neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने विश्व बैंककाे प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने विश्व बैंककाे प्रक्षेपण

Oct 3rd, 2023

काठमाडौँ १६ असाेज

नेपालको आर्थिक वृद्धिदर सुधार हुने  विश्व बैंककाे प्रक्षेपण छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले सन् २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर तीन दशमलव नौ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनःस्थापना’ प्रतिवेदनले सन् २०२५ सम्ममा नेपालको अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । साथै प्रतिवेदनले अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फीतिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्तीलगायतका जोखिमहरू पनि विद्यमान रहेकोतर्फ ध्यानाकर्षण गराएको छ ।

नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अभिमूल्यन लगायत कारक रहेको प्रतिवेदनमा उल्लेख छ । साथै, समकालीन देशहरू र मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।