neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आफूखुशी नेपाली नागरिकता त्यागेर विदेशी बनेकाहरु नेपाललाई लुट्दै, सरकार टुलुटुलु रमिता हेर्दै !

आफूखुशी नेपाली नागरिकता त्यागेर विदेशी बनेकाहरु नेपाललाई लुट्दै, सरकार टुलुटुलु रमिता हेर्दै !

Sep 30th, 2024

काठमाडौं, असाेज १४

हामी विदेश किन जान्छौं ? विदेशीहरु नेपाल किन आउँछन् ? अवश्य पनि घुम्न, नयाँ कुरा हेर्नका लागि । प्रायःजसो मुलुकले पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बनाएका छन् । नेपाली संस्कृति, सम्पदा हेर्न विभिन्न मुलुकबाट विदेशीहरु आउँछन् । सम्पदा क्षेत्रमा भ्रमण गर्न जान उनीहरुले सेवाशुल्क तिर्छन् । नेपालीहरु विभिन्न मुलुक पुगेका छन् । रोजगारी र शिक्षाका लागि हजारौं नेपाली अमेरिका, अष्ट्रेलिया, युरोप, क्यानडालगायतका मुलुकमा छन् । विकसित मुलुकमा रहेका नेपालीहरुले यहाँको नागरिकता त्याग्छन्, त्यहीको नागरिकता लिन्छन् । नेपाली नागरिकता त्यागेपछि उनीहरु विदेशी नै भए । उनीहरु केही दिन या महिनाको भिसा लगाएर नेपाल आउँछन् । विभिन्न सम्पदास्थल भ्रमणमा जान्छन् । विदेशी नागरिक भइसकेका उनीहरुबाट सेवाशुल्क किन नलिने ? नेपाली अनुहार छ, नेपाली बोल्न जानेको छ भन्दैमा किन छुट ? आफ्नो मर्जीले नेपाली नागरिकता त्यागेकाहरुले अन्य विदेशीझैं सरकारलाई राजश्व तिर्नुपर्ने हो ।

तर, यहाँ आएर पनि राजश्व छल्छन् । आवश्यक पर्यो भने पुरानो नागरिकता देखाइदिन्छन्, सकियो । नेपाली नागरिकता त्यागिसकेकालाई नेपालको संविधानले चिन्दैन् । उनीहरुले नागरिकता खारेजीका लागि सिडियो कार्यालयमा दिएको निवेदनमा तोक लगाएर गृह मन्त्रालय पुगेपछि नागरिकता खारेज गरिन्छ । नागरिकता खारेज गरेको पत्र दिएपछि अर्को मुलुकले त्यहाँको नागरिकता दिन्छ । नेपालमा जन्मिने, पढ्ने, हुर्किने अनि विदेश लाग्ने । विदेश जाँदा यहाँको लाखौं रुपैयाँ लैजाने । त्यहाँ गएर काम गर्ने, अर्काको देशलाई समृद्द बनाउने । नेपाली नागरिकता त्याग्ने, नेपाल आउँदा भिजिट भिसा लगाएर आउने अनि विभिन्न जिल्लामा घुम्न जाँदा म नेपाली भन्ने ? राजश्व छल्नकै लागि नेपाली हो भनिदिने ? तिनीहरुलाई लाज लाग्नुपर्ने हो । पैसा तिर्न नपरोस् भनेर आफूलाई नेपाली बताइदिने । नेपाली कानुनले नचिन्ने व्यक्ति कसरी नेपाली ? झुठ बोल्ने पनि एउटा हद हुन्छ । जुन दिन उनीहरुले नेपाली नागरिकता खारेजीको निवेदन दिन्छन्, त्यस दिनदेखि उनीहरुको नेपाली भन्ने अधिकार खोसिन्छ ।
नेपालमा उनीहरुको कुनै हैसियत नै हुँदैन् । नेपालीहरु यस्ता छन् कि, नागरिकता चाँहिदैन् तर सम्पत्ति चाहिन्छ । आफ्नो बाउबाजेको सम्पत्ति बेचेर आफू नागरिक बनेको देशमा लगेर घर किन्छन् । त्यहाँ बसेर नेपाललाई गाली गर्छन् । नेपाल फोहोर देश हो । नेपाल विकासमा पछाडि पर्यो ।

