neapl investment mega bank
  • गृहपृष्ठ
  • अधिकांशको दशैँ खल्लो, लगानी डुबेपछि रुवाबासी

अधिकांशको दशैँ खल्लो, लगानी डुबेपछि रुवाबासी

Oct 13th, 2024

काठमाडौं, असाेज २७

यसपालिको दशैँ धेरैका लागि खल्लो भयो । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु चुलुम्मै डबेपछि दशैँ समेत मान्न सकेनन् । बाढीपहिरोले घर नै बगाएपछि धेरैले दशैँ मनाउन पाएनन् । त्यस्तै, सहकारी, लघुवित्त, फाइनान्समा निक्षेप जम्मा गरेका बचतकर्ताहरुको पनि दशैँ खल्लो भयो । उनीहरुले दशैँ मनाउन सकेनन् । उल्टै रुवाबासी भयो । गरेको लगानी डुबेपछि कसरी दशैँ मनाउनु ? सरकारले करका निम्ति घरजग्गा खरिदबिक्री तथा जग्गा प्लाटिङ गर्न दियो । करकै लागि सेयर किनबेच गर्न दियो । र, करकै लागि गाडी आयात र बेचबिखन गर्न दियो । सरकार कर उठाउन मात्र लागिपर्दा अहिले सर्वसाधारणको लगानी बालुवामा पानी भएको छ । करोडौं सर्वसाधारणको रुवाबासी चलेको छ । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर अर्थमन्त्री विष्णु पौडेलको मिलेमतोमा ३१ सय पुर्याइयो । त्यति महँगोमा किनेको सेयर अहिले सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ । सेयरमा एक–दुई जनाको मात्र लगानी छैन । लाखौं लाख सर्वसाधारणको लगानी छ । अझ सरकारी तथ्यांकअनुसार सेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ ।
कसैले पाँच हजार लगानी गरेका छन् त कसैले अर्ब । तर, यी लगानीकर्ता पानी समेत पिउन नपाई डुबे । सेयरमा गरेको लगानी डुब्दा कतिपय लगानीकर्ता त डिप्रेसनमै गएका छन् । उनीहरुको होश आवाज नै उडेको छ । जग्गा दलालीहरुले रोपनीको दश हजार नपर्ने खेतीयोग्य जमिन टुक्राटुक्रा बनाएर आनाकै ६०–७० लाखमा बेचिदिए ।

आज त्यो जग्गा किन्नेहरु नराम्ररी डुबेका छन् । बैंकबाट ऋण लिईलिई महँगोमा जग्गा किनेकाहरुलाई अहिले त्यो निल्नु कि ओकाल्नु भएको छ । उता, भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँका अटो शोरुमहरुले नेपाल आयात गरी एउटै गाडी पाँच लाखदेखि करोडौंमा बेचिदिए । सहकारी, लघुवित्त तथा फाइनान्सहरुले पनि करोडौं बचतकर्ताको खर्बौ रकम पचाइदिएको छ । यति मात्र नभई पछिल्लो समय बैंकमा समेत बचतकर्ताको रकम खाताबाटै गायब भएका थुप्रै घटना छन् । जसका कारण बैंकप्रति पनि अविश्वास बढ्दो छ । घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् भनेर प्रमाणित नै भइसकेको छ । यसैले, यी क्षेत्रमा लगानी गर्नु मुर्खता हो । अहिले सुनिन्छ, चार वर्षअघि चार करोड भनिएको घर अहिले त्यसको आधा मूल्यमा समेत किन्ने मान्छे भेटिदैंन ।
घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने बैंक तथा वित्तिय संस्था र व्यक्ति दुवै डुबिसकेका छन् । किनकि यसको कृत्रिम रुपमा मूल्य बढाइएको थियो । दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढाएका थिए । अनि कृत्रिम रुपमा बढाइएको मूल्य कसरी धेरै समय टिक्न सक्छ ? एक न एक दिन त यो पहिलाकै मूल्यमा आउनु नै थियो । सहकारी, लघुवित्त र फाइनान्सको पनि लगानी घरजग्गा, गाडी र सेयरमै थियो । यद्यपि, आज यी संघसंस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भाग्नुपरेको छ । समाजमा मुख देखाएर हिँड्न सक्दैंनन्, यीनीहरु । केही वर्षअघिसम्म सहकारीको सञ्चालन हुँ भनेर गर्वका साथ भन्नेहरु अहिले एउटा कुनामा गएर लुक्नु परेको छ । कोट, सर्ट अनि पेन्ट लगाएर चिल्लो गाडी चढ्ने सहकारी सञ्चालकहरु अहिले मुखमा मास्क लगाएर कसैले चिन्ला कि भनेर लुकिछिपि हिँड्नु परेको छ । सहकारी डुब्नुको मूख्य कारण घरजग्गा, गाडी र सेयर नै हो । घुस र बढी नाफा कमाउने लोभमा आँखा चिम्लेर सहकारीहरुले घरजग्गा, गाडी र सेयरमा जथाभावी कर्जा प्रवाह गर्दा डुबेका हुन् ।

