neapl investment mega bank
  • गृहपृष्ठ
  • द्रुत वस सेवा सञ्चालनबाट सन्तुष्ट छैनन् यात्रु, पूर्व तयारीमा कमजोरी

द्रुत वस सेवा सञ्चालनबाट सन्तुष्ट छैनन् यात्रु, पूर्व तयारीमा कमजोरी

Sep 25th, 2023

काठमाडौ ८ असोज

काठमाडौं उपत्यकामा पहिलो पटक सञ्चालनमा आएको द्रुत बस सेवाले यात्रुको मन जित्न सकेको छैन ।
संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाका पूर्व तयारी प्रभावकारी नहुँदा अपेक्षित नतिजा नदेखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेको १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि मार्किङको काम सम्पन्न भएपनि अन्य तयारी प्रभावकारी नहुँदा द्रुत गतिमा बसहरु गुड्न सकेका छैनन् ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने योजना बनाएका छन् । उनले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरि निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासंग छलफल गर्ने बताए । त्यस्तै मन्त्री ज्वालाले दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई सुव्यवस्थीत गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने उनको दावी छ ।

द्रुत बस सञ्ञ्चालनमा ल्याएकै दिन सडक विभागले साना गाडीको संख्या बढ्दा सडक व्यवस्थापनमा चुनौति देखिने बताएको थियो । हाल कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गरिएको छ। सो समयमा रेड मार्किङ गरेको सडकमा द्रुत बस बाहेक अन्य सवारी साधन गुड्न नपाउने यातायात कार्यालयले जनाएको छ । तर सो समयमा अन्य बसहरु पनि गुड्ने हुन्दा समस्या जस्ताको तस्तै रहेको यात्रुहरु वताउँछन् ।

द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो । समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । सो सुझाव अनुरुप बस सञ्चालनमा ल्याएपनि यात्रुहरु यो सेवा दीर्घकालीन हुने वा होइन भन्नेमा चिन्तित छन् ।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेनको व्यवस्था हुने बताइएको थिया द्रुत बस सेवाको सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड परमिटको ब्यवस्था मिलाउन यातायात ब्यवस्था विभागलाई निर्देशन दिएका थिए । तर सो अनुरुप कार्य प्रभावकारी रुपले अघि नबढ्दा समस्या देखिएको वताइएको छ ।

यातायात व्यवस्था विभाग, नेपाल ट्राफिक प्रहरी, नेपाल यातायात व्यवसायी महासंघ, सडक विभागको सहकार्यमा सूूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन भएकोले सूूर्यविनायक नगरपालिका यस सेवाप्रति उत्तरदायी देखिएको छैन। नगरपालिकाको अग्रसरतामा सो काम नभएकोले त्यसको प्रतिफलमा पनि नगपालिका जिम्मेवार नभएको एक कर्मचारीले बताए ।