काठमाडौं, बैशाख २१
पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत फरार भएकी छिन् । पक्राउ पुर्जी जारी हुनेवित्तिकै बस्नेत फरार भएको प्रहरीको भनाइ छ ।
पक्राउ पुर्जी जारी गरेको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले बस्नेतलाई पक्राउ गर्न सकेको छैन ।
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । भाग्न सक्ने आशङ्कामा पक्राउ पुर्जी जारी गरिएका अन्य १३ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
बस्नेतले छिपछिपे सहकारीबाट करिब एक करोड, चितवनको सनराइज सहकारीबाट साढे दुई करोड र बर्दियाको एक सहकारीसहित गरी साढे पाँच करोडभन्दा बढी ठगी गरेको पाइएको स्रोतले जनाएको छ ।