले केही विधा थपेर यसलाई १५ दिन पुर्याएका थिए । अहिले आर्थिक अभावमा कार्तिक नाचलाई १० दिनमा सीमित गरिएको छ ।