काठमाडौं, पुस २७
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले विदेशी मुद्राको सटही रोकिँदा नेपालको इन्टरनेट सेवा उद्योग जटिल मोडमा आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले सो बताएको हो ।
भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बद्ध व्यवसायी मारमा परेका महासंघले बताएको छ । नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवा प्रदायकले भुक्तानी गर्न नपाएको महासंघको गुनासो छ । यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने बताइएको छ ।
मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने समेत महासंघको भनाई छ ।‘सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ,’ क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने ।‘नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन,’ क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारी भने ।नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै रहेको बताउँदै क्यान महासंघले सरकारलाई लचिलो भएर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेको छ ।