neapl investment mega bank
  • गृहपृष्ठ
  • जनतालाई मर्कामा पारेर सरकार व्यवसायीलाई पोस्ने, व्यवसायीलाई भने उपभोक्ता लुटेर कहिल्यै नपुग्ने !

जनतालाई मर्कामा पारेर सरकार व्यवसायीलाई पोस्ने, व्यवसायीलाई भने उपभोक्ता लुटेर कहिल्यै नपुग्ने !

Sep 18th, 2024

काठमाडौं, असाेज २

मुलुकमा सरकार परिवर्तन हुनेबित्तिकै व्यवसायीहरु फूलमाला लिएर शुभकामना दिन र आफ्नो माग सुनाउन पुगिहाल्छन् । उद्योग व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तिय संस्थाका सञ्चालक, निर्माण व्यवसायीहरु आफ्ना दुःखमर्कामा कहानी सुनाइहाल्छन् । ‘गिर्गिटले रग फेरेजसरी’ जुन पार्टीको सरकार आउँछ, त्यही पार्टीको झोला बोकिहाल्छन् । व्यवसायीले सरकारले हामीलाई सहयोग गरेको छ भनेर कहिल्यै भन्दैनन् । जतिबेला पनि माग मात्र तेर्स्याउछन् । सरकारकै सहयोगकै कारण त उनीहरुले राजश्व छल्न भ्याएका हुन् । काम गर्ने मजदुरलाई थोरै तलब दिएर शोषण गर्नुमा सरकारले व्यवसायीलाई सक्दो सहयोग गरेको छ । सरकारकै कारण आज व्यवसायीहरुले अंकुत सम्पत्ति जोडेका छन् । एक सयको सामान पाँच सयमा बेच्न उनीहरुलाई छुट छ ।
तैपनि, उनीहरुको गुनासो र माग कहिल्यै सकिँदैन् । सरकारले जनतालाई पाखा लगाएर उनीहरुलाई काखा च्याउँदा पनि सन्तुष्ट देखिँदैनन् । सरकारले कृपा गरिदिँदा व्यवसायीहरुले अंकुत सम्पत्ति जोडेका छन् । चौधरी ग्रुप, भाटभटेनी साहु मीनबहादुर गुरुङ, नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकाल, गोल्छा ग्रुप, विशाल ग्रुप त्यतिकै त्यहाँ पुगेको हैनन् ।
हिजो केही नभएकाहरु व्यवसायीको नाममा उपभोक्ता लुटेर आज अंकुत सम्पत्तिको मालिक बनेका छन् । उनीहरुको पृष्ठभूमि केलाउने हो भने सबै एउटा सामान्य परिवारमा जन्मिएका थिए । देश र जनताले यिनीहरुलाई धेरै कुरा दियो, तर यिनीहरुले के दिए ? उनीहरुले जति भन्यो, त्यति मूल्यमै सामान किने । काम गर्ने मजदुर थोरै तलबमा महिनाभर खटिए । राजश्व छल्दा पनि सरकारले चुइक्क बोलेन् ।
अधिकार खोज्नलाई कर्तव्य पनि पुरा गर्नुपर्छ । तर, यिनीहरुले के गरे ? देशमा यिनीहरुको योगदान के छ ? सरकारले १७ हजार पाँच सय रुपैयाँ अनिवार्य तलब दिनुपर्ने व्यवस्था गरेको छ । तर, महिनाभर ८ देखि १० हजारमा काम लगाइरहेका छन् । उनीहरुको फाइदाका लागि सरकारले सामानको मूल्य तोकिदिएन् । जतिमा मनलाग्छ, त्यतिमा बेच भनेर छोडिदियो ।
