ललितपुर, भदौ ३
ललितपुर महानगरपालि २७ सुनकोठीमा रहेको भृङारेश्वर महादेव मन्दिरको पश्चिम तर्फको गणेश, शिव र कुमार राखिएको द्यःछेँ (सत्तल) निर्माण सम्पन्न भएको छ ।
नवनिर्मित उक्त सत्तलको उद्घाटन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले गरेको थियो । उद्घाटन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व सांसद राजकाजी महर्जनले आफू सांसद हुँदा सम्पदा संरक्षणका लागि थुप्रै काम गरेको स्मरण गरे । राजनीतिमा पदमा हुनु र नहुनु स्वभाविक भएको बताउँदै अहिले पनि विकास र संरक्षणको क्षेत्रमा उत्तिकै सक्रिय रहेको बताए ।
वडा नं २७ का वडा अध्यक्ष कृष्णहरि महर्जनले कला र संस्कृति महानगरको सम्पत्ति भएको बताउँदै वडा र महानगरले संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताए । उनले भृङारेश्वर महादेव मन्दिरको पुनर्निर्माणका लागि पनि महानगरका प्रमुखसँग छलफल भइरहेको बताए ।

यस्तै, वडा नं २६ का वडा अध्यक्ष सुरेश महर्जनले वडास्तरीय बजेट विनियोजन गरी सत्तल सहितको मन्दिर पुनर्निर्माण गर्न पाएको खुशी व्यक्त गरे ।
ललितपुर महानगर वडा २६ र २७ ले विनियोजन गरेको बजेटबाट पुनर्निर्माण गरिएको हो । वि.सं. २०७२ सालको भूकम्पका कारण उक्त सत्तल जीर्ण भएको थियो । बिहान उक्त भृङारेश्वर महादेव मन्दिरमा सवलाख बत्ती पनि बालेका छन् ।