काठमाडौं, भदाै २३
काठमाडौँ उपत्यकामा विशेषगरी तीन वटा समस्याले सर्वसाधारणलाई निकै सताउने गरेको छ । एउटा घर वा कोठाबाट बाहिर निस्किएपछि सार्वजनिक स्थल वा बस्ने ठाउँ भेटिदैँन । अर्को खानेपानीका लागि ढुंगेधारा, कुँवाहरु छैन भने शौच गर्नुपरेमा त झन् गाह्रो हुने गर्छ । उपत्यकाभित्र सार्वजनिक शौचालय भेटिदैँ भेटिदैँन । उपत्यका अस्तव्यस्त बन्दै गएको छ । खाली जमिन कतै छैन । जताततै घर मात्र देखिन्छ । यहाँ एक आनादेखि चार आना जग्गामा तीन तलादेखि १९ तलासम्मका घर बनेका छन् । घर सबै भाडामा लगाइएको छ । त्यो पनि महँगो भाडामा । घर त बनाइएको छ तर घरभित्रै बस्ने ठाउँ छैन । अहिले उपत्यकामा बनेका घरहरु सबै जोडिएको भेटिन्छन् । अर्कोतर्फ थोरै जग्गामा घर बनाइएको हुँदा एउटा सवारी पार्किङ वा मानिस बस्ने ठाउँ समेत हुँदैन । उपत्यकामा ७७ वटै जिल्लाका मानिसहरु बस्छन् । शिक्षा, स्वास्थ्य, रोजगारी वा अवसरमा खोजीमा देशभरका जनता यँही पस्ने गरेका छन् । र, घरधनीहरुले यसैको फाइदा उठाउँदै आएका छन् ।
उनीहरु एउटा सानो, अध्याँरो, चिसो कोठाको समेत मासिक भाडा आठ हजारदेखि २० हजारसम्म असुल्छन् । एउटा सटरको १५ हजारदेखि १९ लाख, एक फ्ल्याटको २५ हजारदेखि तीन लाखसम्म लिइन्छ । खाली सटर त २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरिन्छ । घरधनीहरु महिना मर्नुअघि नै भाडा माग्न आइपुग्छन् । यता, बत्ती, पानी, फोहोर, इन्टरनेटको जति माग्यो, त्यति नै तिर्नुपर्छ । यत्रो पैसा तिरेपनि भाडामा बस्नेहरु केही सेवासुविधा पाउँदैन । न त कपडा सुकाउने ठाउँ दिइन्छ न त पानी नै दिइन्छ । उपत्यकाभित्र ६३४ वटा ढुँगे धारा र कुँवा थियो । त्यति नै संखयामा ताल, पोखरी पनि थियो । यो हुँदा बाटोमा हिँड्ने मानिसहरुले पनि सजिलै पानी पिउन पाउँथे । तर, ती ढुँगे धारा, कुँवा, ताल, पोखरी अहिले सबै मासिएको छ । अहिले उपत्यकाभित्र कतै पनि ढुँगे धारा, कुँवा भेटिदैँन । कही भेटिएपनि त्यहाँ पानी हुदैँन । यता, पार्टीपौवाहरु पनि मासिएको छ । पहिलापहिला मानिस हिँड्दाहिँड्दा थकाई लागेमा पार्टीपौवामा गरेर आराम गर्थे । कोही त राति त्यँही पनि सुत्थे । यद्यपि, अहिले पार्टीपौवा देखिन नै गाह्रो छ ।
बाटोमा हिँड्दा थकाई लागेमा कतै बस्ने खाली ठाउँ छैन । पैसा हुनेहरु त थकाई मार्न होटल, रेस्टुरेन्ट जालान् । तर, पैसा नहुनेहरुले चाँहि के गर्ने ? यति मात्र नभई अहिले पैसा नहुनेहरु पानी खानबाट समेत वञ्चित भएका छन् । ढुँगे धारा, कुँवा, ताल, पोखरी केही छैन । अनि बाटोमा तिर्खा लागेमा पसलबाट किनेर पानी खानुपर्छ । एउटा मिनिरल वाटरको २५ देखि ५० रुपैयाँसम्म पर्छ । यति पैसा नहुनेले त पानी नै खान पाउँदैनन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक शौचालयमा शौच निःशुल्क गर्ने निर्णय गरे ।
उनको यो निर्णयमा धेरैले समर्थन जनाएका छन् । किनकि भोक र शौच धनी र गरिब दुवैलाई लाग्छ । तर, पैसा नहुने गरिबहरु शौच गर्नबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । अहिले राजधानीका सार्वजनिक शौचालयमा शौच गरेको पैसा लिइदैँन । यसले एक–दुई जनालाई मात्र नभई लाखौं लाख सर्वसाधारणलाई फाइदा भएको छ । बिडम्बना, राजधानीसँगै जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिकामा त्यहाँका कर्मचारीहरु सार्वजनिक शौचालयमा समेत ताला लगाएर राख्छन् । उनीहरु आफु जान्छन् अनि शौचालयमा ताला लगाइदिन्छन् । नगरपालिकामा दिनहुँ सयौं सर्वसाधारण विभिन्न कामका लागि आउने गरेका छन् । तर, कर्मचारीहरुले शौचालयमा नै ताला लगाएपछि उनीहरुले कहाँ शौच गर्छन् ?
