काठमाडौं, साउन ३०
नेकपा एमालेका नेता केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री बनेका छन् । यसपटक प्रधानमन्त्री बनेपछि उनले मुख्यसचिवदेखि लिएर सचिवसम्म बोलाएर बैठक राखे । बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चलेको बैठक बल्लतल्ल बेलुका ५ सकियो । सो क्रममा उनले जनतालाई छिटोछरितो सेवा दिनु, राम्रो बोलीबचन गर्नु, जनताको हामी सेवक हौं भनेका थिए । जो प्रधानमन्त्री भएपनि आएर भन्ने यही नै हो । कर्मचारीहरु एउटा कानले सुन्छन्, अर्कोले उडाइदिन्छन् । नत्र त सरकारी कार्यालयमा सुधार देखिहालिन्थ्यो नि ! सरकारी कर्मचारी होस् या जनप्रतिनिधि, जनताले तिरेको करबाट तलबभत्ता खान्छन् ।
यद्यपि, जनताको काम गर्दैनन् । नेता आए भने काम गर्याझैं देखाउँछन्, अरु बेला त ‘कामचोर’ नै हुन् । हिजो भक्तपुरको सूर्यविनायक नगरपालिकामा दिँउसै रमिता देख्न पाइयो । नगरपालिकाको ढोकादेखि सडकसम्म जनप्रतिनिधि र कर्मचारी फुलको गुच्छा लिएर उभिएका थिए ।
यता, सबै वडाका वडाध्यक्ष र कर्मचारीलाई पनि बोलाइएको थियो । त्यहाँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आउने रहेछिन् । त्यसैले बिहानैदेखि नाटक चलिरहेको थियो । कामधाम छोडेर सबै सम्मान गर्नमा लागिपरेका थिए । उनीहरुको कारणले हिजो सूर्यविनायक नगरपालिकाभित्रका बसोबासीले दुःख पाए । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सम्मानमा लागिरहँदा वडाध्यक्ष र वडाका कर्मचारी त्यहाँ जानुपर्ने कुनै आवश्यकता थिएन् । उनीहरु त्यहाँ गए, वडाको काम प्रभावित भयो । सेवा लिन आएकोहरु यत्तिकै घर फर्किनुपर्यो । सेवाग्राहीलाई निकै सास्ती भयो । १० वटै वडाबाट स्थानीय राष्ट्रिय परिचयपत्र बनाउन आएका थिए । कर्मचारीहरु आज हुँदैन्, भोलि आउनुस् भन्दै सेवाग्राहीलाई फर्काइरहेका थिए । सेवाग्राही टाढाटाढाबाट सेवा लिन आएका थिए । कतिपय वृद्धावृद्ध पनि आएका थिए । तर, त्यसले न जनप्रतिनिधिलाई फरक पर्यो, न कर्मचारीलाई । हुन त उनीहरुलाई कामै गर्न नपरोस्जस्तै हुन्छ । काम गर्नुपर्यो भने ज्वरो आउँछ । काम नगर्ने बहाना खोजिरहेका कर्मचारीहरुलाई पूर्वराष्ट्रपति आउनु पनि फाइदाको कुरा भयो । जनताले त सँधै दुःख पाइ नै रहेका हुन् । एउटा उच्च पदस्थ आउनेबित्तिकै विद्यालयसमेत बन्द गरिने देशमा अरु के कुरा गर्नु ? जनतालाई सेवा दिन रोकेर उनीहरुले तिरेको करबाट फुलको माला र गुच्छा किन्नु, व्यानर टाँग्नु लाजमर्दो विषय हो ।
विडम्बना, देशका जनप्रतिनिधिहरुमा लाजशरम भन्ने चीज छैन् । जनप्रतिनिधि र कर्मचारीले हिजो काम गरेनन्, तर तलब त लिए । विद्यादेवी भूपू राष्ट्रपति हो । एउटा भूपू राष्ट्रपतिको स्वागतमा सयौं जनतालाई दुःख दिनुको कारण के ? यता, राष्ट्रपति भइसकेको व्यक्तिले आफ्नो कामले जनताले दुःख पाउलान् ? भनेर बुझ्नुपर्दैन् । डोलेश्वर दर्शन गर्न आएपछि त्यहीबाट आफ्नो गन्तव्यतर्फ लागेको भए हुन्थ्यो । सरकारी कार्यालयमा गएर रमिता देखाइरहनुपर्ने आवश्यकता थिएन् । उनी एक जनाको कारणले आज सयौं जना दोहोर्याएर सेवा लिनु आउनुपर्यो । नेता, जनप्रतिनिधि र कर्मचारीहरुले यो कुरा बुझिदिनुपर्छ । विद्यादेवीले जनताले तिरेको करबाट खाएकी छिन्, लाएकी छिन्, गाडी चढेकी छिन् । अनि त्यही जनतालाई दुःख दिन सुहाउँछ ? नेपालीमा एउटा उखान छ,‘जसको नुन खायो, उसैलाई दुःख दियो’ । यो विद्यादेवीदेखि लिएर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीसम्ममा लागु हुन्छ ।
जनताको भोटबाट पदमा पुग्ने, जनताले तिरेको करबाट तलबभत्ता खाने, गाडी चढ्ने अनि जनतालाई नै दुःख दिने । नेता, जनप्रतिनिधि र कर्मचारी यस्तो हुनुपर्छ, जो आफूले दुःख पाएर अरुलाई सुःख दिन्छन् । केही महिनाअगाडि पूर्वराजा ज्ञानेन्द्र दम्पत्ती राहदानी नवीकरण गर्न त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए । उनीहरु सर्वसाधारणसँगै लाइनमा बसे । उनले आफ्नो पालो कुरेर राहदानी नवीकरण गरे । पदबाट निस्किएपछि ऊपनि सामान्य नागरिकझैं छ । तर, यहाँ त मभन्दा ठूलो कोही छैन् झैं व्यवहार देखाइरहेका हुन्छन् । जसले उनीहरुलाई त्यो मकाममा पुर्याउँछ, उसलाई गन्दै गन्दैनन् ।
