काठमाडौं, भदौ १४
आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो ।

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

क्वाटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।
