काठमाडौं, साउन २८
राजधानीको कंलकी, बल्खु, गोंगबु, कोटेश्वर, गौशाला, एअरपोर्टमा हरेक जिल्लाका सर्वसाधारण आउँछन् । कोही काम विशेषले आएका हुन्छन् त कोही आफन्त भेटघाट गर्न । यता, मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीहरु पनि आउँछन् ।
दलालहरुलाई कोही काठमाडौं आएको देख्नै हुन्न । हात समाउन र झोला तान्न थालिहाल्छन् । राम्रो होटल देखाइदिन्छु भन्दै उनीहरुले दुःख दिने गरेका छन् । आफूलाई ग्राहक लगिदिएबापत कमिशन आउने भएकाले त्यसो गरिएको हो । भन्न त यति सेवासुविधा छन् भन्छन् । तर, व्यवहारमा ठ्याक्कै उल्टो हुन्छ । न खाना राम्रो हुन्छ न रुम । बसेको र खाएको मँहगो पैसा लिन्छन्, यद्यपि सेवासुविधा शून्य । होटलमा पुगेर कोठा बुक गरेपछि त पैसा तिर्नैपर्यो । सीधासाधी सर्वसाधारण यसरी ठगिँदै आएका छन् । यता, ट्याक्सी चालकहरु पनि त्यस्तै ।
पहिलेचाँहि बस्नु भनेर करकाप गर्छन् । सित्तैमा लगिदिन्छुजस्तो व्यवहार देखाउँछन् । सामान हाल्छन् अनि मान्छे चढाउँछन् । अलिकति गुडेपछि पाँच सयको बाटोमा दुई हजार माग्छन् । अधिकांशको भाडालाई लिएर विवाद हुन गरेको छ । एअरपोर्टमा यो धन्दा लामो समयदेखि चलिरहेको छ । त्यहाँ हरियो प्लेटको ट्याक्सी सञ्चालनमा छ । धेरैलाई कहाँ राम्रो होटल छ ? थाहा हुँदैन् । उनीहरुले चालकलाई आफ्नो समस्या भन्छन्, चालक मौकाको फाइदा उठाउँछन् । जुन होटलमा आफूलाई कमिशन आउँछ, त्यही होटलमा लगेर राखिदिन्छन् । यति मात्र नभई बाटो हिँडिरहेकालाई समेत दुःख दिने गरिन्छ । झोला देख्यो कि तान्न आइहाल्छन् । यतिमा टिकट मिलाइदिन्छु भन्दै काउण्टरमा पुर्याउँछन् । काउण्टरवालाबाट कमिशन लिन्छन् । त्यो पैसाचाँहि उनीहरुले यात्रुबाट असुल्छन् । जहिले पनि सर्वसाधारण नै मर्कामा पर्छन् । सहयोग गरेकोजस्तो देखाएर ठग्ने । यस्तो धन्दा पछिल्लो समय व्यापक मौलाएको छ । पछिल्लो समय दलालीहरुको बिगबिगी छ । जो पनि दलाल गर्छन् । वैदेशिक रोजगारीमा पठाउन पनि दलाली । म्यानपावरमा आफ्नो मान्छे छ भनेर लग्छन् । उनीहरुलाई सहयोग गर्याझैं गर्छन् । तर, उद्देश्य अर्कै हुन्छ । त्यहाँबाट उनीहरु कमिशन लिन्छन्, मारमा सर्वसाधारण पर्छन् ।