तैपनि, उपभोक्ताले चुपचाप सो सामान प्रयोग गरिरहेका छन् । सरकारले उद्योग व्यवसायीमाथि धेरै कृपा बर्सायो, त्यसैले उनीहरुलाई मात लाग्यो । अझै ठग्न र लुट्न पुगेको छैन्, उनीहरुलाई । राज्य र जनता सोत्तर बनाएर उनीहरुलाई आफू कमाउनु छ । २०७२ वैशाख १२ गते महाभूकम्प गयो । तर, उद्योग व्यवसायीले सहयोग गरेनन् । कोरोना महामारीका कारण मुलुकमा दुईपटक लकडाउन भयो ।
तर, उद्योग व्यवसायीको मन पग्लिएन् । सहयोग गर्नमा कुनै तदारुकता देखाएनन् । केही समयअघि जाजरकोटमा भूकम्प गयो । व्यवसायीले रमिता मात्र हेरे । बाढी, पहिरोलगायत प्राकृतिक विपद् वर्षेनि आउँछ । ठूलो धनजनको क्षति हुन्छ । यद्यपि, उद्योग व्यवसायीहरुको मुठ्ठी खुल्दैन् । यस्तालाई कुन मुखले उद्योग व्यवसायी भन्ने ? यिनीहरु उद्योग व्यवसायी होइनन्, दलालहरु हुन् ।
यहाँ लुट्ने अनि त्यो पैसा लगेर अन्य देशमा लगानी गर्ने । विभिन्न देशमा उद्योग व्यवसायीको लगानी छ । राजश्व छल्ने, जनता लुट्ने अनि अनि व्यक्तिगत सम्पत्ति थुपार्ने । यस्तालाई उद्योग व्यवसायी भन्नु मुलुकको लागि दुर्भाग्यको कुरा हो । उद्योग व्यवसायीले लिन जाने दिन जानेनन् । यताबाट नि थुत्ने, उताबाट नि, तर आपत परेको बेला सहयोग गर्ने होइनन् ।
राज्यले कर पाउला, जनताले रोजगारी पाउलान्, त्यहाँ उत्पादित सामग्री उपभोक्ताले सस्तोमा प्रयोग गर्न पाउलान् भनेर सरकारले व्यवसाय गर्न दियो । तर, उद्योग व्यवसायी भनाउँदाले लुट्ने र ठग्ने मात्र काम गरे । नेपालमा उपभोक्ताको नारा लगाउने धेरै छन् । जसका केही चर्चित नामहरुमा ज्योति बानियाँ, प्रेम महर्जन, माधव तिमल्सिना आदि । उद्योग व्यवसायीहरुले राज्य र उपभोक्ता दुवै लुट्दा उनीहरु किन मौन ?
उद्योग व्यवसायीको ठगीधन्दा आँखाअगाडि छर्लङ्ग छ । मँहगी बढेको, श्रमिकले पारिश्रमिक नपाएको त तिनले पनि देखेका होलान् ? तर, किन विरोध गर्दैनन् ? यहाँ दालमा केही कालो भएको स्पष्ट छ । नाम उपभोक्ताकर्मी, काम उद्योग व्यवसायीको गर्ने भएकाले त्यसो गरिएको हुनसक्छ । उपभोक्ताको आवाज उठाएझैं गरेर उद्योग व्यवसायीसँग चलखेल गर्ने कार्य पनि गरेको हुनसक्छ ।
सरकारको सम्पत्ति दोहन गर्ने उद्योग व्यवसायीहरु नै हुन् । सरकारी, गुठीको जग्गा त कसैलाई देख्नै हुन्न । हुन त सरकारकै सम्पत्तिमा रजगज गरेर आज यहाँसम्म आइपुगेका हुन् । देशमा यत्रा व्यवसायी छन् तर सरकारले राजश्व पाएको छैन् । यिनीहरुले कर तिरिदिएको भए सरकारले देश धितो राखेर झण्डै २७ खर्ब रुपैयाँ ऋण लिनुपर्थ्यो ? जसले कर छल्छ, उसलाई उद्योग व्यवसायी भन्नुपर्ने ?
