ललितपुर, साउन २९
बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलता पूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ ।
बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको शुरुवातले नेपालमा चिकित्सा अभ्यासको अग्रभागमा अत्याधुनिक प्रविधि ल्याएको छ । यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउने, रिकभरी समय कम गर्छ र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुने अस्पतालले जनाएको छ । उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवाप्रदान गर्ने नयाँ मापदण्ड स्थापित गरेको छ ।
बी एण्ड बी अस्पतालका प्राडा जगदीशलाल बैद्यले भने,“नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौँ । यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवाप्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो। रोबोटिक शल्यक्रियाले न केवल शल्यक्रिया प्रक्रियाको गुणस्तर बढाउनेछ, यसले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्नेछ।”