विद्यादेवी राष्ट्रपति हुँदा दुवै सदनबाट सांसदहरुले नागरिकता विधेयक पारित गरेर प्रमाणिकरणका लागि पठाए । लाखौं नेपाली नागरिकले नागरिकता पाएका थिएनन् । न उनीहरुले पढ्न पाएका थिए न बैंक खाता खोल्न । विदेश जान्छु भन्नेहरु अलपत्र परेका थिए । सिमकार्डसम्म निकाल्न पाएका थिएनन् । तर, बहुमतले पारित गरेको विधेयक विद्यादेवीले प्रमाणिकरण गरिनन्, टोकरीमा हालिदिइन् । एक पटक होइन्, दुई पटक त्यसो गरिन्, उनले । सांसद जनताको मतबाट चुनिएर आएका हुन्छन् । उनीहरु जनताको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । सदनबाट पारित भएर प्रमाणिकरणका लागि पुगेको विधेयक टोकरीमा फाल्नु भनेको जनताको मतको अपमान गर्नु हो । विद्यादेवी राजाझैं हिँड्थिन् । उनी कतै निस्किइन् भने राजाको झल्को आइहाल्थ्यो । उनी संसद आउँदा होस् या अन्य कुनै स्थान जाँदा, सबै गाडी ठप्प पारिन्थ्यो । सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य हुन्थे । राष्ट्रपतिबाट पदमुक्त भएपछि विद्यादेवीले राज्यबाट पाउनुपर्ने कुनै सेवासुविधा लिन्न भनेकी थिइन् ।
हुन त यहाँका नेताहरुको कथनी र करनी बिल्कुलै उल्टो छ । उनले पनि त्यसै गरिन् । चर्चा कमाउनका लागि भनिन्, अहिले लिइरहेकी छिन् । समय घर्किएपछि फर्किएर आउँदैन् । एक सेकेण्डको पनि निकै महत्व हुन्छ । सरकारी काम छिटोछरितो हुने हो भने जनता त खुशी भइ नै हाल्छन् । साथै, भटाभट राजश्व पनि उठ्छ । सरकारी कार्यालयको ढिलासुस्तीका कारण धेरै कर तिर्नै जाँदैनन् । प्रधानमन्त्रीले मुखले भट्टयाएर मात्र भएन्, काम कसरी भइरहेको छ ? यतातिर नजर घुमाउनुपर्यो । अहिले मुलुकमा आर्थिक मन्दी छ । सर्वसाधारणले कर तिर्न छोडेका छन् । यस्तोमा स्थानीय तहले कर तिर्न आएकालाई धपाइरहेका छन् । अनि देश विकास कसरी हुन्छ ? यस्ता जनप्रतिनिधि र कर्मचारीकै कारण मुलुक ध्वस्त हुने बाटोमा गएको छ । कर्मचारी त कोही उच्च पदस्थ आइदियोस् भनेर कुरेर बस्छन् । एकातिर काम गर्न नपर्ने, अर्कोतिर जनताले तिरेको करबाट खाजा पनि खान पाइने । फुलमाला, ब्यानरको नाममा कमिशन खान पाइयो ।
सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पृष्ठभूमि हेर्ने हो भने उनी जग्गा दलाली हुन् । वडाध्यक्षमा पनि जग्गा दलाल धेरै छन् । नगरपालिका अस्तव्यस्त छ । न सरसफाइ छ न फुटपाथ र तार व्यवस्थापन । नगरपालिकाभित्रका अधिकांश सरकारी जग्गा हिनामिना भइसकेको छ ।
जनप्रतिनिधिकै मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा गएको बताइन्छ । वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीले सुशील भैरवथानको जग्गा मिचेर घर बनाएका छन् । बाटो हिँड्नेले नै मन्दिरको जग्गा मिचिएको प्रष्टै देखिन्छ । वडाध्यक्षले मन्दिरको जग्गा मिचेको देखेर अन्यले पनि सरकारी जग्गा कब्जा गरेका छन् ।
तर, उनीहरुलाई कसले हटाउने ? आफू स्वयमंले मिचेको भएर वडाध्यक्ष केही भन्दैनन् । नगरपालिका र वडामा सबै आफ्नो कार्यकर्ता भर्ती गरिएको छ । नगरप्रहरीदेखि पियनसम्ममा आफ्नो कार्यकर्ता राखेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई जनता प्रश्न गर्छन्,‘कर्मचारी जनताको काम गर्न बसेको कि भूपू राष्ट्रपतिको स्वागत् गर्न ?’
कर्मचारीका कारण जनताले दुःख पाएका छन्, तिनलाई कारबाही गरिनुपर्छ । नत्र सरकारी कार्यालयमा कहिले सुधार आउँदैन् । जनताले दुःख पाइरहन्छन् । जनताको समय पनि समय नै हो । राष्ट्रपतिभन्दा ठूलो जनता हो । यो कुरा जनप्रतिनिधि र कर्मचारीलाई बुझाउन आवश्यक भएको छ ।
अनुसा थापा
भक्तपुर