काठमाडौं, वैशाख ३०
युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ ।
कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा वैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।
डेनमार्कका लागि नेपाली राजदूत प्रा. डा. रामस्वार्थ रायले वैशाख २९ गते शनिवार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो ।
प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए। ती चित्रहरु नेपालको समाज र सस्कृति झल्किने खालका थिए ।
यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालवालिकालाई शुक्रवार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिव पचास जना प्रशिक्षार्थी सहभागी थिए । श्राफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसँग मिथिला चित्र कोर्न सिकेका थिए ।
नेपालको प्रतिष्ठित राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित चित्रकार यादव ३३ दिवसीय यूरोप कला यात्राको क्रममा अहिले डेनमार्कमा छिन् । डेनमार्कपछि उनी स्वीडेनको भ्रमणमा जाने बताइएको छ । त्यसपछि उनको गन्तव्य फिनल्याण्ड हुने छ । त्यहाँ एनआरएनए फिनल्याण्डको आयोजनामा चित्रकार यादवको अर्को अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जेठ ६ गते सम्पन्न हुनेछ ।
यसअघि चित्रकार यादवको अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा वैशाख ८ गते आयोजना गरिएको थियो। नेपाली समाज जर्मनीको आमन्त्रण र आयोजनामा चित्रकार यादवका मिथिला चित्रहरुलाई एक दिवसीय प्रदर्शनीमा राखिएको थियो ।