neapl investment mega bank
  • गृहपृष्ठ
  • समस्या लिएर आउने जनतालाई सिंहदरबार छिर्न सास्ती, कमिशन दिनेलाई मात्र देख्छन् मन्त्री, प्रधानमन्त्री !

समस्या लिएर आउने जनतालाई सिंहदरबार छिर्न सास्ती, कमिशन दिनेलाई मात्र देख्छन् मन्त्री, प्रधानमन्त्री !

Aug 17th, 2024

काठमाडौं, भदाै १

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सबै मन्त्रालय छन् । एउटा स्वास्थ्य मन्त्रालय मात्र बाहिर छ । प्रधानमन्त्री, मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म सिंहदरबारभित्र बस्छन् । ७७ जिल्लाकै सर्वसाधारण व्यक्तिगत तथा सार्वजनिक काम लिएर सिंहदरबार आउँछन् ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने कानुनी व्यवस्था छ । छिटोछरितो कार्यालय पुगेर काम गरुन् भनेर सरकारले सरकारी कर्मचारीलाई पाँच लाखदेखि २५ करोड रुपैयाँसम्मको गाडी दिएको छ । यता, ड्राइभरको व्यवस्थापन पनि सरकारले नै गरेको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पनि जनताले तिरेको करबाट खरिद गरेको सरकारी गाडी चढ्ने हुन् । जनताले कर तिरेका छन् तर उनीहरुले के सुविधा पाएका छन् ? सिंहदरबार छिर्नका लागि पास लिने ठाउँको झ्याल बिहान साढे १० बजेसम्म खुल्दैन् । बिहानैदेखि आएर सर्वसाधारण लाइन बसिरहेका हुन्छन् ।

१० बजेदेखि सेवा दिनुपर्ने नियम सिंहदरबारमा त लागु हुँदैन् भने बाहिरका सरकारी कार्यालयको अवस्था के होला ? जनताले कति दुःख पाएका होलान् ? सिंहदरबारमा बस्ने उच्च पदस्थहरुलाई के थाहा । मन्त्रीदेखि सचिवसम्म त्यही गेटबाट छिर्छन् । तिनले जनताले पाएको दुःख देखेका छैनन् ?
कि देखेर पनि बुझ पचाएका हुन् ? वृद्धवृद्धा, रोगी, अपाङ्गता भएकाहरु कष्टकर अवस्थामा लाइन बसिरहेका हुन्छन् । अनि सरकार अझैपनि हामी जनताको लागि काम गर्छौं भन्ने ? जनतालाई दुःख दिएर प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिवलाई भित्र गएर आरामसँग बस्न लाज लाग्दैन् ?
सिंहदरबारको झ्याल दिँउसो ३ बजेसम्म खोल्ने भनिएको छ । तर, २ बजे नै बन्द गरिदिन्छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोल्दा के जान्छ ? जनताको समस्या सुन्न त उनीहरु बसेका छन् । प्रधानमन्त्री, मन्त्रीको सरकारी जागिर होइन् । बिहान १० बजे आएर ५ बजे हिँड्नलाई । उनीहरु जतिबेला पनि सर्वसाधारणको सेवामा खटिनुपर्ने हो । उनीहरुको समस्या सुन्नुपर्ने हो । जनताको आवाज नै नसुन्ने हो भने केको प्रधानमन्त्री, केको मन्त्री । प्रधानमन्त्री केपी शर्मा ओली जनताको काम छिटोछरितो गर्नुस् भनेर निर्देशन दिइरहेका हुन्छन् । तर, उनी बस्ने दरबारमै जनताले दुःख पाइरहेका छन् । उनले बोलेको त कर्मचारीले नटेर्ने रहेछन् । जनतालाई घामपानी नभनिकन लाइनमा उभिएका हुन्छन् । तर, सरोकारवाला देख्दैनन् । यो त आश्चर्यजनक विषय भो । कि त सिंहदरबारभित्र बस्ने सबैको आँखा कमजोर छ ? आँखा चेक गर्ने अवस्था आएको हो कि ? सिंहदरबारमा बस्नेले केही नै देख्दैनन् । धर्मको नाममा सर्वसाधारण लुटिएको छ । पशुपतिनाथ मन्दिरमा कोटिहोमका नाममा सर्वसाधारणलाई गेरुवस्त्रधारीहरुले ठगेका छन् । तर, सरकारले देखेन् । सिण्डिकेट लगाएर व्यवसायीहरुले सर्वसाधारण लुटेका छन्, दुःख दिएका छन् । सरकारले यो पनि देखेन् । जनताको अवस्था के छ ? जनताले कहाँ कहाँ दुःख पाइरहेका छन् ?
प्रधानमन्त्री, मन्त्रीलाई थाहा छैन् । हुन त कालो झयाल भएको गाडीमा हुइँकिने भएकाले पनि होला । जनताले दुःख पाएको नदेख्ने प्रधानमन्त्री, मन्त्रीले विदेशी ऋण लिने बेला र कमिशन खाने बेलामा चाँहि आँखा देख्छन् । देश बेच्नकै अग्रसर हुन्छन् । ठेक्कापट्टा मिलाउन र सरुवा–बढुवा गर्न माहिर छँदै छन् ।
अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल छन् । ४० वर्षदेखि हरियो र कालो प्लेटको ट्याक्सी, ढुवानी गाडी, फो–स्टक टेम्पोको दर्ता खोलेको छैन् । तर, यस विषयमा न प्रधानमन्त्री जवाफदेही छन् न यातायातमन्त्री । भन्ने बेला हामी देश र जनताको काम गर्न आएको भन्छन् ।

