काठमाडौं, जेठ २७
नेपालमा शनिबार ओलम्पिक डे २०२४ को औपचारिक शुभारम्भ गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो ।
पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को झन्डोत्तोलन गरे ।
ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । तर, नेपालमा भने स्पोर्ट्स फर अल कमिसनले जुनको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गरेर ओलम्पिक डे मनाउने गर्छ ।
श्रेष्ठका अनुसार नेपालको सात वटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरू विभागीय टोली प्रि स्कुलहरूसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गरिनेछ । यस्तै, ओलम्पिक डे को दिन जुन २३ मा मुख्य कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।