अनि अझैं हाम्रो योगदान छ भन्छन् । कहाँ छ योगदान ? विवरण सार्वजनिक गरिदिनुपर्यो । हुन त उनीहरुले देश सोत्तर बनाउनमा आफ्नो योगदान छ भनेको पनि हुन सक्छ । राज्य व्यवस्था समितिको सभापति रामहरि खतिवडा उद्योग व्यवसायीको पक्षमा देखिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रको पनि नियमन गर्न पाउनुपर्ने माग गरेको छ ।
तर, खतिवडा अख्तियारको मागविपरीत देखिन्छन् । उनलाई पनि चुनावमा लागेको खर्च उठाउनुहोला । गरिबको रगतपसिनामा मोजमस्तीहरुलाई नसमात्ने ? एउटा सरकारी कर्मचारीले पाँच सय रुपैयाँ घुस खायो भने अख्तियारले समात्छ । निजी क्षेत्रलाई किन नसमात्ने ? तिनीहरुले राजश्व छलेका छन् । गरिबको रगतपसिना चुसेका छन् । उपभोक्ता ठगेका छन् ।
सरकारी सम्पत्ति हिनामिना गरेका छन् । अनि तिनलाई के को छुट ? सरकार उद्योग व्यवसायीको अगाडि लम्पसार परेपछि सर्वसाधारणको आवाज कसले उठाउँछ ? अब एउटा काम गरौं, सरकारमा भएकाहरु निस्केऊ, उद्योग व्यवसायीको हातमा सरकारको चाबी देऊ । जनतालाई सन्तुष्ट त हुन्छ । सरकार छ भन्नु मात्र भएको छ । जति लुटेपनि छुट । सरकारले त सबैलाई कानुनको दायरामा राख्नुपर्छ ।
गलत काम गर्ने जोकोही पनि कानुनको दायरामा आउनुपर्छ । उसको हिजो सम्पत्ति कति थियो, आज कति छ ? त्योमध्ये कतिको स्रोत खुल्दैन् ? कति राजश्व छलेको छ ? कति ठगेर कमाएका छन् ? त्यो राष्ट्रियकरण हुनुपर्छ । व्यवसायी गर्ने नाममा राज्यलाई ठग्न, उपभोक्ता लुट्न र काम गर्नेलाई शोषण गर्न मिल्छ ? रामहरि खतिवडा सदनमा देश र जनताको नारा लगाउँछन् ।
अरुमाथि औंला ठड्याउँछन् । एउटा कानुन बनाउन नसक्ने व्यक्ति के अरुमाथि औंला ठड्याउँछौं ? व्यवसायीलाई कानुनको दायरामा ल्याउन नसक्ने व्यक्तिले देश र जनताको नारा लगाएको सुहाउँछ ? जहाँपनि ठगीधन्दा मौलाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौला ताप्लेजुङमा गरिब परिवारमा जन्मिए । हिजो केही नभएको उनले आज करोडौंको सम्पत्ति जोडेका छन् ।
त्यो कसरी भन्दाखेरि सिण्डिकेट लगाए, रोड बेचे, दुर्घटनामा यात्रुलाई दिने बीमा पचाए अनि व्यक्तिगत सम्पत्ति जोडे । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपाल सिन्धुपाल्चोकका हुन् । उनको पनि करोडौंको सम्पत्ति छ । यातायातमा त यस्तो छ भने उद्योगमा कस्तो होला ? टिकट काट्ने, ड्राइभर, खलासी गर्नेहरु आज अर्बपति बनेका छन् । यो त केही उदाहरण मात्र हो ।
यस्तो उदाहरण त पाइलापाइलामा भेटिन्छ । अनि अझै राज्यले दिएन् भन्ने ? यिनीहरु देश र जनताका लागि जुका भए । जति रगत चुसे पनि नपुग्ने । सरकारले अब जोसुकै भएपनि सम्पत्ति छानबिन गर्नुपर्छ । त्यो व्यवसायीको मात्र होइन्, सर्वसाधारणको हकमा पनि लागु होस् । अपराधीहरुले उन्मुक्ति नपाऊन् । कानुन बनाउन नसक्ने व्यक्तिले राजनीतिबाट सन्यास लिए हुन्छ । सरकारले नहुनेलाई दिने हो, हुनेबाट लिने हो ।
अनुसा थापा
भक्तपुर