काठमाडौँ २२ असोज
इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/ १० लाख राहत दिने निर्णय पनि गरिएको छ । बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ ।
यस्तै मन्त्रिपरिषद्ले इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ । यस्तै नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।
त्यस्तै इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहेमा सरकारले चार्टर विमानमा ल्याउने गरी प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरु नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो ।
इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।