काठमाडौं, जेठ १६
काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रही सिन्धुपाल्चोकको चौतारा सहित विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी करोडौं रकम अपचलन गरेको छ । अपचलन गरेको आरोपमा साविकको नगद, हालको यु एम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीका केन्द्रिय प्रबन्धक बनेपाका रुषन श्रेष्ठ, सञ्चालक समिति सदस्य बलेफीका राजन श्रेष्ठ र चौतारा शाखा प्रबन्धक रामकृष्ण कार्की रहेका छन् । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको हिरासतमा राखिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले बताए ।
निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई जिल्लाको चौतारा, खाडीचौर, काभ्रेको बनेपा, सिपाघाट लगायत विभिन्न स्थानमा शाखा स्थापना गरी निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएकोमा सो रकम फिर्ता नगरी शाखा नै बन्द गरी सञ्चालक फरार भएका थिए ।
उनीहरूमाथि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
हालसम्म ८८ जना बचतकर्ताकाे रकम अपचलन तथा हिनामिना गरि फरार रहेको भनी प्रहरीमा उजुरी परेको छ ।