काठमाडौं, बैशाख १४
नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक अध्यक्ष रहेको माइलस्टोन सहकारी संस्था डुबेको छ । २०० भन्दा धेरै बचतकर्ताको करिब १० करोड रुपैयाँ हिनामिना भएपछि उक्त सहकारी बन्द भएको हो ।
न्यूनतम तरलतासमेत नराखी पौडेल सञ्चालित जनता टेलिभिजनमा पनि लगानी गरेको उक्त सहकारीले गत फागुन मसान्तबाटै सम्पूर्ण कारोबार बन्द गरेको छ ।
निक्षेपकर्ताहरू उक्त सहकारीको बालकुमारीस्थित कार्यालयमा धाइरहेका छन् । तर उक्त सहकारीका संस्थापक अध्यक्ष पौडेल र वर्तमान अध्यक्ष नवराज खड्कासमेत बचतकर्तासँग सम्पर्कविहीन छन् ।
सञ्चालकहरूसमेत सम्पर्कमा आउन छाडेपछि उक्त सहकारीमा कार्यरत तीनजना कर्मचारी बिलखबन्दमा परेका छन् । निक्षेपकर्ताहरूले घेर्न थालेपछि उक्त सहकारीका लेखापाल सुदीप पौडेलसहित तीनजना कर्मचारीले बिहीबार राजीनामा बुझाएका छन् ।
यसअघि उक्त सहकारीका १० जनासम्म कर्मचारी थिए । तर कानूनविपरीत टेलिभिजनदेखि घर खरिदसम्ममा लगानी गरिएपछि अहिले आएर डुब्न पुगेको हो । सहकारी डुबेकोबारे प्रतिक्रिया लिन पटकपटक सम्पर्क गर्दा पनि संस्थापक अध्यक्ष पौडेलले फोन उठाएनन् । सहकारी डुबाएका उनै पौडेलले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई बजेट निर्माणबारे सल्लाह दिँदै थिए ।
स्रोतका अनुसार उक्त सहकारीबाट २ करोड रुपैयाँ बचत निकालेर संस्थापक अध्यक्ष पौडेलले जनता टेलिभिजनमा लगानी गरेका थिए ।
समाजवादी उपमहासचिव पौडेलले माइलस्टोनका नाममा कलेज पनि सञ्चालन गर्दै आएका छन् । त्यसैगरी माइलस्टोन पब्लिकेशन्स पनि सञ्चालनमा छ ।