काठमाडौं, कार्तिक १८
‘लोपले लाभ, लाभले विलाप’ भनेझैं मानिसहरुले धेरै नाफा कमाउन आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । अधिकांशले बढी ब्याजको प्रलोभनमा सहकारीमा रकम जम्मा गरे । तर, यो वर्ष उनीहरुका लागि दशैं र तिहार दुवै खल्लो हुन पुगेको छ । बचतकर्ताको निक्षेप हिनामिना गरेपछि सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु जेल पुगे । उनीहरुले घरपरिवारसँग बसेर दशैं मनाउन पाएनन् । हुन त उनीहरुले छिट्टै नाफा कमाउन निक्षेपकर्ताको बचत सबै घरजग्गा, गाडी र सेयरमा लगानी गरेका थिए । तर, कोरोना महामारीपश्चात् आएको मन्दीका कारण यी क्षेत्र सुस्तायो । जसको असर सहकारीमा देखिएको हो । घरजग्गा, गाडी र सेयरमा मन्दी आएपछि सहकारीहरु रातारात भाग्नुपरेको छ । सहकारीका कारण करोडौं बचतकर्ताको बिजोग भएको छ । सहकारी सञ्चालकहरु पनि जेल पुग्नु परेको छ । सहकारीका कारण धेरै बचतकर्ताको घरपरिवार समेत लथालिंग हुन पुग्यो । बचतकै विषयलाई लिएर श्रीमान–श्रीमती, अभिभावक–सन्ततिबीच झैझगडा हुँदा सँगै बसेर दशैं मनाउन पाएनन् ।
अब तिहार पनि सँगै मनाउन नपाउने भएका छन् । किनकि सहकारीले बचत खाइदिँदा अधिकांश डिप्रेसनमा गएका छन् । कतिपयले मानसिक सन्तुलन समेत गुमााएका छन् भने कतिपयको त सहन नसकेर ज्यानै पनि गयो ।
सहकारीले करोडपतिबाट सडकछाप मनाएपछि मानिसहरुले न दशैं मनाउन पाए न तिहार । अहिले त बैंकका बचतकर्ता पनि चिन्तित छन् । बचत डुब्ने चिन्ताले उनीहरुलाई दिनरात सताउने गरेको छ । कतै सहकारी पनि बैंकजसरी भाग्ने त होइन भनेर उनीहरुलाई डर हुने गरेको छ । यता, दशैंमा पनि हजारौं नेपाली युवाहरु रोजगारीका लागि विदेशिए । यसले गर्दा उनीहरुको त दशैं खल्लो भयो नै सँगै तिहार पनि मनाउन नपाउने भए । देशमा रोजगारी छैन । दिनहुँ हजारौं नेपाली युवाहरु रोजगारीका लागि खाडी मुलुक जानु परिरहेको छ ।
शिक्षाका लागि विदेशिने क्रम पनि बढ्दो छ । अहिले त प्लस टु सकिनेबित्तिकै अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायत विकसित मुलुकमा लाखौं खर्चिएर पढ्नका लागि जाने गरिन्छ । पढ्ने नाममा वर्षेनी अर्बौ रकम मुलुकबाट बाहिरिरहेको अवस्था छ । छोराछोरा विदेश पलायन भएपछि अभिभावकले दशैं मनाउन पाएनन् भने दाजुभाई वा दिदीबहिनी विदेशिँदा पनि धेरै तिहार मनाउनबाट वञ्चित हुने भएका छन् । सरकारलाई कर चाहिएको छ । कर वा रेमिट्यान्सकै लागि सरकार नेपाली जनतालाई विदेशमा बेचिरहेको छ । करकै लागि खेतीयोग्य जमिन पनि प्लाटिङ गर्न दिइयो । दलाली तथा भूमाफियाहरुले रोपनीको हजारौं रुपैयाँमा किनेर खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचे । सेयर र गाडी पनि यस्तै हो । बैंकले एक सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३२ सय पुर्याए । त्यति महँगो मूल्यमा सेयर किन्ने सर्वसाधारण आज चुलुम्र्मै भएका छन् । भारतमा एक लाखमा पाइने गाडी यहाँका अटो शोरुमहरुले तीन लाखदेखि करोडौंमा बेचबिखन गरेका छन् ।
बैंक वा व्यक्तिबाट ऋण लिईलिई गाडी किनेका ती सर्वसाधारण पनि नराम्ररी डुबेका छन् । सरकार जनताको मतलब गर्दैन । सरकारलाई कर उठाउन पाए पुग्यो । त्यो चाहे ठगेर तिरियोस् या लुटेर । गाउँका जनता आफ्नो खेतबारी बाँझो राखेर सहर छिरे । यहाँ जोकोहीलाई छिटो कमाउनु छ । चिल्ला गाडी किन्नु छ । दरबारजस्तो घर बनाउनु छ । साधारण व्यक्तिले त जीवनभर जागिर गरेकै रकमले मात्र घरजग्गा, गाडी किन्न सक्दैन । त्यसैले, उनीहरुले आफ्नो सपना पुरा गर्न मानवता नै बिर्सेर लुट्ने, ठग्ने काम गरे । सहकारीले करोडौं बचतकर्तालाई ठग्यो । लघुवित्त, फाइनान्सले पनि लुट्नु लुटेको छ । पछिल्लो समय त घरधनीहरुको पनि लुटधन्दा मौलाएको छ । शहर छिरेका मानिसहरुको मजबुरीको फाइदा उठाएर घरधनीहरुले मनलाग्दी भाडा असुलेका छन् । एउटा सानो अध्याँरो कोठाको पाँच हजारदेखि २० हजारसम्म असुलेका छन् । एक फ्ल्याटको ३० हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि १९ लाख रुपैयाँसम्म मासिक रुपमा भाडा उठाउँछन् । खाली सटर त २० लाखदेखि ५०–६० लाखमा बेचबिखन गर्छन् ।
