काठमाडौं, माघ ४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयसहितका निकायलाई उक्त निर्देशन दिएका हुन् ।
सहकारी समस्या समाधानको दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढंगले आवश्यक गृहकार्य गर्न भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय र अन्य सरोकारवाला निकायलाई निर्देशन दिए ।
उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्दै यसमा तिन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए ।
सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्वन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थित थिए ।