अब बैंकको पालो आएको छ । कहिले सासुको पालो त कहिले बुहारीको पालो भनेझैं सहकारीपछि डुब्ने पालो बैंकको आएको छ । किनकि बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । अहिले एउटा सीधा मान्छेले पनि बैंक डुबेको थाहा पाउँछ । यसैले यो पटक दशैँमा व्यापार गरेर कमाएको धेरेथोर रकम पनि व्यापारीहरुले बैंकमा राखेनन् ।
केही वर्षयता बजारमा व्यापक मन्दी छ । अब झन् यसले विकराल रुप लिने बताइन्छ । बजार सुनसान छ । दशैँमा व्यापार हुने आशा गरेका व्यापारीहरु पनि निराशा हुनु परेको छ । उनीहरु अब व्यापार व्यवसायबाटै पलायन हुने सोचविचारमा छन् । यति मात्र नभई दशैँअघि नै मालपोत, यातायात कार्यालयहरु सुनसान थियो । दशैँ सकिएपछि पनि घरजग्गा, गाडी र सेयर कारोबारमा बढोत्तरी नआउने बताइन्छ । मानिसहरुले नाफा हुने आशामा यो क्षेत्रमा लगानी गरेका थिए । कतिपय भने व्यापार व्यवसायतिर आकर्षित भए अनि बैंक तथा साथीभाई, आफन्तबाट ऋण लिएर लगानी गरे । तर, कसलाई के थाहा थियो र यसरी डुबिन्छ भनेर । घरजग्गा, गाडी, सेयर र व्यापार व्यवसायमा मानिसहरुको लगानी मात्र डुबेको छैन । लगानी डुब्दा पारिवारिक सम्बन्धमा दरार आएको छ । आफन्तहरु टाढिएका छन् । साथीभाइसँग बोलचाल बन्द भएको छ । हुन त पैसा सबथोक हो भनिन्छ । सायद हो सत्य हो । किनकि पैसाकै कारण मानिसको जीवनमा नकारात्मक र सकारात्मक दुवै प्रभाव पर्छ ।
पैसा हुनुञ्जेल आफन्त पनि नजिकिन्छन् अनि पैसा नभएपछि आमाबुबा पनि टाढिन्छन् । त्यस्तै, अहिले घरजग्गा, गाडी, सेयर खरिद तथा व्यापार व्यवसाय सञ्चालनमा लागि आफन्त, साथीभाइसँग ऋण लिएकाहरु तनावमा छन् । वर्षौदेखिको सम्बन्ध पनि अहिले ऋण तिर्न नसकेपछि टुट्न लागेको छ ।

योसँगै पछिल्लो समय काठमाडौं उपत्यकासहित देशैभर कोठा, सटर र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । घर खाली हुन थालेसँगै घरधनीहरु चिन्तित हुन थालेका छन् । यद्यपि, उनीहरु भाडा बटाउन भने तयार छैनन् । यो दशैँमा पनि बजार चलायमान भएन । व्यापारीहरु निराश हुनुपर्यो भने सर्वसाधारणसँग किनमेल गर्न पैसा भएन । यता, पैसा भएकाहरुले लुकाए । बजारमा पाँच सय र हजारको नोट कमै मात्र देखिन थालेको छ । किनकि, पैसा भएकाहरुले घरमै पैसा लुकाएका छन् । अब झन् झन् बजार खस्किन्छ र झन् झन् बजारमा मन्दी हुन्छ भनेर पनि आम नागरिकले बुझिसकेका छन् । सहकारी, लघुवित्त र फाइनान्स त भागे अब भाग्ने पालो बैंकको भनेर पनि जनताले थाहा पाइसके । प्रधानमन्त्री केपीशर्मा ओली भन्छन्, ‘मुलुकको अर्थतन्त्र ठिकठाक छ ।’ तर, बजारमा के भइरहेको छ भनेर उनलाई केही पनि थाहा छैन । उनी जनतालाई अल्मलाउने मात्र काम गरिरहेका छन् । नेपालको वैदेशिक ऋण २७ खर्ब पुगिसक्यो । यो ऋण कसरी तिर्ने भनेर प्रधानमन्त्रीसँग केही जवाफ छ त ? यता, राजस्व उठ्न छोडिसक्यो भने खर्च भने बढ्दो छ । सरकारमा बसेकाहरुलाई राजस्व कसरी उठाउने भनेर कुनै चासो छैन । चासो छ त सत्ता जोगाउने मात्र । सरकारको पछिल्लो कामप्रति जनता सन्तृष्ट छैनन् । यसले एमाले त सकियो नै तर काँग्रेस पनि सति जाने भयो । किनकि काँग्रेसले देश र जनताका लागि केही पनि काम गर्न नसक्ने व्यक्तित्वलाई प्रधानमन्त्रीजस्तो पदमा राखिदियो ।
रुषा थापा
भक्तपुर