आफ्नो स्वार्थ पुरा गर्न मानिसहरुले इमान्दारिता त बिर्सिए नै सँगै सरकारको ऐन, कानून पनि मानेनन् । जसका परिमाण अहिले उनीहरुले जेल जीवन बिताएर भुक्तानी गरिरहनु परेको छ । कतिपयको ज्यानै गयो भने अधिकांश देश छोड्न वा लुकिछिपि हिँड्न बाध्य भएका छन् । करोडौं नेपाली युवाहरु पैसा कमाउने लोपमा विदेशिएका छन् । त्यहाँ काम गरेर वा कर तिरेर उनीहरुले ती देशकै विकास गरेका छन् । कोही विदेश वा स्वदेशमै दिनरात रगतपसिना बगाएर काम गर्दा पनि आफ्नो परिवार पाल्न सक्दैनन् भने कोही कामै नगरी अर्बौको सम्पत्तिको मालिक छन् ।
सरकार कुन नागरिकले कसरी सम्पत्ति आयआर्जन गर्यो ? भनेर खोजतलास गर्दैन । हरेक नागरिकको सम्पत्ति छानबिन हुनुपर्छ । कसले कसरी सम्पत्ति आयआर्जन गर्यो भनेर सरकारलाई थाहा हुन जरुरी छ । तर, सरकारलाई यसतर्फ केही चासो छैन । सरकार भनेको राज्य र नागरिक दुवैको संरक्षक हो । आफ्ना नागरिकका बारेमा सरकार चनाखो हुनुपर्छ । विडम्बना, हाम्रोमा सरकारलाई नागरिकको केही मतलब छैन । आफ्नै नागरिकका बारेमा समेत सरकारलाई केही थाहा छैन । अनि योभन्दा दुर्भाग्यको कुरा के हुन सक्छ ?
२०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ छ । गत कात्तिक १४ गते सुन तोलामै एक हजार ७० हजार सात सय रुपैयाँ पुग्यो । नौं दशकअघि मुलुकको जनसंख्या ९३ लाख थियो । त्यतिबेला नेपालको भूभाग धेरै थियो । अहिले नेपालको अधिकांश भूभाग चीन र भारतले कब्जा गरिसकेको छ ।
०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ पुगेको छ । अहिले अधिकांश नेपाली हामी धनी छौं भन्छन् । देश ऋणमा डुबिसक्यो अनि जनता मात्र धनी भएर के गर्नु ? चार दशकअघि नेपालले विदेशबाट कुनै पनि वस्तु आयात गर्दैन्थ्यो । विदेशी ऋण पनि एक रुपैयाँ थिएन ।
तर, अहिले नुनदेखि सुनसम्म विदेशबाट आयात गरिन्छ । विदेशी ऋण पनि २७ खर्ब पुगिसक्यो । यदि विदेशीले खाद्यान्न निर्यातमा रोक लगाइदिए हामी नेपाली जनता भोकभोकै मर्नुपर्ने छ । पहिला घर ढुंगा, माटोको हुन्थो । खरको छानो हुन्थ्यो । हरेक घरमा आँगन हुन्थ्यो । पिँढी पनि हुन्थ्यो भने गाईवस्तु पाल्ने गोठ हुन्थ्यो । विडम्बना, अहिले गाउँमा समेत यस्तो घर भेटिन गाह्रो पर्छ । अचेल सिमेण्टीका घर हुन्छन् । एक–दुई आना जग्गामा घर बनाइन्छ । घर त हुन्छ तर बस्नलाई खुल्ला ठाउँ नै हुदैँन । दशकअघि एउटै व्यक्तिको दश रोपनीदेखि सयौं रोपनी जग्गा हुन्थ्यो । त्यत्रो सम्पत्ति हुँदा पनि मानिसमा घमण्ड थिएन । सबैभन्दा महत्त्वपूर्ण कुरा मानवता थियो । तर, अहिले लोभ गर्दा गर्दै मानिसमा मानवता समेत हराएको छ । यहाँ मानिसले मानिसलाई ठग्ने प्रवृत्ति मौलाएको छ । दुःखीलाई सहयोग होइन, कसरी ठग्ने वा फाइदा उठाउने भनेर अचेल सोचिन्छ । उता, घर त बनाइएको छ तर ऋण लिएर । घर आफ्नो भन्छन् । यद्यपि, बैंकको नाममा हुन्छ । अनि ऋण तिर्न नसकेपछि कि आत्महत्या गर्छन् कि भाग्छन् ।
दलालीहरुले देशै डुबाए । सर्वसाधारणको घरपरिवार लथालिंग बनाए । दलालीकै कारण जनता घर न घाटको भए भने देश पनि नाजुक अवस्थामा पुगेको छ । दलालीले गर्दा कोही भाग्नुपर्यो त कोही जेल जानुपर्यो । जसले गर्दा धेरै आफ्नो परिवारसँग बसेर दशैं, तिहार मनाउनबाट वञ्चित भए ।
रुषा थापा
भक्तपुर