काठमाडौं, असाेज ५
भनिन्छ नि,‘झुठ टिक्दैन्, सत्य ढग्दैन् ।’ झुठको खेती कुनै न कुनै दिन बाहिर आउँछ नै । पत्रकार शालिकग्राम पुडासैनीले आत्महत्या गर्नुअगाडि एउटा भिडियो बनाएर रवि लामिछानेको असली अनुहार राज्य र जनताको सामुन्ने ल्याइदिएका थिए । पत्रकारका नाममा रविले गरेका कर्तुतहरु, उनलाई मर्न बाध्य बनाइएका विषयहरु बारे उनले भिडियोमा बोलेका छन् । रवि ‘फटहा’ व्यक्ति हुन् भनेर उनले त्यतिबेलै राज्य र जनतालाई सचेत गराइदिएका थिए । तर, उनको कुरा कसैले पत्याएन् । जुन आज सत्य साबित हुँदै गएको छ । रविका कारण मर्न बाध्य भएको भन्दाभन्दै पनि अदालतले सफाइ दियो । प्रमाणलाई कागजको खोस्टो बनाइयो । पत्रकार पुडासैनीको केसमा अनुसन्धान गर्न उनलाई हिरासतमा राख्दा चितवनका स्थानीयबासी रविको समर्थनमा उत्रिए ।
कसैको छोरा, कसैको श्रीमान् मरेको छ भन्ने चितवनबासीले सोचेनन् । छानबिन नै प्रभावित हुनेगरी उनीहरुले रविको पक्षमा आवाज उठाए । अन्ततः रविलाई सफाइ दिइयो । २०७९ मंसिर ४ गते चितवनका जनताले उनैलाई निर्वाचित गरेर सदनमा पठाए । उनको नागरिकता र राहदानी काण्ड शुरु भयो । दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको पद खुस्काइदियो । २०८० वैशाख १० गते त्यहाँ पुनः निर्वाचन भयो । चितवनका स्थानीयले उनैलाई जिताएर पठाए । अब फेरि पनि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव गराउनुपर्ने देखिएको छ । सहकारी छानबिनसम्बन्धी संसदीय छानबिन विशेष समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको छ । सहकारीको पैसा मिडियामा ल्याएर अपचलन गरेकोमा दोषी ठहर गर्दै समितिले कारबाही गर्न भनेको हो । उनीमाथि कारबाही हुने निश्चय नै छ । उनी कारबाहीमा परेपछि त्यहाँ फेरि निर्वाचन गराउनुपर्छ । जनताले तिरेको कर बारम्बार ‘वालुवामा पानी’ भएको छ । यता, चितवनबासीले पनि पटकपटक दुःख पाउनुपरेको छ । पत्रकार पुडासैनीको जन्मथलो नुवाकोट र कर्मथलो काठमाडौं भएपनि चितवनमा गएर आत्महत्या गरेका थिए । उनी पनि नेपाली नागरिक थिए ।
नेपाल संविधानले त उनलाई पनि बाँच्ने अधिकार दिएको थियो । तर, रविले बाँच्न दिएनन् । रविलाई कारबाही गर्नुपर्छ, पुडासैनीलाई न्याय दिनुपर्छ भन्नुको साटो चितवनबासी रवि बचाउन सडकमा उत्रिए । अब पनि उत्रिन्छन् कि ? किन कि उनीसहितले लाखौं बचतकर्ताको ६५ करोड रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ । देशभरका जनताले चितवनबासीलाई सोध्छन्,‘तपाईंहरुले कस्तो व्यक्तिलाई मतदान दिनुभएछ ?’
रवि एकपछि अर्को गर्दै विभिन्न काण्डमा मुछिएका छन् । एउटा काण्ड सेलाउन नपाउँदै अर्को सार्वजनिक भइहाल्छ । जतिपटक बचेपनि कसूर गर्ने व्यक्ति कुनै न कुनै दिन कानुनको कठघरामा उभिनैपर्छ । रविको हकमा पनि त्यही भएको छ । उनी पटकपटक उम्किए, अब उम्किएलान्जस्तो देखिन्न । पुडासैनीकै केसमा रविलाई त्यतिबेलै कारबाही गरेको भए न ड्राइभर मर्थें, न लाखौ बचतकर्ताको घरबास उठ्थ्यो न बारम्बार चुनाव गराउनुपर्थ्यो । जनताले तिरेको कर अर्बौं रुपैयाँ खर्च भइसक्यो । यसको जिम्मा कसले लिने ? कसैले लिनुपर्ला नि ? अब पनि रविलाई कारबाही गर्नुहुन्न भनेर जनता सडकमा आउँछन् कि ? पावर र पैसाको आडमा जोगिएका रविले अब उल्टो गिन्ती शुरु गरे हुन्छ । ढिला भएपनि पुडासैनीको आत्माले शान्ति पाउने भयो । मर्ने बेलामा कसैले पनि झुठ बोल्दैन् । अगाडि मृत्यु देखेका व्यक्ति किन डराउने ?
