काठमाडौं, साउन २
वर्षा सुरु हुनुभन्दा अगाडि नै हनुमन्ते खोला सफा गरेर खोला वरिपरिका बस्तीमा डुबान हुनबाट जोगाएको सूर्यविनायक नगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र केसीले दाबी गरेका छन् । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडाध्यक्ष केसीले खोला वरिपरिको बस्तीमा डुवान नभएको बताएका हुन् ।
‘खोलामा २ देखि ३ मिटरसम्म माटो जमेर बसेको थियो । नगरपालिकाको सहयोगमा वडाले डोजर लगाएर खोलाभित्र जमेको माटो र लेदो खोलाको दायाँबायाँ राखेका छौं ।’ उनले भने । वडाको सोही कदमका कारण वर्षनी बस्तीमा पस्नेगरेको बाढी यसपटक भने नपसेको वडाध्यक्ष केसीले बताए ।
सूर्यविनायकको वडा ३ ले भौतिक पूर्वाधार निर्माणका कार्यमा रफ्तार लिएको छ । वडामा निर्माणाधिन अवस्थामा रहेको ढलको निर्माण तथा व्यवस्थापनका ९५–९८ प्रतिशत कार्य सम्पन्न भइसकेको केसीले जानकारी दिए । त्यस्तै, बाटो निर्माणका कार्य पनि ९५ प्रतिशत सकिइसकेको उनले बताए । अबको केही वर्षमा नै सूर्यविनायक–२ का सबै सडकलाई पिच र ढलान गरेर धुलो र हिलोरहित बनाउने लक्ष्य लिइएको वडाध्यक्ष केसीले बताए ।