म्यानपावरले दलाललाई दिएको पैसा पनि सर्वसाधारण्बाट उठाउँछ । बेरोजगारी व्यापक बढेको छ । जागिरको लोभ देखाएर ठग्ने छ्याप्छ्याप्ती छन् । मेरो यहाँसम्म पहुँच छ भन्ने अनि ठग्ने । सरुवा बढुवा मिलाइदिन्छु भनेर सरकारी कर्मचारीलाई त ठग्छन्, अरुको के कुरा गर्नु ? बैंक तथा वित्तिय संस्थाबाट कर्जा मिलाइदिन्छु भन्दै लुट्ने गरिएको छ । घरको लालपूर्जा, नागरिकता लिने, पैसा असुल्ने अनि झुल्याएर राख्ने । लेखनदास, कानुन व्यवसायीहरु जेलमा परेका, प्रहरी हिरासतमा रहेकालाई छुट्याइदिने प्रलोभन देखाएर लेनदेन गर्छन् । अहिले पाइलैपिच्छे दलाली भेटिन्छन् । सुकिलामुकिला बनेका दलालीहरुले विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ‘मुर्गा’ बनाइरहेका छन् । अधिकांश सरकारी सेवा निःशुल्क बनाइएको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता बनाउन पैसा लाग्दैन् । तैपनि सर्वसाधारण ठगिने क्रम रोकिएको छैन् । दलालीमार्फत गयो भने एकछिनमै काम हुन्छ । सीधा रुपमा काम लिएर गयो भने एक साता लगाइदिन्छन् । यो मिलेन्, त्यो मिलेन् भनेर कर्मचारीले दुःख दिइरहन्छन् । अनि सर्वसाधारणलाई दलालीको चंगुलमा फस्नुबाहेको विकल्प छैन् । दिनहुँ सरकारी कार्यालय जाने फुर्सद हुँदैन् । त्यसैले त धेरैले निःशुल्क नहुने सेवाका लागि शुल्क तिर्छन् ।
मालपोत र यातायात कार्यालयमा पनि त्यस्तै अवस्था छ । दलालीहरुलाई पैसा र कागजात दिएर पठाउनुपर्छ, तुरुन्तै काम गरेर ल्याइदिन्छन् । सर्वसाधारण गए भने बहाना बनाएर फर्काइदिन्छन् । यता, लाइसेन्स खरिदबिक्री हुने क्रम जारी छ । ड्राइभिङ सेन्टरहरु बिचौलिया बनेका छन् । २० हजारदेखि डेढ लाखसम्म पैसा लिएर उनीहरुले लाइसेन्स बेचिरहेका छन् । पैसा र नागरिकताको प्रतिलिपि दियो भने घरमै लाइसेन्स आइपुग्छ । मुलुकमा दलाली निकै शक्तिशाली छन् । उनीहरु सरकारलाई घुँडा टेकाउने आँट राख्छन् । कुनै संस्थाले एक सय रुपैयाँ प्रतिकित्ता निकालेको सेयर ३२ सय पुर्याउने उनीहरु हुन् । पाँच हजार आना नपर्ने जग्गाको मूल्य लाखौंमा पुर्याउने श्रेय पनि उनीहरुलाई नै जान्छ । भारतमा एक लाख नपर्ने गाडी यहाँ ल्याएर लाखौंमा बेचिन्छ । अहिले सिँधै कोठा पाइँदैन् । दलालीमार्फत जानुपर्छ । कोठा, सटर, फ्ल्याट दलालीको कब्जामा छ । व्यक्ति कोठा खोज्न गए भने घरधनी दिनै मान्दैनन् । पछिल्लो समय कोठा, सटर र फ्ल्याटको दलाल गर्न अफिस नै खुलेका छन् । पहिले फर्म भर्ने नाममा पाँच सय ठग्छन् । त्यसपछि कोठा खोजेपछि पनि यति र उति कमिशन भन्छन् । एउटा अध्याँरो, चिसो कोठाको १० हजारसम्म पुर्याएका छन् । फ्ल्याट र सटर पनि त्यस्तै । सटर त लाखौंमा खरिदबिक्री हुन्छ ।