देश र जनताको लागि काम गर्न आएको कि आफ्नो धोक्रो भर्न, यो त जनताले देखि सकेका छन् । यिनीहरु देश बनाउन होइन्, देश सकाउन आएका दलालहरु हुन् । दलालको पेशा नै ठग्ने, लुट्ने, बेच्ने हो । कसरी ठग्ने, लुट्ने ? दलालको दिमागमा जतिबेला पनि यही कुरा खेलिरहेको हुन्छ । एउटा सिंहदरबारभित्र छिर्न सहज गराउन नसक्ने प्रधानमन्त्री ओलीको सरकारले मालपोत, यातायात कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयमा भएको भीड र भ्रष्टाचार अन्त्य गराउन सक्छ ? उनको काम गर्न सक्ने क्षमता त जनताले देखि नै सके । पछिल्लो पटक प्रधानमन्त्री भएको महिना दिन बित्यो । तर, सिन्को भाँचेका होइनन् । हावा गफ लगाउनमै उनी व्यस्त छन् । अलिकति नैतिकता छ भने मुख्यसचिव लीलादेवी गड्तौलाले पदबाट राजीनामा दिए हुन्छ । जनतालाई सेवासुविधा दिन नसक्ने पदमा बसेका के फाइदा ? व्यर्थैमा राज्यको ढुकुटीलाई भार मात्र परिरहेको छ । देश र जनतालाई काम गर्ने मान्छे चाहिएको छ न त कुर्सी ओगटेर राज्यको ढुकुटी सकाउने । प्रधानमन्त्री र मन्त्रीको हकमा पनि त्यही हो । काम गर्न सकिन्छ पदमा बस्ने, नसके राजीनामा दिएर हिँड्ने । तर, हाम्रा नेतामा नैतिकता भन्ने चीज नै छैन् । जनता मरेपनि यिनीहरुले पद छोड्दैनन् । एमाले, काँग्रेस, माओवादीलगायतका दलले काम गर्न सक्दैनन् भन्ने पुष्टि भइसकेको छ ।

तैपनि जनताले यी दललाई भोट दिन्छन् । जनताको आँखा कहिले खुल्ने ? राजनीतिक दलले देश सकाइसके, तापनि यिनीहरुलाई नै चुनेर पठाइरहेका छौं । केपी शर्मा ओली पटकपटक प्रधानमन्त्री भए, देशले के पायो ? रमेश लेखक बारम्बार मन्त्री भए । कतै सुधार देखिएको छ । एउटै व्यक्ति पदमा दोहोरिरहन्छन् । यिनीहरुले देश बेचिसके । विदेशी ऋण झण्डै २७ खर्ब रुपैयाँ पुग्न लागिसकेको छ । तर, जनता चुइक्क आवाज निकाल्दैनन् । बरु, खाडीमा गएर रगत पसिना बगाउँछन् । नेताहरु कतिसम्म ‘फटाहा’ हुन्छन् ? यसको उदाहरण त काँग्रेस महामन्त्री गगन थापा हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट उठेका उनले आफू प्रधानमन्त्री हुने भन्दै भोट मागे । जनताले पनि होला भनेर भोट दिए । तर, के प्रधानमन्त्री बन्नु ? पार्टीभित्र कसैले गन्दा त गन्दैन् । दाजु–भाउजुअगाडि उनको मुख खुल्दैन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप काँग्रेस सभापति शेरबहादुर देउवापत्नी डा आरजु देउवामाथि लागेको छ । तिनै व्यक्ति अहिले देशको परराष्ट्रमन्त्री छिन् । तर, गगन बोल्दैनन् । ‘नपाएसम्म कराउने, पाएपछि हराउने’ भनेको यही हो । अहिले गगन कुन दुलोमा लुकेर बसेका छन् ? कुनै अत्तोपत्तो छैन् । न जनताको समस्या नै उठाउँछन् । सांसदहरु देश र जनताको पक्षमा बोल्न सक्दैन् ।

पार्टीको सभापतिको चाप्लुशी गर्छन् । मन्त्री खान पाइन्छ कि ? ठेक्कापट्टा मिलाएर कमिशन खान पाइन्छ कि ? भनेर हिँड्छन् । यस्ता पनि जनताको अभिभावक । यिनीहरु जनताको काम गर्न आएका होइनन् । व्यक्तिगत सम्पत्ति जोड्नका निम्ति आएका हुन् । नेता जनताको सेवक हुनुपर्थ्यो । तर, उनीहरु लोभी भए । नेताहरु भ्रष्टाचार गर्नतर्फ लागे । उनीहरुकै सिको कर्मचारीले सिके । अहिले हरेक सरकारी कार्यालय भ्रष्टाचारको दलदलमा फसेको छ । निःशुल्क भनिएको सरकारी कामका लागि पनि जनताले पैसा खुवाउनुपरेको छ । कतैपनि जनताले सेवासुविधा पाउन सकेका छैनन् । जनतालाई राजनीतिक दलले सँधै ‘मुर्गा’ बनाए । गाउँगाउँमा सिंहदरबार भने तर लुटको दरबार बन्यो । नगरपालिका, वडा बनाएको के काम ? नगरपालिका, वडामा केही कामै हुँदैन् । समस्या लिएर काठमाडौं नै आइपुग्नुपर्छ । तैपनि सहज रुपमा सिंहदरबार छिर्न दिँदैनन् । देश लुट्नेहरु मोजमा, जनता सँधै शोकमा भनेको यही होला ।
अनुसा थापा
भक्तपुर