त्यहाँको राजनीतिक दल कामै छैन् । त्यहाँ बसेको भए हाम्रो सन्तानको भविष्य सकिन्थ्योसम्म भन्छन् । त्यस्ता मान्छे यहाँ किन आउनुपर्यो ? संयुक्त राष्ट्र संघका ७९ औं महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँका नागरिकले कालो झण्डा देखाए । उनीहरुले कालो झण्डा देखाउन मिल्छ ? के हैसियतले उनीहरुले कालो झण्डा देखाए ? उनीहरु को हुन् ? आफू केही नसक्ने, परिस्थितिबाट भाग्ने, सुःखसयलको लागि नागरिकता त्याग्ने अनि यहाँको प्रधानमन्त्रीले केही गरेन् भनेर कालो झण्डा देखाउने ? नेपालको प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन नेपाली जनता बाँकी छन् । उनको विरोध नै गर्न परेछ भनेपनि नेपालीले गर्छन् । विदेशीलाई नेपालको प्रधानमन्त्रीको विरोध जनाइरहन कुनै आवश्यकता छैन् । आँट हुने मान्छे मैदानमा उत्रिन्छ, नाकि विदेश भाग्छ । परिवर्तन त आफूबाट हुने हो । आफू परिवर्तन गर्न नखोज्ने अनि आरोप मात्र लगाउने ।
उद्योग व्यवसाय सञ्चालन गर्ने, राजश्व नतिर्ने । सरकारी जागिर खाने, भ्रष्टाचार गर्ने । सरकारी जग्गा, गुठीका जग्गा दर्ता गरेर व्यक्तिगत सम्पत्ति जोड्ने । अनि सन्तान लाखौं रुपैयाँ खर्च गरेर विदेश पठाउने । बाउआमाले गलत काम गरेर कमाएको पैसामा विदेश पुगेकाहरु त्यहाँ बसेर नेपाललाई गाली गर्ने ।

नेताहरु यस्ता–उस्ता भन्ने । आफू कसरी त्यहाँसम्म पुगे ? बाउआमाले त्यत्रो पैसा कसरी ल्याए ? पहिले त्यसको मूल्याङ्कन गरौं । नेपाल स्वाहा पारेर विदेश पुग्ने अनि धाक देखाउने धेरै छन् । पछिल्लो समय विकसित मुलुक कालो धनलाई सेतो धन बनाउने ठाउँ बनेको छ । छोराछोरी विदेश पठाउने अनि भ्रष्टाचार गरेको पैसा उनीहरुले कमाएर पठाएको भन्ने । खाडी मुलुकमा गएकाको देशमा धेरै योगदान छ । विकसित मुलुक गएकाले त झन् नेपाललाई खोक्रो बनाएका छन् । खाडी मुलुक छिरेकाहरुले त्यहाँ रोजगार गर्छन् । दिनरात नभनिकन काम गर्छन् । रेमिट्यान्स पठाउँछन् । त्यही पैसाले नेपालको अर्थतन्त्र चलिरहेको छ । उनीहरु फर्किन्छन् पनि । केही वर्ष काम गरेपछि नेपाल फर्किएर यतै काममा लाग्छन् । आफ्नो परिवार पाल्छन् । तर, विकसित मुलुक पुगेकाहरुले कमाएर पठाउनु त परको कुरा यहाँ भएको पनि बेचेर लैजान्छन् । तिनीहरुको बुवाआमाले अन्तिम समयमा हेर्ने कोही पनि हुँदैन् । विकसित मुलुक पुगेकाहरुले गएपछि मात्र होइन्, फर्किएपछि पनि नेपाललाई खोक्रो बनाउँदो रहेछन् भन्ने त पुष्टि भइसकेको छ । उदाहरण त सबैको आँखासामुन्ने नै छ, रवि लामिछाने । २०५८ सालमै अमेरिका पुगेका उनी २०७१ सालमा फर्किए । देशमा राजनीतिक परिवर्तनका लागि लडाइँ चलिरहँदा अमेरिका पुगेका उनले उतैको नागरिकता लिए ।
पछि भिजिट भिसामा आएका उनले कानुनलाई नै चुनौती दिने कामहरु गरे । उनी नेपाल फर्किएपछि दुई जनाको ज्यान गयो । पत्रकार शालिकग्राम पुडासैनी र उनका ड्राइभर मरे । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पटकपटक चुनाव गराउनुपर्ने भएको छ । दुईचोटि चुनाव गराइसक्यो, अब फेरि चुनाव गर्नुपर्ने देखिएको छ ।

