ललितपुर, भदाै ७
ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ । नेवा: समुदायमा नेपाल संवतको १० औं महिना अर्थात् गुँला महिनालाई दानधर्मको महिनाको रुपमा लिइन्छ । विशेषत बौद्ध धर्मावलम्बीले अति महत्वका साथ मनाउने यस महिनाभरी विभिन्न बहाल, बहिल तथा बौद्ध चैत्यहरुको बाजागाजाका साथ परिक्रमा गर्ने गरिन्छ भने विभिन्न स्तुतिहरु पाठ गर्ने गरिन्छ ।
बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नून, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन् । विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो ।
नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।
