neapl investment mega bank
  • गृहपृष्ठ
  • दशैं नजिकिएसँगै जनता तनावमा, सरकार मोजमा !

दशैं नजिकिएसँगै जनता तनावमा, सरकार मोजमा !

Sep 7th, 2024

काठमाडौं, भदाै २२

दशैं नजिकिसक्यो । वर्षदिनमा एकपटक आउने यो चाडले यस वर्ष धेरैलाई तनावमा पारेको छ । निजी संघसंस्था, फर्म, कम्पनीमा काम गर्ने कर्मचारीहरुले वर्षौदेखि तलब पाएका छैनन् । यस्तोमा घर कसरी जाने ? भन्ने चिन्ताले उनीहरुलाई पिरोल्न थालेको छ । सरकार भन्छः रोजगारदाताले कामदारलाई १७ हजार तीन सय रुपैयाँ तलब अनिवार्य दिनुपर्छ । त्यसैगरी, उपचार खर्च, सार्वजनिक बिदामा छुट्टी, चाडबाड पेश्की दिनुपर्ने नियम छ । तर, महिनाभर तीनदेखि १० हजारमा घोटिदा पनि वर्षौदेखिको तलब नपाउनु वास्तवमै लज्जास्पद छ । सरकारले बालबालिकालाई श्रममा लगाउन नपाइने भनेको छ । यद्यपि, बाध्यताले बालश्रम नभन्दो रहेछ ।
स–साना बालबालिकालाई घरेलु कामदारको रुपमा शोषण गरिएको छ । सार्वजनिक यातायातमा भर्खरका कलिला बालबालिका कन्डक्टर बसेको देखिन्छ । ईट्टाभट्टामा त झन् व्यापक श्रम शोषण छ । अधिकांश कामदार बालबालिकामध्ये कै छन् । उनीहरुलाई बिहानबेलुका खान दिएकै भरमा काम लगाइएको छ ।

सरकारको भनाइ एउटा भएपनि, आम सर्वसाधारणको भोगाइ बेग्लै छ । दशैं त सबै हिन्दु धर्मावलम्बीको चाड हो । दशैं त सबैले मनाउन पाउनुपर्छ । तर, यहाँ ठूलालाई सँधै दशैं छ, सानालाई त वर्षमा एकपटक आउने दशैं पनि दशा बनिरहेको छ । उनीहरु वर्षमा एकपटक पनि मिठो मसिनो खान असमर्थ छन् । रोजगारदाताहरु श्रमिकको अधिकार खोसेर दिनहुँ दशैं मनाइरहेका छन् । तर, तिनलाई कसले कारबाही गर्ने ? त्यसैले यो देशमा भनिएको होला,‘सानालाई ऐन, ठूलालाई चेन’ । देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता जोगाउनकै चिन्ता छ । जनताको पीडा एकातिर छ भने उनको गफ अर्कोतिर । जनताको समस्यालाई उनले हलुकामा लिएका छन् । देशमा सुशासनको गीत गाउने कस्ता व्यक्ति छन् ? यो त हामीले देखि नै सकेका छौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको थुप्रै व्यवसाय छ । उनले राजश्व छल्दै आएको बताइन्छ । उनी ‘घडी चोर‘ को नामले पनि चिनिन्छन् । नाबालिकामाथि श्रम शोषण गरेको आरोप लागेकी नेकपा एमालेको लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा अहिलेपनि खुल्लमखुल्ला हिँडिरहेकी छिन् । समाजमा हुने बेतिथि रोक्नुपर्ने, बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने सांसद नै त्यस्ता छन् भने जनताले को बाट के अपेक्षा राख्ने ?

नेता र सरकारी कर्मचारीलाई सँधै दशैं छ । जनतालाई त वर्षको एकदिन पनि दशैं नआइदे हुन्थ्योजस्तो हुन्छ । नेपाललाई यत्तिकै ‘सतीले सरापेको देश’ भनिएको रहेनछ । देश लुट्नेलाई यहाँ जे गर्दापनि छुट छ । तर, सीधासाधी जनतालाई दुई छाक खान पनि गाह्रो छ । खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था छ । नेपाली जम्मै वैदेशिक रोजगारीका लागि गएका छन् । नेताहरु भने उनीहरुले घामपानी नभनिकन काम गरेर पठाएको रेमिट्यान्समा मोज गरिरहेका छन् । योभन्दा विडम्बनापूर्ण अवस्था के हुन सक्ला ? एउटा गीत थियो,‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट ।’ यो गीत र नेपालको अवस्था उस्तै छ । राजनीतिक दल, व्यापारी, सरकारी कर्मचारीका सन्तान कहाँ–कहाँ पुगेका छन् । पदको चरम दुरुपयोग र भ्रष्टाचार गरेर उनीहरुले आफ्नो सन्तानलाई ठाउँमा पुर्याएका छन् । तर, जनताको छोराछोरीको के ? जनताको छोराछोरीप्रति सरकार जिम्मेवार हुनुपर्छ कि पर्दैन् ? यो यस्तो देश हो, जहाँ पहुँच चल्छ ।
योग्यता, क्षमता त हेरिँदै हेरिँदैन् । ‘सेटिङ्ग’ मा चलेको छ देश । नपढेको भएपनि पहुँच भए पुग्छ, सरकारी जागिर खानलाई । आफ्नालाई पिएमा भएपनि घुसाइहाल्छन् । हुन त यहाँ सरकारी सेवामा पिएकै जागिर खाएर अंकुत सम्पत्ति जोड्ने प्रशस्तै छन् । अनि जनताको छोराछोरीचाँहि खाडीमा ।
गरिब, मजदुरको नाम बेचेर माथि आउने धेरै छन् । तर, न देशबाट गरिबी हट्यो न त मजदुरको जीवन नै फेरियो । केहीले फाइदा लिए, गरिब जहाँको त्यही । गरिबको जिन्दगीमा कहिलेपनि उज्यालो दिन आएन् । बाउआमा गरिब भएपछि उसले सन्तान पढाउन सक्दैन् । उसको सन्तानले पनि त्यस्तै दुःख भोग्छ ।