पटकपटक चुनाव जनताले तिरेको कर स्वाहा भएको छ । त्योभन्दा पनि ठूलोः लाखौं बचतकर्ताको करोडौं रुपैयाँ झ्वाम्म पारिदिए । राजनीति परिवर्तनमा रविको कुनैपनि योगदान थिएन् । तर, उनलाई नै जिताए । देशको नागरिकता त्यागिसकेको व्यक्तिलाई देशको माया हुन्छ ? विडम्बना, यो कुरा चितवनका जनताले बुझेनन् । जसको नोक्सानी लाखौंले भोग्नुपरेको छ । विकसित देश छिरेकाहरुको दाउ नै नेपाल खोक्रो बनाउनु हो । आफू त देश कंगाल बनाउँछन् नै, अरुलाई पनि प्रोत्साहन गर्छन् । नेपाल छोड, त्यहाँ बसेर के गर्छौं, यहाँ आओ भन्ने, यही केही गर्छु भन्ने सोच भएकालाई पनि निरुत्साहन गर्ने । एउटा उखान छ,‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुलाई पनि बनाउन दिँदैन् ।’ तिनीहरु त्यस्तै हुन्छन् । आफू त केही गर्न सक्दैन्, अनि अरुलाई पनि निरुत्साहन गर्छन् । पछिल्लो समय छोराछोरी अमेरिका, अष्ट्रेलिया भएकाहरुको धाक एकदमै धेरै छ । मेरो छोराछोरी यहाँ छ, यति कमाइ छ भन्छन् । अनि चार हजार भत्ता लिनचाँहि वडा पुग्छन् । पेन्सन लिन बैंकमा जान्छन् । घरभाडामा लाउने, घरबहाल कर नतिर्ने । छोराछोरी पनि राज्यलाई ठग्ने, बाउआमा पनि ठग्ने । अरुले तपाईं भनोस्–नभनोस्, आफैं मपाईं भन्नेहरुलाई किन चाहियो भत्ता ? छोराछोरीले कमाएकै होलान् त ।

यहाँ जम्मै देशलाई केही नदिने, थुत्ने मात्रै भए । एउटा भारी बोक्नेले दिनभर भारी बोक्छ, राज्यलाई कर तिर्छ, आफ्नो पेट पोल्छ । देशप्रति त भारी बोक्नेहरु इमान्दार छन् । नेपालको बद्नाम त गर्दैनन् । जस्तो भएपनि मेरो देश हो भन्छन् । देशप्रति गर्व गर्छन् । भोलि देशमा केही संकट आयो भने उनीहरु सडकमा आउँछन् । त्यो अष्ट्रेलिया, अमेरिकामा बसेकाहरु हामीलाई किन चाहियो ? न हिजो हामीलाई उनीहरु चाहियो, न भोलि चाहिन्छ । यहाँ जति छन्, अप्ठेरो घडीमा उनीहरुले नै गर्छन् । त्यसैले बाहिर बसेर नेपालको कुरा काटिरहन कसैलाई आवश्यकता छैन् । छोराछोरी अमेरिका, अष्ट्रेलिया भएकाका बाउआमालाई भत्ता पनि नदिऔं, पेन्सन पनि नदिऔं । महिनाको लाखौं रुपैयाँ कमाउनेका बाउआमालाई किन भत्ता र पेन्सन दिइरहनुपर्यो ? नागरिकता त्यागेकाले यहाँबाट सम्पत्ति लैजान नपाउने कानुन बनाऔं । नागरिकता नचाहिनेलाई सम्पत्तिको चाँहि लोभ !

अनुसा थापा
भक्तपुर

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi