काठमाडौं, भदाै ३०
अहिले निर्माण व्यवसायीहरु भन्छन्, ‘हामीले काम गरेबापतको ६० अर्ब रकम सरकारले दिएन ।’ कोरोना महामारीको समयमा स्वास्थ्य बीमा गराएका अस्पतालहरु पनि ११ अर्ब भुक्तानी नपाएको गुनासो गर्छन् । दुग्ध कृषकहरु पनि सरकारले सात अर्ब भुक्तानी नदिएको बताउँछन् । उखु किसानहरु भन्छन्, ‘हाम्रो पनि अर्ब भुक्तानी दिएको छैन सरकारले ।’ सरकारले जताततै भुक्तानी दिएको छैन । हरेक क्षेत्रमा बक्यौता तिर्न बाँकी नै छ । त्यो पनि लाख, करोड नभई अर्बौ । सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसकेको छ । हामी सर्वसाधारणबाट पनि वार्षिक खर्बौ राजस्व उठाइन्छ । यता, विदेशमा रगतपसिना बगाई कमाएर नेपाली युवाहरु यहाँ पै्रसा (रेमिट्यान्स) पठाउँछन् । अनि यी सबै पैसा कहाँ गयो ? अहिले जनप्रतिनिधि मात्र ३६ हजार छन् । यसमा वडाध्यक्ष, मेयर, उपमयेर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सबै पर्दछन् । एउटै जनप्रतिनिधिले मासिक ५० हजारदेखि चार लाखसम्म तलब र सेवासुविधा उपभोग गर्छन् । हरेकलाई सरकारी गाडी दिइएको हुन्छ । उनीहरुले चढ्ने सवारीसाधन पाँच लाखदेखि २५ करोड मूल्यसम्मको छ ।
उता, सरकारी कर्मचारीहरुको संख्या पनि उत्तिकै छ । अहिले करार, ज्यालादारी र स्थायी सेवा गरी लाखौं कर्मचारी कार्यरत छन् । एउटै कर्मचारीले महिनाको ३५ हजारदेखि दुई लाखसम्म तलब खान्छन् । उनीहरुलाई पनि जनप्रतिनिधिलाई जस्तै महँगो सरकारी गाडी दिइएको हुन्छ । सुरक्षाकर्मीहरु लाखौंको संख्यामा छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा लाखौं कर्मचारी कार्यरत छन् । उनीहरुले पनि मासिक २५ हजारदेखि लाखौं रुपैयाँसम्म तलब बुझ्छन् । सेवासुविधा अलग्गै हुन्छ । सरकारले सेवा निवृत्त भएपछि कर्मचारीहरुलाई पेन्सन दिदैँ आएको छ । अहिले पेन्सन खाने कर्मचारीको संख्या मात्र लाखमाथि छ । उनीहरुलाई पेन्सन दिँदा मात्र राज्यको मासिक करोडौं सकिने गरेको छ । यहाँ ज्येष्ठ नागरिक, एकल महिला, अपांगताको संख्या ४० लाख छ । उनीहरुले मासिक एक हजारदेखि पाँच हजारसम्म भत्ता थाप्छन् । हाम्रो देशमा उद्योग, कलकारखाना छैन । आम्दानीको स्रोत कँही कतै छैन । जनता महँगी, बेरोजगारीका कारण मारमा परेका छन् । उनीहरु राज्यलाई राजस्व तिर्न नसक्ने अवस्थामा पुगेका छन् । सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसक्यो । यसको ब्याज मात्र मासिक अर्बौ तिर्नुपर्छ । मुलुकको अधिकांश भूभाग त भारत र चीनले कब्जा गर्यो नै अब विदेशीसँग लिएको यो ऋण तिर्न नसके नेपाल नै नरहने अवस्था निम्तिएको छ । विदेशीले हामीलाई यत्तिकै यत्रो ऋण दिएको होइन ।