तर, त्यतिबेला सबैलाई पुडासैनी झुठ्ठो लागे । रविलाई फसाउन खोजियोसम्म भनियो । मिडियाहरु रविको पक्षमा लागे । अझैपनि लाग्छन् कि ? एउटा व्यक्तिले मर्दाखेरि बनाएको भिडियोलाई ‘फेक’ साबित गराइयो । उनले पावर र पैसाको अगाडि प्रहरी प्रशासन र अदालत डगमगायो । बुढापाकाले भन्थे,‘बाउबाजेले गरेको अपराध तीन पुस्तासम्मले भोग्नुपर्छ ।’
रविले त आफ्नै पालामा भोग्ने भए । बुढापाकाले भन्न त अरुको आँशु पनि लाग्छ भन्थे । पुडासैनीलाई न्याय दिनुपर्छ भनेर त्यतिबेला कुनै नागरिक समाज, अभियन्ता, संघसंगठनहरु बोलेनन् । किन कि उनी त गरिब परिवारमा जन्मिएका थिए । सामान्य कृषि पेशा गरेर उनको परिवारको गुजारा चल्थ्यो । आफ्नो छोरा बित्दा ती बुवाआमाको मनमा के बित्यो होला ? कसैले सोचेन् ।
त्यतिबेला रवि सही हुन् भन्ने व्यक्तिहरु नै आज रविलाई कारबाही हुनुपर्छ भनेर बोलिरहेका छन् । सरकारले पनि उनलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाइसकेको छ । ‘अपराध’ गर्नेहरु ढिलोचाँडो कानुनको कठघरामा उभिनैपर्छ । गिरीबन्धु टी स्टेट काण्डमा केपी शर्मा ओली, नक्कली भुटानी शरणार्थी प्रकरणमा डा आरजु देउवा, वालुवाटार, मातातीर्थको जग्गा व्यक्तिको नाममा पास गर्ने बाबुराम भट्टराई र माधव नेपाल पनि कुनैदिन कानुनको दायरामा आउलान् ।
रात रात नै हुन्छ, दिन दिन नै छ । दिनलाई रात बनाउन खोज्नेहरु कतिञ्जेल बच्छन् ? कुरा यति हो कि जनताको आँखामा पर्दा हाल्न सक्दासम्म जोगिन्छन् । पर्दा उत्रिनेबित्तिकै जनताले कारबाहीको आवाज उठाउँछन् । विगतमा देशको राजनीतिक परिवर्तन गर्दा रविको कुनै योगदान थिएन् । हुन त उनी अर्काले तयार पारिदिएपछि गएर फाइदा उठाउने स्वभावका हुन् । नेपालमा बस्न असुरक्षित हुन्छ भनेर २०५८ सालमा उनी अमेरिका पुगे । अमेरिकी नागरिक बने । घरायसी कारणले उनी २०७१ सालमा नेपाल फर्किए, त्योपनि ‘भिजिट भिसा’ मा । अमेरिकी नागरिक बनिसकेका उनले कानुनको चरम उल्लङ्घन गरे । उनको पुरानो नागरिकता खारेज भइसकेको थियो । तर, त्यही नागरिकताको दुरुपयोग गरे । नेपालको कानुनलाई त उनले धोती लगाइदिए ।
टेलिभिजनमा काम गरे । उफ्रीउफ्री चिच्याउँथे । ‘जनतासँग सीधा कुरा’ भन्ने कार्यक्रम चलाउने उनले अर्कालाई कानुन र संविधान सिकाउँथे । जनताको कुरा उठाएजसो गरेर उनले एउटा प्रभुत्व जमाए । जनताको विश्वासको यसरी नाजायज फाइदा उठाउँछन्, भन्ने कसलाई के थाहा ? जनताको आडमा उनले जनतालाई ठगे । रवि कस्ता व्यक्ति रहेछन् ? सबैले देखि हाले होलान् ? एउटा व्यक्तिले जनतादेखि लिएर राज्यसम्मलाई क्षति पुग्यो । नेपाली जनता सीधा छन् । कसैले दुई शब्द मिठो बोलिदियो भने विश्वास गरिहाल्छन् । हाम्रो आवाज उठाइदियो भनेर मख्ख पर्छन् । तर, उनीहरुको स्वार्थ बुझ्दैनन् । नेपालीको सोझोपनको फाइदा धेरैले उठाइसके । यो–त्यो गर्छु भन्छन्, पदमा पुग्छन्, धोका दिन्छन् । तैपनि हामी पुनः विश्वास गर्छौं । हामी पढेका अनपढ बनिदिँदा रविजस्ता केही बाठाटाठाले हाम्रो फाइदा उठाए । जनतालाई आफू माथि पुग्ने भर्याङ्ग बनाए । रविको घटनाबाट सबैले के बुझ्नुपर्छ भने सँधै सत्यको जीत हुन्छ । चाहे त्यो ढिलै होस् । कुनै व्यक्ति सत्य छ भने त्यो वर्षौंपछि पनि बाहिर आउँछ । त्यतिबेला रविको पावरमा दबिएको पत्रकार पुडासैनीको मुद्दा अब कुनै अधिवक्ता, नागरिक समाजले ब्यूँताइदिन्छन् कि । कसैले पहल गरिदिन्छन् कि । नेपाली आमाको कोखबाट जन्मिएको व्यक्तिले नेपाली कानुनअनुसार न्याय पाउनुपर्छ । कानुन सबैलाई बराबर लाग्छ । त्यस्तै मुद्दामा कोहीले सजाय पाउने र कोही उम्किने नहोस् । त्यतिबेला एकको दोषी रवि अहिले लाखौं बचतकर्ताको दोषी बनेका छन् । कानुनको उपहास गर्नेलाई सरकारले कारबाही गरेरै छाडोस् । ‘निर्दोष नफसोस्, अपराधी नउम्कियोस्’ भन्ने नीतिमा सरकार कतिको उत्रिँदो रहेछ ? हेर्न बाँकी छ ।
अनुसा थापा
भक्तपुर