काठमाडाैं, साउन १५
काठमाडाैंस्थित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको झण्डै १६ करोड रकम अपचलनको आरोप लागेका राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका कृष्णबहादुर (केबी) उप्रेती विरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले सहकारी ठगी मुद्दामा अध्यक्ष उप्रेतीसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको हो। यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो।
अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका तत्कालीन उपाध्यक्ष शिवप्रसाद कट्टेल, तत्कालीन कोषाध्यक्ष मुकुन्द्रप्रसाद पाण्डे, सदस्य बद्री महत, सञ्चालकहरू अरुण भण्डारी र विष्णुबहादुर रिमाल, लेखा समिति संयोजक राजु पौडेल तथा सोही संस्थाका कर्मचारी विश्वम्भर रिमाल विरुद्ध अभियोगपत्र दायर भएको हो।
काठमाडौंमा केन्द्रीय कार्यालय भएर सञ्चालनमा रहेका पाँच सहकारी संस्था मर्जर भई आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो। उप्रेती अध्यक्ष रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी सहित आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारी मर्जर भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको हो।