काठमाडौं, जेठ ३०
नेकपा एमालेका कार्यकर्तामा विगतदेखि नै एउटा भ्रम छ । त्यो हो पार्टी अध्यक्ष केपी शर्मा ओली राजनीति परिवर्तनका क्रममा १४ वर्ष जेल बसेको छ । यो कुरा एमालेका कार्यकर्ताहरुले सडकदेखि सदनसम्म राखे । यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त १० वर्ष जनयुद्धको कमाण्डर । उनलाई उनका कार्यकर्ताले जननेताको ‘ट्याग’ दिएका छन् । तर, मेडिकल माफियाले एमालेका कार्यकर्ताको आँखा खोलिदिए । उनले सार्वजनिक कार्यक्रममा ओली राजनीतिक परिवर्तनका क्रममा नभई आफ्नो हजुरबुवा मारेर १४ वर्ष जेल बसेको बताएका छन् । माओवादीका अध्यक्ष प्रचण्ड आफूलाई सर्वहारा वर्गको नेता भन्छन् ।
उनी देशको वर्तमान प्रधानमन्त्री हुन् । हिजो जे मुद्दा बोकेर माओवादीले हतियार उठाएको थियो, त्यो बिर्सियो । माओवादी पनि शौखमै रमायो । अहिले प्रचण्डले ७८ लाखको घडी हातमा बाँधेको विषय निकै नै चर्चामा छ । प्रचण्डसहित उनको सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरियो । तर, उनले सो घडीबारे उल्लेख गरेनन् । त्यत्रो घडी बाँधेको सार्वजनिक भएपछि आम सर्वसाधारणको मनमा ज्वाला बलेको छ । प्रचण्डले जनताका लागि नभई आफ्नो लागि जनयुद्ध गरेको भन्दै सर्वसाधारणले असन्तुष्टि पोखिरहेका छन् । प्रचण्डले जति आफ्नो सम्पत्ति देखाए, त्योभन्दा बढी होला ।
यद्यपि, उनले सबै देखाएनन् । उनको भाटभटेनीमा लगानी भएको चर्चा यतिबेला बजारमा व्यापक चलेको छ । त्यस्तै, अन्य ठूल्ठूला व्यवसायीले पनि उनको पैसा चलाएको सर्वसाधारणको भनाइ छ । विदेशी बैंकमा पनि उनले लगेर पैसा राखेको गाइगुइ छ । पछिल्लो समय नेताहरु व्यक्तिगत स्वार्थमा रमाएका छन् । आफ्नो सात पुस्तालाई पुग्नेगरी नेताहरुले सम्पत्ति जोडेका छन् । अहिले गिरीबन्धु टी स्टेटको जग्गा निकै चर्चामा छ । त्यहाँको जग्गा व्यक्तिको नाममा लैजाने ओली सरकार हो । २०७८ वैशाख ७ र वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले सो जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गरेको खुलेको छ । यता, प्रचण्डले पनि एउटा सार्वजनिक कार्यक्रममा जनयुद्धमा मरेका १७ हजारमध्ये पाँच हजार आफूले जिम्मा लिने बताएका छन् । नेताहरुको न काम गराई ठीक छ न बोलाइ । जसले गर्दा कार्यकर्तालाई नै आफ्नो नेतापट्ट वितृष्ण जाग्दै गएको छ । जुनसुकै अपराध गरेपनि राजनीतिको नाम दिएका छन् ।
जसले गर्दा माओवादी र एमालेका कार्यकर्ताले पार्टी अध्यक्षको नामै लिन छोडेका छन् । ओली र प्रचण्ड कस्तो ? यो घामजस्तै छर्लङ्ग भएको छ । उनीहरुको कार्यकर्तासँग जनताको पनि आँखा खुल्यो । विपक्षी दलहरुको यसको आवाज सदनमा उठाउन सक्दैन् । ‘दुधको दुध, पानीको पानी’ हुनुपर्यो । अहिले सर्वसाधारणमा अन्यौलता छ । के कारणले ओली जेल गए ? प्रचण्डको लाखौं पर्ने घडी कहाँबाट आयो ? यो त जनतामाझ ल्याउनुपर्यो । वास्तविकता जनतामा खुल्नुपर्छ । विपक्षीका सदनमा जाने निदाउने, सरकारी गाडी चढ्ने, तलबभत्ता लिने र लोगो भिर्ने काम मात्र गरिरहेका छन् ।
के विषय उठाउने भन्ने नै थाहा छैन् । एउटा चर्चित उखान छ,‘भुक्ने कुकुरले टोक्दैन्, नभुक्नेले टोक्छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टीको हालत त्यस्तै छ । पार्टी सभापति रवि लामिछाने मुलुककै प्रमुख र महत्वपूर्ण मन्त्रालयमा छन् । उनले आएदेखि फाइल खोल्ने भनिरहेका छन् । तर, अहिले सम्म पनि खोलेका छैनन् ।
यता, श्रममन्त्री डिपी अर्याल र शिक्षामन्त्री सुमना श्रेष्ठले भटाभट फाइल खोलिरहेका छन् । उनीहरु यो–त्यो फाइल खोल्न लागेको भनिरहँदैनन् । काम भएपछि देखाइदिन्छन् । लामिछानेले आएदेखि भटाभट फाइल खोलेको भए, अहिलेसम्म दर्जनौं जेल पुगिसक्थे । सरकारको धेरै सम्पत्ति सरकारकै नाममा आइसकेको हुन्थ्यो तर, उनलाई हावा गफ लगाउनबाहेक केही आउँदैन् । ओलीले सदनमा उभिएर आफ्नो सम्पत्ति सरकारको नाममा पास गरिदिएको बताएका छन् । उनले भनेका थिए,‘म र मेरो श्रीमती मरेपछि मेरो नाममा भएको चलअचल सम्पत्ति सरकारको हुन्छ । मैले सरकारको नाममा पास गरिदिसकेको छु ।’
