ललितपुर, पुस २७
ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथलीले आफ्ना वडाका ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ तथा उपप्रमुख लक्ष्मी महर्जन र वडा ५ का वडाध्यक्ष कपिल केसीले पुषको बढ्दो जाडोलाई मध्यनजर गरी नागरिलाई ब्लाङ्केट प्रदान गरेका हुन् ।
उक्त अवसरमा प्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकको सम्मान रुपैयाँपैसा भन्दा पनि ठूलो भएको चर्चा गर्दै हरेक घरमा सो उमेरका नागरिकको सम्मान सदैव हुनुपर्ने भनाइ राखे ।
यसैगरी, उपप्रमुखले नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत १५ प्रतिशत बजेट विनियोजन गरी सो उमेरका आमाबुबाका लागि दिवा सेवा केन्द्र स्थापनाका लागि भवन बनाउन जग्गा खोज्ने कार्य जारी रहेको मत व्यक्त गरिन् ।
वडाध्यक्ष केसीले ज्येष्ठ नागरिकका लागि नगरपालिकामा पार्टीपौवा तथा उद्यान एवं शौचालय हुँदै सम्मान गर्ने स्थान र उहाँहरुको हकहितको लागि समितिहरु नभएकाले निर्माण हुनुपर्ने माग अघि सारेका छन् ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधी, समाजसेवी, टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न पार्टीसम्वद्ध व्यक्तित्व, बृद्धबृद्धा तथा वडावासीहरुको उपस्थिती रहेको थियो ।