त्यो क्रम चलिरहेको छ । उनीहरुको भोगाइ त्यो नाम बेच्नेहरुलाई के थाहा ? देशमा राजनीतिक व्यवस्था परिवर्तन गराउनुमा जनताको ठूलो योगदान छ । जनता नभएको भए व्यवस्था सायदै फेरिन्थ्यो । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । तर, जनताको जीवनयापनमा के फरक आयो ? लोकतन्त्रले कहिले जनतालाई छुएन् । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतलाई मात्र आयो लोकतन्त्र । जनता त हिजो पनि दुई छाक खानलाई लडिरहेका थिए, आज पनि लडिरहेका छन् । रोजगारीका लागि हिजो गाउँ छोडि शहर आए, आज शहर खाडी गए । यही नेता भनाउँदाहरुको कारणले गाउँ रित्तियो, शहर खाली भयो । दिनहुँ दुई हजारले आफ्नो जन्मभूमि छोडिरहेका छन् । कसलाई आफ्नो परिवारसँग छुट्टिन मनलाग्छ ? तर, नेताहरु धेर गतिलो भएपछि छुट्टिन पर्दो रहेछ । सत्तामा बसेर जनताको रगतपसिनाको कमाइमा मोजहरुलाई परिवारसँग वियोग हुनुको पीडा के थाहा ?
उनीहरु त आफ्नो परिवारसँग रमाएका छन् । छुट्टिएका त जनता न हुन् । जनता मरेपनि, बाँचेपनि तिनलाई के मतलब ? जेलमा हजारौं नेपाली छन्, किन ? नेपालीहरु किन यसरी अपराधमा जोडिए ? भर्खरका केटीकेटीहरु पनि अपराधमा मुछिएका छन्, किन ? सरकारले अध्ययन गरेको छ ?
बालबालिका भोलिका देशका कर्णधार हुन् । बालबालिका नै यसरी अपराधमा जोडिएपछि देशको भविष्य के होला ? देशमा गरिबी छ । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु अपराधिक क्रियाकलापमा जोडिएका छन् । तैपनि सरोकारवालालाई कुनै चिन्ता नै छैन् ।

जनताले जन्मेदेखि मृत्युसम्म कर तिर्नुपरेको छ । विडम्बना, त्यो करको सदुपयोग हुन सकेन् । करमा केहीको रजगज चल्यो । केहीको जीवनस्तर फेरियो । अरु केही परिवर्तन भएन् । देशमा धनी र गरिबबीचको खाडल बढ्दो छ । देश त गरिब भयो, भयो, जनता पनि कंगाल भए । देश पनि ऋणमा, जनता पनि ऋणमा । दशैं नजिकिएसँगै जनतालाई एउटै तनाव छ,‘दशैं कसरी मान्ने ?’ तर, यो सरकारलाई जनताप्रति चासो नै छैन् । सत्ता टिकाऊ, राज्यको ढुकुटी लुटिरहौं भन्नेमै सरकार केन्द्रीत देखिन्छ । अब बजारमा कालोबजारी शुरु हुन्छ । हरेक क्षेत्रमा लुटको धन्दा मौलाउँछ । सर्वसाधारणलाई जसले पनि चुस्ने नै भए । रोजगारदाताले कम तलबमा काम लगाएर चुसे । व्यापारीले सयको सामानलाई दुई सय लिएर चुस्छन् । दशैंसँगै गाडी भाडा बढ्छ । खाद्यान्न छोइनसक्नु हुन्छ । अनुगमनका लागि भनेर सरकारले यत्रा निकाय ठड्याएको छ । यत्रा कर्मचारी जनताले पाल्नुपरेको छ ।

सरकारले अब त्यस्ता निकाय खारेज गरिदिए पनि हुन्छ । अनुगमन त हुनेवाला होइन् । नेताहरु जनताको अवस्था फेरिसकेको छ भन्छन् । कहाँ फेरियो ? कति फेरियो ? यो पनि छर्लङ्ग पारिदिनुपर्यो । आफू सरकारी गाडीमा हिँड्ने, राज्यको ढुकुटीमा मोजमस्ती गर्ने अनि जनता पनि मोजमा छन् भनिदिने ? देशका उच्च पदस्थहरुलाई सायदै जनताको अवस्था थाहा होला ? किन कि उनीहरुले जनतापट्टी फर्किएर पनि हेरेका छैनन् । नेता र सरकारी कर्मचारीप्रति जनता एकदमै आक्रोशित छन् । युवापुस्ता आगो बनेका छन् । रोजगारी नपाउँदा, देशको अवस्था देख्दा आगो हुनु स्वाभाविकै पनि हो ।

सरकारको प्रवृत्ति नफेरिने हो भने अब जनता तातिने निश्चित नै छ । त्यसको परिणाम एकदमै नराम्रो हुन्छ ।
अनुसा थापा
भक्तपुर