काठमाडौं, साउन २४
यो वर्षको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ गते आयोजक गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनीबारे थानकोटमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न,हेर्न पाइनुका साथै यसले सस्कृति जगर्नेमा समेत ठूलो टेवा पुर्याएको धारणा राखे । उनले युवा पुस्तामा पनि आफ्नो संस्कृति,परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताए ।
यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ राखिएको छ ।
आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले बताएको छ ।