हाम्रो भूभाग राम्रो देखेर दिएको हो । केही गरी ऋण तिर्न नसके देशमाथि नै कब्जा जमाउने उनीहरुको दाउ छ । अहिले सरकार एउटाबाट ऋण ल्याएर अर्कोको साँबाब्याज तिरिरहेको छ । अर्कोबाट ऋण लिएर कर्मचारीलाई तलब खुवाउँछ । यसले विदेशी ऋण झन् झन् बढ्ने छ । २७ खर्ब रहेको विदेशी ऋण केही समयअघि ५२ खर्ब पुग्ने छ । अनि यो ऋण कहाँबाट पैसा ल्याएर तिर्छ सरकारले । नेपाल हजारौं वर्षअघिको देश हो । यो हाम्रो स्वतन्त्र राष्ट्र हो । कहिले कसैको अगाडि नझुकेको देश हो, नेपाल । विगतमा विभिन्न देशमाथि कब्जा हुँदा नेपालमाथि हुन सकेनन् । यसको मतलब कसैले प्रयास नगरेको भने बिल्कुल होइन । हाम्रो मुलुकमाथि कब्जा जमाउन कयौं पटक प्रयास भए । यद्यपि, सफल हुन सकेन । किनकि नेपालीहरु आफ्नो ज्यान जोखिममा राखेर देशको लागि लडे । त्यसैले, अहिले विश्वसामु नेपाल वीर गोर्खालीको राष्ट्र भनेर पनि चिनिन्छ । त्यँही वीर गोर्खाली देश आज विदेशीसँग आफ्नो मुलुक चलाउन ऋण माग्नुपर्ने अवस्थामा पुगेको छ । जुन समग्र नेपालीको लागि दुर्भाग्यको कुरा हो ।
राजनीतिक दलका नेताहरुले राष्ट्र र जनताको अवस्थामा परिवर्तन ल्याउने भन्दै देश नै बर्बाद पारिदिए । आज ऋणको बोझका कारण देशै विदेशीको हुने परिस्थिति सिर्जना भएको छ । पहिलापहिला मानिसहरुको एउटा घर र गोठ हुन्थ्यो । घर कच्ची माटोको हुन्थ्यो । घरमा मान्छे बस्थे भने गोठमा गाई, भैंसी, दाउरा राखिन्थ्यो ।
प्रत्येक मानिसको घरमा ३०÷३५ मुरी खाद्यान्न हुन्थ्यो । कसैको घरमा त्यसको दोब्बर हुन्थ्यो । वर्षभरी पुग्ने मकै, धान, गहुँ, तोरी, भटमासलगायत खाद्यान्न घरमै हुन्थ्यो । त्यतिबेला केही पनि बाहिरबाट किन्नु पर्दैन्थ्यो । नुन र कपडा मात्र किनिन्थ्यो । अरु सबै आफ्नै खेतबारीमा उब्जनी गरी खाइन्थ्यो । घर जस्तोसुकै भएपनि त्यतिबेला मानिसहरु धनी थिए । तर, पछिल्लो समय गाउँदेखि सहरसम्म सिमेन्टका घर बनेका छन् । घरमा सिसै सिसा हालिएको हुन्छ । यद्यपि, त्यो रकम मानिसको नाममा हुदैँन । बैंक, वित्तिय संस्थाको नाममा हुन्छ । अर्कोतर्फ, अहिले गुन्द्रकसम्म किनेर खाइन्छ । मानिसको घर त छ तर खेतबारी छैन । खेतबारी भएपनि गाउँमा बाझो छोडिएको छ । यसले उनीहरु खाद्यान्न किनेर खान्छन् । फेरि त्यो खाद्यान्न नेपालभित्रै उब्जनी भएको भए त ठिक्कै पनि थियो तर हामीले अहिले उपभोग गर्ने हरेक वस्तु तथा सेवा