नगरपालिकाका मेयर वासुदेव थापालाई यसप्रति कुनै चासो छैन । उनले कहाँ र कसरी भ्रष्टाचार गर्न पाइन्छ, यति मात्र थाहा छ । कानूनमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, होटल, रेस्टुरेन्ट सञ्चालन भएको ठाउँको शौचालयमा ताला लगाउन पाइदैँन । दुर्भाग्य अहिले त सरकारी कार्यालयकै शौचालयमा ताला लगाइएको भेटिन्छ ।
अनि सरकार के गर्दैछ ? यहाँ कानून त कसैलाई थाहा भएन नै । सँगै मानवता पनि हराउँदै गएको छ । अहिले भक्तपुरका जनता लज्जित भएका छन् । मेयर थापाले जनताको समस्या त बुझेन् नै सँगै कानून र मानवता पनि उनीमा रहेनछ । अहिले हामी जनताले आफ्नै देशको पानी समेत पिउन पाएका छैनौं । तिर्खा लागेपनि घाँटी सुकाएर हिँड्नुपर्छ । तर, प्रधानमन्त्री केपीशर्मा ओली भने दिनको ७० हजार पर्ने पानी विदेशीबाट किनेर ल्याएर पिउँछन् । हाम्रो देशलाई जलस्रोतको दोस्रो धनी देश पनि भनिन्छ । अवसोश, हामीले नै महँगोमा पानी नकिनी पिउन पाउँदैनौं । अहिले उपत्यकाभित्र बस्ने सर्वसाधारण एक जार पानीको ६० देखि डेढ सय रुपैयाँसम्म तिरेर पिउन बाध्य छन् । अनि आफ्नै देशका जनताले पानी किनेर खानु परिरहँदा कसरी भयो नेपाल जलस्रोतमा धनी ? एक ट्याकर पानीको दुई हजारदेखि पाँच हजारसम्म लिइन्छ । त्यो पनि खोला वा बोर्डिङ गरेको पानी हुन्छ । उपत्यका निस्सासिएको छ । जताततै घरैघर छ । कतै खाली ठाउँ भेटिदैँन । न त हरियाली नै छ । बाटोमा हिँड्दा थोत्र्रा, पुराना सवारीसाधनले धुँवाको मुस्लो फ्याल्छ । घरमा बस्दा निस्सासिएर बस्न सकिदैँन । अनि जाने चाँहि कहाँ ? नेपाल कृषि प्रधान मुलुक पनि हो । हाम्रा नेताहरु यसैलाई जोडेर लामो भाषण गर्छन् ।
दुर्भाग्यपूर्ण, देश कृषि प्रधान भएपनि खाद्यान्न भने विदेशबाट किनेर ल्याएर खानुपरिरहेको छ । नारामा मात्र देश कृषि प्रधान भनिएको छ । अहिले देशभर खेतीयोग्य जमिन भेटिन गाह्रो छ । किनकि सबै जग्गा घर र बाटो बनाएर सकिएको छ । अझै पनि सरकारले केही नगरे अबका केही वर्षमा एक आना पनि खेतीयोग्य जमिन बच्दैन ।
पहिलापहिलाका मानिसहरु तिर्खा लागेको मानिसलाई पानी दिएमा धर्म हुन्छ भन्थे । तर, अहिले त माग्दा समेत पानी दिइदैँन । होटल, रेस्टुरेन्टमा खाना नखाई पानी पिउन दिइदैँन । घरधनीहरु पनि पानी माग्दा पनि दिदैँन । मानिसमा मानवता हराउँदै गएको छ । सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्छ ।
जनतामा सचेतना वृद्धि गर्नु राजनीतिक दलका नेता, कर्मचारी र सञ्चारकर्मीको कर्तव्य पनि हो । तर, यहाँ त जो पनि आफ्नो अधिकार खोज्छन्, कर्तव्य भने पुरा गर्दैनन् । अहिले राज्य सञ्चालनमा बसेकाहरुलाई नै कानूनबारे केही थाहा छैन । उनीहरु नै गैरजिम्मेवार छन् । अनि नेतृत्व नै यस्तो भएपनि त्यसको प्रभाव सर्वसाधारणमा पनि पर्नु स्वभाविक हो ।
जनतालाई निःशुल्क रुपमा पानी खुवाउन र सार्वजनिक शौचालयको व्यवस्था समेत गरिदिन नसक्ने प्रधानमन्त्री केपीशर्मा ओलीले कसरी समृद्ध र सुखी नेपाल बनाउँछन् । हुन त उनीमाथि नै सार्वजनिक सम्पत्ति (जग्गा) व्यकितको नाममा दर्ता गराएको आरोप छ । उनको सरकारमा अर्थमन्त्री भएका विष्णु पौडेलमाथि पनि बालुवाटारको ललिता निवासको सरकारी जग्गा आफ्नो छोरामा नाममा दर्ता गराएको आरोप छ । यति मात्र नभई परराष्ट्रमन्त्री डा.आरजु राणा देउवामाथि नै मानव तस्करीकै आरोप छ । अनि यस्ता व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री भएपनि जनताले कसरी सुख पाउँछन् !
रुषा थापा
भक्तपुर