जसले सरकारको सम्पत्तिमाथि त आँखा लगाउँछ, उसले आफ्नो सम्पत्ति छोड्छ ? गफ ल्याउने र जनताको आँखामा छारो हान्ने पनि हद हुन्छ नि । ओलीको तीन ठाउँमा घरजग्गा भएको सुनिन्छ । तेह्रथुम, झापा र भक्तपुरको बालकोट । अब यहाँमध्ये कहाँको घरजग्गा सरकारको नाममा पास गरिदिएको हो । यो खुलाइदिनुपर्यो । जनतालाई झुक्काउने काम मात्र भइरहेको छ । मुखले यो गरे, त्यो गरे भन्ने तर कामले केही छैन् । यता, ओलीमाथि पनि विदेशी बैंकमा थुप्रै पैसा लुकाएको आरोप छ । तर, विपक्षी यो कुरा खोताल्न असफल देखिएको छ । झुठ बोलेर कोही वाहवाही बटुल्ने होडमा छन्, यद्यपि, विपक्षीलाई चासो छैन् । अर्काको कुरा खोताल्दा आफ्नो कमीकमजोरी पनि बाहिर आउने होकि भन्ने डर विपक्षीमा छ । किन कि सत्तामा हुँदा सबैले भ्रष्टाचार गरेका छन् । कोही पनि दुधले नुहाएका छैनन् । यहाँ त घुस भन्नेबित्तिकै नेताहरुको तीन नेत्र खुल्छ । ‘मरिच केले चाउरी पर्छ, आफ्नै गन्धले’ भनेझैं अवस्था छ ।
हिजो जसको झोला बोक्यो, आज उसैले मुख देखाउने ठाउँ छोडेको छैन् । पहिले यो पार्टी, त्यो पार्टी भनेर फुर्ती लगाउनेहरुको मुखमा बुझो लागेको छ । नेता यत्तिकै हुइँदैन् । नेता हुनलाई धेरै क्षमता चाहिन्छ । नेताले बोलेका हरेक कुरामा जनताको ध्यानमा राखिरहेका छन् । उनीहरुले बोल्दा धेरै ध्यान पुर्याउनुपर्छ । नेताहरुले गरेको काम जनताले वर्षौसम्म बिर्सिदैनन् । काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्न खोजेको थियो । तर, एमालेका वडाध्यक्ष चिनीकाजी महर्जन र पूर्वमेयर विद्यासुन्दर शाक्यले काम गर्न दिएनन् । ओलीलाई कुरा लगाएर एमालेकै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमार्फत पुर्न लगाए ।
हाल त्यहाँ फुटपाथ विस्तारको काम रोकिएको छ । जसले गर्दा एमालेकै कार्यकर्ता रिसाएका छन् । त्यहाँ हिड्ने बालेनका समर्थक मात्र थिएनन्, एमालेका कार्यकर्ता पनि थिए । तर, सडकलाई पार्किङ्ग बनाएर खान पल्केकाहरुले त्यो देखेनन् । जसका कारण उनीहरुले विरोध गरे ।
त्यसपछि ओलीले भने,‘भैंसीलाई चार खुट्टाले लात हान्न पाउँदा झिँगाले घमण्ड गर्छ ।’ उनले आफूलाई भैंसी र बालेनलाई झिंगाको भनेका हुन् । को झिँगा, को भैसी अर्को चुनावमा स्पष्ट देखिनेछ । त्यसमा ओलीले घमण्ड गरिरहनुपर्ने नै छैन् । ओलीको कारणले अब आउने चुनावमा एमाले नङगिन्छ ।
प्रतिनिधि तथा प्रदेश सभादेखि स्थानीय तहको निर्वाचनमा एमालेले ठूलो भुक्तान गर्नेछ । जनताबाट शक्तिशाली कोही छैनन् । पार्टीले टिकट देला तर जनताले भोट नदिए के काम ? अध्यक्षको घमण्ड, अहंकारले गर्दा एमाले र माओवादी सकिँदैछ । पदमा पुगेका उनीहरु आफूले जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने सोच्छन् ।
जसले गर्दा पार्टीमा धेरै योगदान दिएकाहरु निराश भएका छन् । सत्तामा रहेको एमाले र माओवादीलाई काम गर्नतर्फ मतलब छैन् । दिन कटाउने र माना पचाउने काम मात्र गरिरहेका छन् । उनीहरुलाई सत्ता भए पुग्यो । जनता र देश जाओस् भाडमा । यस्ता नेताबाट जनताले अपेक्षा गर्न केही बाँकी छ ?
सभामुख एमालेकै छन् । त्यसैले अन्य दलले बोलेको सुन्दै सुन्दैनन् । उनी सदनमा आफ्नो मात्र सांसद छन्जस्तो गर्छन् । विपक्षी दलका सांसदले जोडतोडका साथ कुरा उठाउन सकेका छैनन् । जसका कारण ओली र प्रचण्ड पेलेर जान खोज्छन् । माधव नेपाल प्रधानमन्त्रीको खोजीमा छन् ।
प्रधानमन्त्री पाउँछु भनेर उनी यताउता दौडधुप गरिरहेका छन् । अब विपक्षी दलका सांसद तात्न जरुरी छ । देश र जनताको कुरा उठाऔं ।
अनुसा थापा
भक्तपुर