विदेशीबाट ल्याइएको हो । हामीले हाम्रो खेत बाँझो मात्र छोडिरहेका छैनौं । विदेशीलाई धनी पनि बनाइदिएका छौं । उनीहरुले जति भन्यो, त्यतिमै सामान किनेर खाइरहेका छन् । नेपालको धेरै भूभाग घर र बाटोले मासिएको छ । बाँकी अधिकांश जमिन पनि बाँझै रहँदा उब्जनी दिनप्रति दिन घट्दो छ । सरकोरवालाहरु ज्मिनमा घर बनाउनभन्दा पनि खेतीपाती गर्नमा जोड दिदैँनन् ।
यसले एकातिर देशमा व्यापार घाटा बढ्दो छ भने अर्कोतिर भोकमारीको संकेत देखिएको छ । यदि भविष्यमा विदेशीले खाद्यान्न निर्यातमा रोक लगाइदिए हामी नेपाली भोकभोकै मर्नुपर्ने अवस्था आउने छ । केही वर्षयता मानवीय स्वास्थ्यमा विभिन्न खालका रोग देखिन थालेका छन् । सुगर, प्रेसर, माटोपन जटिल समस्या बन्दै गएको छ । जबकी तीन÷चार दशकअघि सुगर कसैमा देखिदैँन्थ्यो । न त माटोपन नै हुन्थ्यो । किनकि त्यतिबेला मानिसहरु काम गर्थे । बिहानै पानी लिन घण्टौको बाटो हिँडेर धारा पुग्थे । त्यति नै बाटो हिँडेर खेतबारी जानुपथ्र्यो । त्यो पनि मलको बारी बोकेर । त्यसबेला मानिसहरु भातभन्दा पनि ढिँडो खान्थे । तर, अहिले भात मात्र खाइन्छ । अर्कोतर्फ, खेतबारी कसैको छैन । पानी पनि घरमै आउँछ । अहिले मानिस बिहान ढिलोसम्म सुत्छन् अनि जथाभावी खाना खान्छन् । काम चाँहि केही गर्दैनन् । यसले पनि मानवीय स्वाथ्यमा विभिन्न खालका रोग देखिन थालेको हो । कोही पनि रोग देखिएपछि बिहान दौडिन्छन् । पहिला काम गरेर जीउ स्वस्थ राखिन्थ्यो भने अहिले शरीर स्वस्थ राख्न मर्निङ वार्कमा हिँडिन्छ । यता, दलाली, भूमाफियाहरुले जग्गाको मूल्य एकाएक बढाए । र, सबै मानिस घरजग्गा किन्न वा बनाउनतर्फ मात्र लागे । यसले उद्योग, कलकारखानामा लगानी गर्ने घटेसँगै मुलुकमा रोजगारीको अवसर पनि सिर्जना हुन नसकेको हो । दलालीहरुकै कारण आज रोजगारीको खोजीमा नेपालीहरु विदेशिनु परिरहेको छ ।
२०३२ सालसम्म नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्दथ्र्यो । अहिले विदेशीले एक हप्ता मात्र खाद्यान्न नपठाए हामी भोकभोकै मर्नुपर्छ । नेताहरुले देश विकास गरे । तर, देशै विदेशीलाई बेचेर । योभन्दा ठुलो विकास के हुन सक्छ । राजनीतिक दलहरुले अब देशका लागि के चाँहि गर्न बाँकी छ ? नेताहरुले देश मात्र बेचेका छैनन् । जनता पनि विदेशीलाई बेचेका छन् । नेपालीलाई रोजगारीको नाममा भेडाबाख्राझैं विदेशमा बेचिएको छ । अब जनता र सञ्चारकर्मी दुवैको आँखा खोलिनुपर्छ । सञ्चारकर्मीहरुले देश र जनताको लागि कलम चलाउनुपर्यो ।
रुषा थापा
भक्तपुर