neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको देवीचौरमा स्तनपान सप्ताह मनाइयो

ललितपुरको देवीचौरमा स्तनपान सप्ताह मनाइयो

Aug 6th, 2023

ललितपुर, साउन २१

विश्व स्तनपान सप्ताहको अवसरमा साउन २० गते ग्रामीणा सामुदायिक संस्था विकास (रिकोड)को आयोजना तथा गोदावरी नगरपालिका, वडा कार्यालय र नागरिक आवाजसँगको समन्वयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष अगष्ट १ देखि ७ तारेखसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

विश्वभर मनाइने स्तनपान सप्ताहले आमाको दूधको फाइदाबारे जनचेतना जगाउने र स्तनपानलाई प्रवर्धन गर्ने विश्वास गरिएको छ । सन् २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तपान र काममा केन्द्रित छ । यस वर्षको नाराले कार्यस्थलमा स्तपानलाई वढावा दिन प्रेरित गरेको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता’ भन्ने यसको मुख्य थिम रहेको छ ।

रिकोडकी समुदाय सहजकर्ता गीता तिमल्सिनाले स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रूपमा परिभाषित गरिएको जानकारी दिइन् । स्तनपानलाई र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु विक्री वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा प्रावधान रहेका उनले बताइन् । प्रसूति गृह वा अस्पतालहरूमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्थापित गर्न मातृ शिशुमैत्री कक्षको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता रहेको तिमल्सिनाको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, ५० करोडभन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानुनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गरेको विभिन्न अध्ययन हरुले देखाएको छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । स्तनपानको महत्व प्रवद्र्धन गर्न मनाइने यो वार्षिक अभियान हो । आमा र बच्चाबीचको निकटता बढाउने अवसरको रुपमा यो दिवसलाई लिने गरिएको छ । देवीचौरको स्वास्थ्य चौकीमा आयोजित अन्तरक्रियामा वडाध्यक्ष मथुराप्रसाद शर्माले स्तनपानका बारेमा बेलैदेखि जानकारी लिनुदिनु आवश्यक रहेको बताए । स्वास्थ्य चौकीका प्रमुख हस्तबहादुर कठायतले बालबालिकाको स्वास्थ्य राम्रो हुनका लागि स्तनपानको महत्व निकै रहेको बताए ।

कार्यक्रमका १ सय जनाको सहभागितालाई स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी सुशीला तिमल्सिनाले अभिमुखीकरण गरेकी थिइन् ।