बिचौलियाहरु किसानसँग पाँच–१० रुपैयाँ किलोमा तरकारी किन्छन् । यहाँ ल्याएर किलोको सय–डेढ सय रुपैयाँमा बेच्छन् । प्रतिलिटर दूधमा किसानले कति नै चाँहि पाउँछन् र । ३० रुपैयाँ, ४० रुपैयाँ । तर, यहाँ एक लिटर दूधको डेढ सय रुपैयाँ पर्छ । जिँउदो खसी किसानले पाँच सय रुपैयाँ किलोमा बेच्छन् । दलालीले यहाँ ल्याएर एक किलो मासुको १५ सय रुपैयाँ लिइरहेका छन् । उता किसान ठग्ने, यता उपभोक्ता । बीचमा बसेर बिचौलियाले भरमार कमाइरहेका छन् । सहकारीले जति बचतकर्ता बढाउन सक्यो, त्यति नै कर्मचारीलाई कमिशन दिन्थ्यो । विचरा, बचतकर्तालाई त कमिशनको चलखेल भइरहेको छ भन्ने के थाहा ? कर्मचारीले जे भने, उनीहरुले त्यसमाथि विश्वास गरे । र, पैसा लगेर राखे । सहकारीका बचतकर्ताले विश्वासको ठूलै मूल्य चुकाउनुपरेको छ । सहकारीहरु एकपछि अर्को गर्दै डुबिसकेको छ । करोडौं बचतकर्ताको बिचल्ली भएको छ । घरपरिवारमा विखण्डन आएको छ । अहिले बैंकले त्यसै गरिरहेको छ । आफ्नो बैंक यति राम्रो भन्दै मान्छे खटाएर प्रचारप्रसार गराउन थालेको छ । त्यसैले सर्वसाधारण होसियार हुन जरुरी छ । पार्टी प्यालेसको हकमा पनि त्यही छ । यो पार्टी प्यालेस राम्रो छ, यसमा कार्यक्रम गरौं भन्छन् । बिचराले पत्याउँछन् ।
आफूलाई सहयोग गरेको भ्रममा बस्छ । तर, त्यहाँ कमिशनको चलखेल भएको छ । ठेकेदारहरु घरधनीलाई हार्डवेयर कम्पनीको प्रचारप्रसार गर्छन् । त्यहाँ लिएर जान्छन् । आफू कमिशन लिन्छन् । हरेक क्षेत्रमा बिचौलिया छन्, कमिशनको चलखेल भइरहेको छ । जता हेर्यो कमिशन । राज्यबाट कुनै ठेक्का लिनुपर्यो भने त कमिशन खुवाउनुपर्छ, अरु के कुरा गर्नु ? बुढापाकाले पहिलेपहिले भन्थे,‘नचिनेको मान्छेले दिएको खानुहुँदैन् र त्यस्ताको पछि पनि लाग्नुहुँदैन् । लगेर बेचिदिन्छन् ।’ त्यतिबेला पनि यस्ता घटना हुन्थे । बालबालिकालाई खान दिएर अपहरण गरिन्थ्यो । महिलालाई विवाहको नाटक गरेर भारतमा लगेर बेचिन्थ्यो । यो धेरैले सुनेका छन् भने कतिपयले त भोगेका पनि छन् । उपचार गर्ने नाममा डाक्टर रुपी माफियाहरुले मिर्गौला झिकेर बेचेको घटना नभएका होइनन् । त्यसैले सर्वसाधारण धेरै सचेत हुन जरुरी छ । पाइलापाइलामा बिचौलिया छन् । शिक्षा र स्वास्थ्य त सेवा हो । विडम्बना, यहाँ पनि कमिशनकै खेल चलिरहेको छ । हुन त कलियुग भनेकै यही होला । आफन्तले आफन्तलाई नै ठग्ने र लुट्ने काम भइरहेको छ । तलदेखि माथिसम्म ‘सेटिङ्ग’ चल्न थाल्यो । राजनीतिमा पनि दलाली, व्यापारमा पनि दलाली । हुन त देश नै दलालीहरुले चलाएका छन् । फरक यति हो कि कसैले देशको दलाल गरेका छन्, कसैले सेवाको ।
अनुसा थापा
भक्तपुर