neapl investment mega bank
  • गृहपृष्ठ
  • फोनिजद्वारा आन्दोलनका कार्यक्रम घोषणा

फोनिजद्वारा आन्दोलनका कार्यक्रम घोषणा

Feb 23rd, 2024

काठमाडौं, फागुन ११

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् ।

यस विषयमा महासङ्घलाई विभिन्न चरणमा अनुरोध र आह्वान गरिएको छ । तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन । सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ । तसर्थ सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष तत्काल कायम गर्न माग गर्दै निम्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरु :

१. मिति २०८० फागुन १४ गते सोमबार बिहान ७ बजे फोनिजका सबै समितिका नेतृत्वसँग आन्दोलन बारे भर्चुअल सम्वाद गर्ने ।

२. मिति २०८० फागुन १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासङ्घका सबै समितिलाई फोनिजका सबै समितिमार्फत ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर’ भन्ने मागसहित स्मरणपत्र बुझाउने ।

३. मिति २०८० फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य संघसंस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।

४. मिति २०८० फागुन १७ गते सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरुले नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।

५. मिति २०८० फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरुले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष  कायम गर भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुकलगायत सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने ।

६. स्मरणपत्र बुझाइएको मितिले ७ दिनभित्र माग पूरा नभएमा मिति २०८० फागुन २१ गते नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।