काठमाडौं १७ असोज
सूर्यविनायक रत्नपार्क द्रुत बस सेवाले यात्रुहरुलाई प्रभावकारी र अपेक्षित सेवा दिन सकेको छैन । सरकारले असोज ३ गतेदेखि सञ्चालनमा ल्याएको बस व्यवस्थित हुन नसक्दा यात्रुले सुविधाको सट्टा सास्ती खेप्नुपरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक रुपमा सबै काम नसकी हतार हतारमा बस सेवा सञ्चालन गर्दा र सुर्यविनायक नगरपालिकाको त्यसमा समन्वय र सहयोग नगर्दा समस्या देखिएको हो ।
मन्त्रालयले पहिलो दिनबाटै २५ बटै बस त सञ्चालनमा आएको बताएको थियो तर त्यसो भएन । उता सडकैभरि रातो रङ पोतेर द्रुत बसलाई छुट्याइएको ट्रयाकमै पनि समस्या देखियो । रातो रंग पोतिएका लेनमा द्रुत सेवा दिने बस बाहेक अन्य सवारीसाधन चलाउन नदिएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो।
एकातिर यातायात व्यवसायीले बिहीबार बिहान ९ बजे नै सूर्यविनायकदेखि पाँचबटा बस एकैपटक रत्नपार्कतर्फ लगे भने अर्कोतिर कुन लेनमा कुन बस चलाउने भन्नेबारे चालकलाई थाहा नहुँदा सडकमा भद्रगोल अवस्था सिर्जना भयो ।
द्रुत सेवा बसका लागि मात्रै सडक विभागले सडकमा रातो चिह्न लगाएको थियो । बिहान दुई घण्टा र साँझ दुई घण्टा अन्य बस र निजी साधन यो लेनमा प्रवेश नगराउने भनिएको थियो तर सो नियम पालना भएन । त्यस्तै द्रुत बसले पनि यात्रुु द्रुुत बसको बोर्ड घरी राख्ने घरी हटाउने गरेको कारण यात्रुुले सो बसबारे जानकारी पाउन नसक्दा समस्या भएको यात्रुुहरुको गुनासो छ ।
कोटेश्वरदेखि सूर्यविनायकतर्फ सवारीमा यस्ता समस्या आएका हुन् । त्यस्तै मुख्य सडकको २५ प्रतिशत क्षेत्र द्रुत बसलाई छुट्याउँदा जाम समेत बढेको छ । यता सडक विभागले भने योजनाअनुसार नै काम सकेको दाबी गरेको छ । सडकमा सवारी साधन व्यवस्थापनको जिम्मेवारी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको रहेको जनाएको छ ।
द्रुत बसका लागि लेन खाली गराउने प्रयासमा अन्य सवारीसाधन लामो जाममा फसेका छन्। अरु बेला कार्यालय समयमा कोटेश्वरको जाम लोकन्थलीसम्म पुग्ने गरेकोमा अहिले कौशलटार, गठ्ठाघरसम्म पुग्न थालेको छ।