काठमाडौं, असाेज २८
चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याएका छन् ।
धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताए ।
कतिपयमा डेङ्गीले जटिलता ल्याउन सक्ने भन्दै सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्ने उनको भनाइ छ ।
डेङ्गुबाट बच्ने उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको प्रमुख चिकित्सक प्रधानले बताए । डेङ्गु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनले बताए ।